१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बालुवा बेचेर जीविका

बिप्लब महर्जन

सल्यान — छत्रेश्वरी गाउँपालिकाको लान्तीकी ५५ वर्षीया परी नेपाली दैनिकजसो शारदा खोलाबाट बालुवा निकालिरहेकी हुन्छिन् । उनको काँधमा पाँच जनाको परिवार पाल्नुपर्ने बाध्यता छ ।

बालुवा बेचेर जीविका

पति शारीरिक रूपमा अशक्त भएका कारण पाँच वर्षदेखि उनले बालुवा निकालेर परिवारको खर्चको जोहो गर्दै आइरहेकी छन् । गोदे गाउँकी ३० वर्षीया चित्रा बिकको दैनिकी पनि खोलामा बालुवा निकालेर बित्छ । पतिले अर्को विवाह गरेपछि ६ वर्षदेखि बालुवा संकलन र बिक्री गरेको रकमले उनको घर खर्च चल्ने गरेको छ ।


यी दुईमात्र होइन, छत्रेश्वरी गाउँपालिकाको लान्ती र शारदा नगरपालिकाको शान्तिनगरका दुई दर्जन बढी दलित महिला शारदा खोलाको बालुवा निकालेर बिक्री गरी जीविकोपार्जन गर्न बाध्य छन् । भरपर्दो रोजगारी र घरको आर्थिक अवस्था कमजोर भएका उनीहरूलाई खोलाको बालुवाकै भर छ । बिहानदेखि बेलुकी अबेरसम्म उनीहरू बालुवा निकाल्न व्यस्त देखिने गरेका हुन् । लान्तीकी चित्रा बिकले बालुवा निकाल्नुको विकल्प नभएको बताइन् ।


‘पढाइ छैन, बजारमा मजदुरी पाउँदैन,’ उनले भनिन्, ‘परिवारको खर्च धान्नै मुस्किल छ ।’ बालुवा बिक्री गरेको पैसाले मात्र नपुग्दा ऋण काढेर गुजारा चलाउनुपर्ने बाध्यता रहेको उनले गुनासो गरिन् । उनका अनुसार दिनभरि संकलन गरेको बालुवाबाट चार/पाँच सय रुपैयाँ कमाउन मुस्किल हुन्छ । पाँच दिन संकलन गर्दा एक ट्याक्टर हुने र एक ट्याक्टर बालुवा दुई हजार पाँच सय रुपैयाँमा बिक्री हुने उनको भनाइ छ । खोलाबाट धेरै दु:ख गरी बालुवा निकाल्नुपर्ने र दु:ख अनुसार कमाइ नहुने उनको गुनासो छ ।


शान्तिनगरकी विमला बादीले बेरोजगारीको समस्याका कारण पनि खोलाको बालुवा निकालेर बिक्री गर्नुपरेको बताइन् । सुकुम्बासी आयोगले दिएको जग्गाको लालपुर्जा राखेर पसल गर्न खोजे पनि मालपोतले धितो राख्न नमिल्ने भन्दै फर्काइदिएपछि बालुवा संकलन गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । ‘धेरै कष्ट गरी खोलाको बालुवा निकालेर बिक्री गर्नु हाम्रो रहर होइन,’ उनले भनिन् ‘बाध्यता हो । बालुवा बिक्री गरे पनि दैनिक छाक टार्न गाह्रो भएको उनको भनाइ छ ।


खोलामा माछा नभएकाले पुख्र्यौली पेसा त्यागेर बालुवा संकलन गर्न थालेको लान्तीका भुवन बादीले बताए । बालुवा निकालेर सात जनाको परिवार पाल्न कठिन भएको उनी बताउँछन् । समयमै बालुवा बिक्री नहुँदा थप समस्या हुने गरेको उनको भनाइ छ । बालुवा निकालेर मात्र खान नपुग्दा स्थानीय युवा मजदुरीका लागि भारतका विभिन्न ठाउँमा जानुपर्ने बाध्यता भएको उनले जनाए ।


खोलाको बालुवा बिक्री गरेर जीविकोपार्जन गर्न कठिनाइ भएपछि समस्यामा परेका दलित महिलाले सीपमूलक तालिम र व्यवसायमा सहयोग गर्न विभिन्न निकायमा आग्रह गरेका छन् । ‘यसअघि पनि वैकल्पिक व्यवसायका लागि सहयोग गर्न माग गर्दै विभिन्न निकायमा गइयो, तर कसैले वास्ता गरेनन्,’ नेपालीले भनिन्, ‘कम्तीमा सीपमूलक तालिम दिए हामीलाई आत्मनिर्भर बन्न सहयोग पुग्थ्यो ।’

प्रकाशित : माघ १३, २०७५ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?