बहिरा स्कुलमा सामग्री अभाव

करिश्मा चौधरी

वीरेन्द्रनगर — फरक क्षमताका विद्यार्थीको लागि विशेष शिक्षा पढाउनले विद्यालयको व्यवस्थापन राम्ररी हुन सकेको छैन । विद्यालयको व्यवस्थापन, शैक्षिक भवन, शिक्षक, शैक्षिक सामग्रीलगायत व्यवस्थापन नहुँदा विशेष शिक्षाका विद्यालय नाममात्रैका हुन पुगेका छन् ।

वीरेन्द्रनगर–१०, खजुरास्थित सिद्ध बहिरा बालविद्यालयमा विशेष शिक्षाअन्तर्गत व्यवस्थापन नभएको शिक्षकले बताए । सुन्न र बोल्न नसक्ने विद्यार्थीलाई यस विद्यालयमा पढाइन्छ । ९ कक्षासम्म पढाइ हुने विद्यालयमा १ सय २ सय विद्यार्थी छन् । विद्यालयमा शिक्षक, कक्षाकोठा, शैक्षिक सामग्रीलगायत अभाव रहेको विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर कार्कीले बताए । उनका अनुसार विद्यालयमा प्राथमिक तहमा तीन, आधारभूत तहमा दुई र माध्यमिक तहमा एक दरबन्दी रहेको छ ।


दरबन्दी अनुसारका सबै शिक्षक रहे पनि त्यो नपुग्दो भएको प्रधानाध्यापक कार्की बताउँछन् । ‘यो दरबन्दी निकै थोरै हो, विद्यालयमा थप सातजना शिक्षक र कर्मचारी आवश्यक छ,’ उनले भने, ‘९ वटा कक्षामा ६ जना शिक्षकले कसरी पढाउन सक्छ ? त्यसमाथि यहाँ संकेतमा बुझाउनुपर्ने हुन्छ ।’


२०३७ सालमा स्थापना भएको विद्यालय भवन जीर्ण बनेको छ । त्यही जीर्ण भवनमा पनि कक्षा कोठा पुग्दो छैनन् । कक्षाकोठा अभाव हुँदा एउटै कोठामा दुईवटा कक्षा सञ्चालन गर्नुपरेको प्रधानाध्यापक कार्कीले बताए । एक र दुई कक्षाका विद्यार्थीलाई एउटै कोठामा पढाउनुपर्ने बाध्यता रहेको शिक्षक उषा रानाले बताइन् । ‘विशेष शिक्षा भने पनि विशेष तरिकाले पढाउन पाएका छैनौं,’ उनले भनिन्, ‘सांकेतिक रूपमा बुझाउन सकिने पाठ्यसामग्री छैन, हामीलाई तालिम छैन, कक्षाकोठाको अभाव छ ।’


५ र ९ कक्षाको पढाइ एउटै कोठामा हुन्छ । एउटै कोठामा दुई कक्षा सञ्चालन गर्दा विद्यार्थीको पढाइमा बाधा पुगिरहेको शिक्षक रमेशकुमार कार्कीले बताए । ‘पढाउँदै गर्दा एउटा कक्षाकोले अर्को कक्षाको विद्यार्थीसँग कुरा गरिहाल्छन्,’ उनले भने, ‘उनीहरूले पढाइमा ध्यान केन्द्रित गर्न सकिरहेको हुँदैनन्, हामीलाई पनि अर्को कक्षाको आवाजले

‘डिस्टर्व’ भइरहेको हुन्छ ।’


समयसँगै विद्यालयमा विद्यार्थी संख्या बढिरहेको छ । गत शैक्षिक सत्रदेखि ९ कक्षाको पढाइ सुरु भएको छ । तर, विद्यालय भवन, शिक्षक दरबन्दीको व्यवस्थापन हुन सकेको छैन । हेरेर बुझ्ने विद्यार्थी मात्रै भएको विद्यालयमा विज्ञान प्रयोगशाला छैन ।

प्रकाशित : माघ १८, २०७५ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?