महिलाकै काँधमा जिम्मेवारी

बिप्लब महर्जन

सल्यान — शारदा नगरपालिका–११, पेदिखोलाकी ४० वर्षीया बिना बुढाथोकी केही वर्ष अघिसम्म चुलोचौको र घाँसदाउरामा व्यस्त हुन्थिन् । अचेल उनको जिम्मेवारी झन् बढेको छ । उनी गाउँमा हुने भेला, गोष्ठी, सभा–सम्मेलनमा सहभागी हुन्छिन् । पुरुष वैदेशिक रोजगारीका लागि खाडी मुलुक र भारत जान थालेपछि उनी सामाजिक जिम्मेवारीसमेत सम्हाल्न थालेकी हुन् ।

महिलाकै काँधमा जिम्मेवारी

पछिल्लो समय वैदेशिक रोजगारीले गाउँका सामाजिक काममा पुरुषको संख्या घट्दै गएको छ । ती काममा महिलाको सहभागिता बढ्न थालेको छ । ४६ वर्षीया हिरी बुढाथोकीको घरमा भएका दुई पुरुष विदेश गएपछि उनी घरायसी कामका साथै सामाजिक काममा देखिन थालेकी छन् । ‘अब त घाँसदाउरा, चुलोचौको मात्र गरेर भएन, समाजमा पनि देखिनुपर्ने भयो,’ उनले भनिन्, ‘छोराछोरीको पढाइ र रेखदेख गर्ने जिम्मेवारी पनि सम्हालिरहेकी छु ।’


मेघु बुढाथोकीको घरका श्रीमान्सहित तीन पुरुष वैदेशिक रोजगारीका लागि विदेशमा छन् । त्यसैले अहिले बालबच्चाको पढाइका साथै समाजमा पुरुषले व्यहोर्ने दायित्वको भारी पनि उनकै काँधमाथि छ । ‘घरमा बसेर खानलाउन पुग्दैन, त्यसैले सबै विदेशतिर गएका छन्,’ उनले भनिन्, ‘उनीहरू नभएपछि घरबाहिरको काम पनि मैले नै गर्दै आएकी छु ।’


त्यतिमात्र होइन, महिलाहरू आफैं हलो जोत्न थालेका छन् । महिलाले हलो जोत्नु हुँदैन भन्ने अन्धविश्वास बिस्तारै हट्न थालेको छ । स्थानीय विमला बुढाले गाउँमा पुरुष नभएपछि महिलाले नै बिरामी बोकेर स्वास्थ्य संस्थातिर लैजाने गरेको बताइन् ।


सय परिवार रहेको पेदिखोलाका झन्डै २ सय पुरुष रोजगारीका लागि भारत र अन्य मुलुक गएका छन् । स्थानीय विद्यालय निरीक्षक तोरणप्रसाद बुढाथोकीले गाउँमा पुरुष नभए पनि महिलाले पुरुषको जिम्मेवारी निर्वाह गर्दै आएका बताए । ‘पुरुष जति विदेशमा छन्, यता घरदेखि समाजसम्मको जिम्मेवारी महिलाले धान्दै आएका छन्,’ उनले भने, ‘यसले महिलाको सशक्तीकरणमा समेत टेवा पुर्‍याएको छ ।’


गाउँमा पुरुषको संख्या पातलो हुँदा सुरक्षा चुनौती बढ्दै गएको स्थानीयको भनाइ छ । विद्यालय निरीक्षक बुढाथोकीले पछिल्लो समय बलात्कारका घटना बढेको बताए । ‘आफ्नै गाउँघरमा बसेर आयमूलक काम गर्न सकिने भए पनि विदेशमा धेरै रकम कमाउन सकिन्छ भन्ने लालचका कारण पुरुषहरू बाहिर जाने गरेका छन्,’ उनले भने, ‘यसले समाजमा सकारात्मक र नकारात्मक दुवै प्रभाव छोडेको छ ।’

प्रकाशित : माघ १८, २०७५ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?