कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

हिउँले सेताम्मे बन्यो रारा

राजबहादुर शाही

मुगु — कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा हिउँले सेताम्मे बनेको छ । रारा वरिपरिका रूख/बिरुवा हिउँमय बनेका छन् । भारी हिमपातका कारण सडक अवरुद्ध बनेपछि रारामा पर्यटकको संख्या भने शून्य छ । 

हिउँले सेताम्मे बन्यो रारा

सूर्यको पारिलो घामले हिउँले सेताम्मे बनेको रारा चाँदीजस्तै टल्किने गरेको पर्यटन व्यवसायी बताउँछन् । व्यवसायीका अनुसार राराले दिनमा तीनपटक रूप बदल्ने गरेको छ । हिउँले रारा मनमोहक बनेको भिजिट कर्णाली ट्राभल्सका प्रबन्धक राजु कार्कीले बताए । रारामा हिउँ हेर्न जाने पर्यटकलाई ट्राभल्सले प्याकेज सञ्चालन गरिरहेको उनको भनाइ छ ।


अहिले रारामा आउने पर्यटकले मज्जाले एक सातासम्म पनि हिउँमा खेल्न पाउने उनी बताउँछन् । हिउँमा घोडा कुदाउनेका लागि पनि राराको अहिलेको मौसम उपयुक्त रहेको उनको भनाइ छ । मुर्माटपसम्म पुगेर सेताम्मे रारादेखि वारिपारिको बस्तीको दृश्यावलोकन गर्न सकिने भएकाले यो मौसम रारा भ्रमणका लागि उपयुक्त मानिएको उनले जनाए ।


सेताम्मे हिउँले रारा झनै रमाइलो देखिन थालेको डाँफे होटलका प्रबन्धक बलिबहादुर शाहीले बताए । राति चन्द्रमा लागेपछि हिउँले रारा टल्किने गरेको उनी बताउँछन् । हिउँले सडक मार्ग अवरुद्ध भएकाले पर्यटक आउन समस्या भएको उनको भनाइ छ ।


रारा आउनका लागि काठमाडौं र नेपालगन्जबाट हवाई उडान हुने गरेका छन् । रारामा आउने आन्तरिक र बाह्य पर्यटकका लागि ताल छैवैमा भिलेज हेरिटेज रिसोर्ट र डाँफे होटल छन् । साथै माझघट्टमा होमस्टेको व्यवस्था गरिएको छ । अहिले पर्यटकका लागि विभिन्न स्थानीय परिकार सहजै पाइने पर्यटन व्यवसायीको भनाइ छ ।


हिमपातले रारा तालमा डुंगा चलाउनेदेखि एक सयभन्दा बढी घोडा व्यवसायीलाई असर परेको छ । पर्यटक नआएपछि घोडाले काम पाउन मुस्किल भएको मुर्मा गाउ‘का गोर्ख रोकायाले सुनाए । हिमपातले चिसो बढेपछि जिल्लाभित्रका स्थानीयसमेत रारातिर घुमघाम गर्न जान छाडेका छन् । हिमपातले पर्यटक घटेपछि होटल सञ्चालक चिन्तित भएका छन् । गाडीको चाप भइराख्ने जुम्लाको घुच्चीडाबका एक दर्जन बढी होटल पनि सुनसान छन् ।


समुद्र सतहदेखि २९ सय ९० मिटर उचाइमा रहेको रारामा दुई साताअघि परेको हिउँ अझै बिलाएको छैन । पाँच हजार मिटर लम्बाइ, ३ हजार मिटर चौडाइ र १ सय ६७ मिटर गहिराइ रहेको राराको वरिपरि एक फन्को मार्न ६ घण्टा लाग्ने गरेको छ । विश्वमा दुर्लभ असला जातका माछा, रानी ट्राउट भ्यागुतोलगायत तीन सय प्रजातिका चरा रारामा पाइन्छन् । कस्तुरी, रेडपाण्डा, मृग, घोरल, भाल, रतुवालगायत वन्यजन्तु अवलोकनका लागि पनि रारा महत्त्वपूर्ण मानिन्छ ।

प्रकाशित : माघ १९, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?