कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

राडीपाखी बुनेर जीविकोपार्जन

राजबहादुर शाही

मुगु — छायानाथ रारा नगरपालिका १३, थार्प गाउँका कर्णसिंह बोहोराले घरमै राडीपाखी बुन्ने गरेका छन् । राडीपाखी बिक्रीले उनको वर्षभरिको घरखर्च चल्छ ।

उनी मात्र होइन, थार्प गाउँका करिब एक सय २१ घरधुरीमध्ये करिब ५० परिवारले व्यावसायिक रूपमा भेडापालन गरी राडीपाखी उत्पादनमा जोड दिएका छन् ।


कृषि पेसाले खान नपुग्ने भएपछि राडीपाखी व्यवसायमा उनीहरूको आकर्षण बढेको हो । भेडाको ऊनबाट कम्मल, फेरुवा, पाखी, बुनेर बिक्री गरेर वर्षौंदेखि उनले जीविकोपार्जन गरिरहेका छन् । स्थानीय बजारमा कम्मल र पाखी तीन हजारदेखि तीन हजार ५ सय र फेरुवाको चार हजार रुपैयाँमा बिक्री हुन्छ । सिजनमा राडीपाखीबाट २० हजार रुपैयाँसम्म कमाइ हुने उनी बताउँछन् । भेडाबाट ऊन निकालेर बुनाइ गर्दासम्म धेरै दु:ख हुने गरे पनि आफ्नो कमाइप्रति सन्तुष्ट रहेको उनको भनाइ छ ।


नगरपालिकाको रोबार्‍याङच्याकाटी गाउँका एक सय ६९ परिवारमध्ये अधिकाश घरधुरीको मुख्य पेसा पनि राडीपाखी व्यवसाय नै हो । गाउँका महिलासमेत राडीपाखा बुन्छन् । ‘राडीपाखी बुनेर बिक्री नगर्ने हो भने बालबच्चा पढाउन र घर खर्च धान्न सकिंदैन,’ रोवा गाउँका बिर्खबहादुर कुमाइले भने, ‘परिवारका महिला–पुरुष सबै राडी बुन्ने काममा संलग्न छौं ।’


उनका अनुसार पिना, मुन्दु, कोटिला गाउँका अधिकाश स्थानीयवासी राडीपाखी बुनाइमा लागेको वर्षौ भइसक्यो । बर्सेनि एक परिवारले राडीपाखी बिक्री गरी न्यूनतम २५ हजार रुपैयाँ कमाउने गरेको उनी बताउँछन् । नगरपालिकाको लेकाली बस्तीमा भेडापालन व्यवसाय फस्टाउँदै गएको छ । जसले राडीपाखी व्यवसायउन्मुख बनेको छ । भेडाको ऊनबाट स्थानीय पहिरन लिउ, फेरुवा, पाखो, कम्मललगायत सामग्री उत्पादन हुने गरेको छ ।


एउटा फेरुवा र कम्मल बनाउन १५ दिनसम्म लाग्ने गरेको स्थानीयको भनाइ छ । राडीपाखी बेच्न गमगढी, नेपालगन्ज र सुर्खेतसम्म पुग्ने गरेको थार्प गाउँका हीरालाल बोहोराले बताए । उनका अनुसार अघिल्लो पुस्ता राडीपाखीको कमाइमै निर्भर छ । ‘घरमा ४० देखि ५० वटा भेडाबाख्रा पाल्न सकिएको खण्डमा एक वर्ष १५ देखि २० वटा राडीपाखा उत्पादन गर्न सकिन्छ,’ उनले भने, ‘भेडापालन र राडीपाखी दुवैबाट राम्रो आम्दानी भइरहेको छ ।’


भेडाको ऊनबाट गलैंचा उत्पादनको लागि धेरै पटक जिल्ला घरेलु कार्यालयमा तालिम र मेसिनको माग गरे पनि सुनुवाइ नभएको स्थानीय कर्ण सिंहले बताए । ‘आधुनिक गलैंचा बुन्न सिक्न पाए पैसा राम्रो कमाइ हुन्थ्यो घरमै मान्छे किन्न आउँथे,’ उनले भने, ‘अन्य जिल्लाबाहिर आएका कर्मचारी र सुरक्षाकर्मीले गाउँमै पुगेर राडीपाखी किनेर लैजाने गरेकाले आम्दानी बढ्दै गएको छ ।’


अधिकाश लेकाली बस्तीमा भेडाबाख्रापालन गरेर स्थानीयले राम्रो आम्दानी गरिरहेको भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय प्रमुख भीमचन्द बुढाले बताए । गाउँमा उत्पादन भएको राडीपाखी जिल्लाबाहिर जाने गरेको उनको भनाइ छ । जिल्लामा सडक सुविधा पुगेपछि ग्रामीण भेगका स्थानीयले बुनेका पाखी, लिउ, फेरुवा, कम्मल सहरतिर जाने गरेको उनी बताउँछन् ।


उनका अनुसार यी सामग्रीको माग पनि बढ्दै गएको छ । जिल्लामा तीन हजार पाँच सय रुपैयाँमा बिक्री हुने राडीपाखी सहरमा पाँच हजारसम्ममा बिक्री हुने स्थानीयको भनाइ छ । जिल्लाको ग्रामीण बस्तीमा चरिचरन सुविधा भएकाले स्थानीयले भेडापालन गरेर आयआर्जनको मुख्य स्रोत बनाएका छन् । भेडाबाख्राको मल उन्नत बालीको निम्ति उपयुक्त हुने भएकाले दोहोरो फाइदा भएको पशु चिकित्सकको भनाइ छ ।

प्रकाशित : माघ २१, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?