सहिद पार्क होटलमा परिणत

भीमबहादुर सिंह

भीमबहादुर सिंह — पाँच वर्ष अघिसम्म भेरी नगरपालिका–१, रिम्नास्थित सहिद स्मृति पार्कमा निकै चहलपहल हुन्थ्यो । रमणीय पार्कमा प्रवेश गर्नेहरू आनन्दको अनुभूति लिन्थे । पार्क दिनभर खुलै रहन्थ्यो । पार्क भित्रको रमणीय वातावरणले आगन्तुक जो कोहीको मन लोभिन्थ्यो । तर पछिल्लो समय पार्कमा आगन्तुकको नाम निसाना देखिंदैन । एक वर्षयता पार्क प्रवेश गर्नेको संख्या शून्य छ । 

सशस्त्र द्वन्द्वका सहिदको स्मरणमा निर्माण भएको पार्क ओझेलमा परेको छ । सहिद पार्क होटलमा परिणत भएपछि पार्कको अस्तित्व मेटिन गई आगन्तुक संख्या शून्य भएको हो । सशस्त्र द्वन्द्वमा सबैभन्दा बढीले ज्यान गुमाएको गाउँ रिम्नामा ७ वर्षअघि सहिद स्मृति पार्क बनेको थियो । एक वर्षदेखि पार्कमा आरके होटल सञ्चालनमा आएको छ । पार्कमा होटेल सञ्चालन गरेपछि सहिदहरूको अपमान भएको द्वन्द्वपीडित कृष्णराज विकले बताए । सशस्त्र युद्धमा बलिदानी दिएका सहिदको सम्मान तथा स्मृतिमा निर्माण भएको सुन्दर पार्कमा होटल व्यवसाय गर्नु सहिदप्रति अन्याय भएको उनको भनाइ छ । ‘पार्कमा यतिबेला हेर्न लायक केही छैन,’ उनले भने, ‘पार्क ओझेलमा पर्दै गएको छ ।’


पार्कमा रहेका मिनी चिडियाखाना, पोखरी, स्मृति भवन, सहिदका तस्बिर, बिरुवा तथा फूलको बगैंचालगायत हेर्न आगन्तुक लोभिन्थे । आजभोलि पार्कको प्रवेशद्वार तथा स्मृति भवनमा होटलको बोर्ड झुन्डिएको छ । पार्कभित्र झाडी र फोहोर बढ्दै गएको छ । जीवजन्तु तथा चराचुरुङ्गी मरिसकेका छन् । पोखरीमा पानी सुकेको छ । बिरुवा तथा फूल सुकेका छन् । सहिदका तस्बिर राखिएको हलमा होटलका बेड विस्तरा छन् ।


अहिले पार्कमा घुम्न आएकाहरू होटलको बोर्ड देखेर तर्सने गरेको बिकले बताए । सहिदको स्मरणका लागि पार्क पुगेका पीडित परिवार पनि निरास भई फर्कने गरेको उनको भनाइ छ । द्वन्द्वमा पिपे र रिम्ना गाउँमा मात्र २९ जनाले ज्यान गुमाएका थिए । विद्रोही पक्षबाट एक र राज्य पक्षबाट २६ जना मारिएका थिए । अझै दुई बेपत्ता पारिएका छन् । द्वन्द्वमा जिल्लाभरिबाट तीन सय ७६ जनाको ज्यान गएको थियो ।


द्वन्द्वका दुई सय सहिदको तस्बिर राखिएको स्मृति भवनमा होटल व्यवसाय गर्नु गलत भएको सहिद परिवार सदस्य डण्डवीर रानाले बताए । ‘होटलमा छोराको तस्बिर किन राख्ने ?,’ उनले भने, ‘अब घरमै ल्याएर राख्छु ।’ रानाका छोरा लालबहादुर सशस्त्र द्वन्द्वका सहिद हुन् । सहिदपार्क भट्टी र कपडा सुकाउने स्थानको रूपमा परिणत भएको उनको गुनासो छ । द्वन्द्वका सहिद कुन्तबहादुर खड्काकी माहिली छोरी कमला खड्काले पार्कमा होटल सञ्चालन गर्दै आएकी छन् ।


तत्कालीन सरकारले द्वन्द्व प्रभावित गाउँ पिपे र रिम्नालाई नमुना गाउँ घोषणा गरेको थियो । सरकारको नमुना बस्ती विकास कार्यक्रमअन्तर्गत रिम्नामा एक करोड बजेट खर्च गरेर सहिद स्मृति पार्क निर्माण गरिएको पार्क व्यवस्थापन समितिका अध्यक्ष जयबहादुर रानाले बताए । २०६८ सालमा निर्माण सम्पन्न भएको उक्त पार्क व्यवस्थापनका लागि तीन वर्षसम्म लगातार बजेट आएको र त्यसपछि बजेट नआएको उनको भनाइ छ ।


बजेट अभावमा उचित स्याहार सम्भार नहुँदा पार्कभित्र पालिएका जीवजन्तु र बोट विरुवा तथा फूल मरिसकेको उनी बताउँछन् । पार्कमा सहयोग गर्ने कर्मचारीको तलब व्यवस्थापन र पालिएका वन्यजन्तुको आहाराको खर्च जुटाउन नसक्दा पार्कको अस्तित्व संकटमा परेको उनको गुनासो छ । ‘बृहत योजनाका साथ पार्कको स्थापना भए पनि खर्च धान्न नसक्दा ओझेलमा पर्‍यो,’ उनले भने,‘हामीले दैनिक चार/पाँच सयमात्रै आम्दानी गरे पनि पार्क हेर्ने कर्मचारी र पालिएका जीवजन्तुको आहारा पुर्‍याउन सक्थ्यौं । केही समयसम्म मात्रै लक्ष्य अनुसार आम्दानी भयो र पार्क चलाइयो त्यसपछि आम्दानी ठप्पै भयो ।’


पार्क भित्र भालु, अजिंगर, कछुवा, दुम्सी, बाँदर, गिनिपिकलगायत जनावर पालिएका थिए । पार्कमा होटल के कसरी संचालन भयो ? आफूलाई कुनै पनि जानकारी नभएको अध्यक्ष रानाले बताए । व्यवस्थापन समितिको निर्णयबिना जबरजस्ती होटल सञ्चालनमा आएको उनले दाबी गरे । सहिद पार्कमा होटल सञ्चालन भएकोबारे सहिद परिवार लगायत सबै पक्षले विरोध गर्ने गरेको उनको भनाइ छ ।


सहिद पार्कलाई पर्यटकीय क्षेत्र बनाउन र यसको संरक्षण गर्नका लागि तत्काल सर्वपक्षीय बैठक गरी होटल हटाउन पहल गर्ने वडाध्यक्ष दीपक राना बताउँछन् । भेरी नगरपालिकालगायत निकायबाट पार्कको स्याहार सम्भारका लागि आगामी वर्ष आवश्यक बजेट व्यवस्थापन गर्ने उनले जनाए । द्वन्द्व प्रभावित रिम्ना र पिपे गाउँमा ६ वर्षअघि खानेपानी, लघु जलविद्युत, सहिद पार्क तथा सहिद स्मृति भवन, सरसफाइ, विद्यालय भवन निर्माणलगायत योजनामा ६ करोड बढी बजेट खर्च भएको थियो ।

प्रकाशित : माघ २३, २०७५ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?