१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सडक अझै पूरा भएन

विप्लव महर्जन

सल्यान — जिल्लामा पहिलो सडकको नाममा खन्न सुरु गरेको खलंगा–लक्ष्मीपुर–रामपुर–काल्चे हुँदै नेपालगन्ज जोड्ने सडक योजना अझै पूरा भएको छैन ।

४० किलोमिटर ट्रयाक खनिसकेको सडक सरकारी बेवास्ताले लामो समयदेखि अलपत्र परेको हो । काम सुरु भएको दुई वर्ष नबित्दै लक्ष्मीपुर नजिकैको मासखोलामा पुगेर सडक टुंगिएको छ ।


धेरै ठाउँमा पहिरोले पुरेको सडक गोरेटो बाटोमा परिणत भएको छ । शारदा नगरपालिकाको खलंगा, मार्के र कालीमाटी गाउँपालिका १, लक्ष्मीपुरका स्थानीयको श्रमदानमा ट्रयाक खनिएको थियो । उक्त सडक द्वन्द्वको समयमा तत्कालीन जिविसअन्तर्गत सञ्चालित विश्व खाद्य कार्यक्रमले निर्माण गर्न चासो देखाएको थियो ।


उक्त समयमा विद्रोही माओवादीले अवरोध गरेका कारण दुई किलोमिटरमै सीमित भएको स्थानीय वृद्ध कर्णबहादुर भण्डारीले बताए । बीचैमा अलपत्र पर्दा स्थानीयको श्रमदान खेर गएको उनले जनाए ।


पहुँचको अभावमा योजनामा अहिलेसम्म बजेट नपरेको भण्डारीले जानकारी दिए । ‘सतीदेवी शक्तिपीठलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न सडक निर्माण सुरु गरिएको थियो, सडक निर्माणमा जिविस, गाविसलगायत निकाय र राजनीतिक दलले चासो दिएनन्,’ उनले भने, ‘सडक बनाएर घर नजिकैबाट नेपालगन्जसम्म गाडी चढ्ने सपना अधुरो भयो ।’ कालीमाटी गाउँपालिकाको रामपुर हुँदै काल्चे जाने सडक मार्के–बाबियाचौर हुँदै खनेकाले पनि अलपत्र परेको उनको भनाइ छ ।


सडक निर्माण गर्ने क्रममा सतीदेवी शक्तिपीठ नजिकै ठूलो पत्थर हुँदा त्यसलाई फोड्न धेरै खर्च गर्नुपरेको स्थानीय अगुवा कहरसिंह बस्नेतले बताए । श्रमदानबाट निर्माण गरेको सडक मर्मत गरेका कारण खलंगाबाट छुट्ने गाडी लक्ष्मीपुरको बजारसम्म मात्र जाने गरेको उनले जानकारी दिए । ‘त्यसभन्दा यता सबै सडक पुरिएकाले नेपालगन्ज र सुर्खेत जानलाई दाङको बाटो हुँदै जानुपर्ने बाध्यता छ,’ उनले भने, ‘लामो समयदेखि सडक बीचैमा रोकिँदा बिरामीलाई खलंगा अस्पतालसम्म ल्याउँदा आधा बाटो पैदलै

हिंड्नुपर्ने बाध्यतासमेत छ ।’


स्थानीय चेतलाल भण्डारीका अनुसार सडक बनेको भए दिउँसो सरकारी काम गरेर बेलुकी नेपालगन्जबाट घर फर्कन सकिने अवस्था थियो । अहिले धेरै लामो दूरी भएकाले दाङ बास बसेर अर्को दिन नेपालगन्ज जान बाध्यता रहेको उनको भनाइ छ । उनका अनुसार यो बाध्यताले स्थानीयवासीलाई आर्थिक मारसमेत परेको छ ।


२०२० मा जिल्लाका बासिन्दा नेबबहादुर मल्ल मन्त्री भएका बेला सडक खन्न सुुरु गरिएको थियो । लक्ष्मीपुर सडक मात्र नभई साबिक जिविस, गाविसबाट सञ्चालित टुक्रे योजनाका कारण एक सय ३० बढी सडक अलपत्र परेका छन् ।

प्रकाशित : माघ २७, २०७५ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?