कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

डोजर प्रतिबन्धपछि अलमल

विप्लव महर्जन

सल्यान — सरकारले १ करोडभन्दा कम बजेट भएका सडकमा डोजर लगाउन प्रतिबन्ध गरेपछि स्थानीय तह अलमलमा परेका छन् । डोजर लगाएर काम सञ्चालन भइरहेका ती सडक योजनामा अब के गर्ने भन्ने अन्योल भएको सरोकारवालाको भनाइ छ ।

डोजर प्रतिबन्धपछि अलमल

जिल्लाका १० स्थानीय तहले साना सडकमा पनि डोजर प्रयोग गरिरहेका छन् । हालसम्म ती सडकमा करिब ४० प्रतिशत काम भइसकेको छ ।


बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्म मल्लले सरकारले गरेको निर्णयले सडकको काम गर्न कठिनाइ भएको बताए । ‘स्थानीयस्तरमै रोजगारी होस्, कामका लागि विदेश जान नपरोस् भनेर गरिएको यो निर्णय स्वागतयोग्य छ,’ उनले भने, ‘तर काम गर्ने मजदुर भेटिँदैनन्, डोजरले जस्तो काम पनि छरितो हुँदैन, यसले समस्या निम्त्याउन सक्छ ।’


त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले सरकारको यस्तो निर्णयले आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्न समस्या भएको बताए । स्थानीय तहले एउटा निर्णय गरेको र संघीय सरकारले अर्कै निर्देशन दिँदा अन्योल भएको उनको भनाइ छ । त्रिवेणी गाउँपालिकाले सडकका टुक्रे योजनामा तीन करोड रुपैयाँ विनियोजन गरेको छ ।


उनका अनुसार ५ लाखमुनिका योजना उपभोक्ता समिति र त्यसभन्दा माथिका योजना ठेक्कामार्फत कार्यान्वयन गर्ने नीति बनाइएको छ । ‘हामीले केन्द्र सरकारको निर्णय माने पनि उपभोक्ता र ठेकेदारले मान्लान् भन्ने लाग्दैन,’ उनले भने, ‘समयमै काम सम्पन्न गर्नुपर्ने बाध्यताले पनि डोजर लगाउनैपर्ने अवस्था आउन सक्छ ।’


छत्रेश्वरी गाउँपालिकासँग आफ्नै डोजर छ । यस्तो अवस्थामा एक करोडमाथिका सडक योजना तर्जुमा गरी आफ्नै डोजर प्रयोग गर्ने उसको तयारी छ । ‘यस्तो अवस्थामा साना योजनामार्फत काम गर्ने उपभोक्तालाई मर्का पर्न सक्छ,’ प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले भने ।


सल्यानमा डोजर प्रयोग गरेर मान्छेले काम गरेको भनी हाजिरी देखाउने प्रवृत्ति पनि उत्तिकै छ । यस्तो अवस्थामा त्यो प्रवृत्ति झन् मौलाउने स्थानीय तहको चिन्ता छ । सिद्धकुमाख गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउने सरकारको निर्णयले गाउँपालिकाको निर्धारित लक्ष्य पूरा गर्न हम्मे हुने बताउँछन् ।


उनका अनुसार डिभिजन वन कार्यालयले रोक लगाउँदा लगाउँदै पनि वृक्षरोपण गर्ने सर्तमा डोजर लगाएर सडक निर्माण भइरहेको छ । ‘केही वर्षदेखि मानिसले सडक खन्न छाडिसके, सबै काम डोजरले गर्छ,’ उनले भने, ‘स्थानीय जनताको मागअनुसार स–साना सडक योजना बनाएका थियौं, अब ती योजना कहिले पो सकिने हुन्, थाहा छैन ।’


शारदा नगरपालिकाले भने डोजर प्रयोगलाई कडाइका साथ लागू गर्ने जनाएको छ ।

प्रकाशित : माघ २९, २०७५ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?