कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

गाउँमै आयोडिनयुक्त नुन

राजबहादुर शाही

मुगु — यहाँका ग्रामीण क्षेत्रमा समेत सरकारी अनुदानको आयोडिनयुक्त नुन सहजै पाइन थालेको छ । सहजै आयोडिनयुक्त नुन पाउन थालेपछि ग्रामीण क्षेत्रमा समेत ढिके नुनको प्रयोग घट्दै गएको छ ।

गाउँमै आयोडिनयुक्त नुन

केही वर्ष अघिसम्म स्थानीयलाई पाँच किलो नुनका लागि हिँडेर सदरमुकाम आउनुपर्ने बाध्यता थियो । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गाउँमा पनि डिपो र गोदामको व्यवस्था गरेपछि उपभोक्तालाई सजिलो भएको हो । जिल्लाका ग्रामीण क्षेत्रमा प्रतिकिलो ९ रुपैयाँमै आयोडिनयुक्त नुन वितरण गर्न थालेपछि सोरु, खत्याड, छायाँनाथरारा नगरपालिकाकालगायत क्षेत्रका स्थानीयलाई माग अनुसारको नुन प्राप्त गर्न सजिलो भएको छ ।


साल्ट ट्रेडिङले खत्याड गाउँपालिकाको खमाले, श्रीकोट र गम्था माझचौरमा गोदाम राखेर स्थानीयलाई नुन उपलब्ध गराउन थालेको छ । पहिले खत्याड गाउँपालिकाका स्थानीय हिँडेर सदरमुकाम आएर नुन बाध्य थिए । नुनको लागि जिल्ला सदरमुकाम धाउनुपर्ने अवस्थाको अन्त्य भएको खत्याड गाउँपालिकास्थित गम्था गाउँका गोविन्द सन्ज्यालले बताए । उनका अनुसार गाउँमा सहजै आयो नुन पाइन थालेको छ ।


गम्था माझचौर, खमाले, श्रीकोट गोदाममा नुन लिन आसपासका बासिन्दाको भीड लाग्ने गरेको छ । दुई/तीन दिनअघि खत्याड गाउँपालिकाका उपभोक्तालाई एक हजार ९७ क्विन्टल आयोडिनयुक्त भानु नुन वितरण गरेरको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख खगेन्द्र कार्कीले बताए । आवश्यकताअनुसार उपभोक्तालाई नुन दिने गरिएको उनको भनाइ छ । उनका अनुसार सोरु गाउँपालिकाको सोरुकोटमा समेत नुन बिक्रीका लागि डिपो स्थापना गरिएको छ ।


भीई, फोतु, नार्थपु, जिमा, पुरुमुरुलगायत गाउँ बस्तीका स्थानीयले सोरुकोटबाटै नुन लिने गरेको उनको भनाइ छ । छायाँनाथरारा नगरपालिकाका उपभोक्तालाई पनि नुन पाउन निकै सजिलो छ । उनले जिल्लामा पर्याप्त मात्रमा ग्रामीण क्षेत्रबाट समेत नुन वितरण थालिएपछि सिफारिस, कुपन र भनसुन प्रवृत्तिको अन्त्य भएको बताए । उनका अनुसार केही वर्षअघिसम्म जिल्ला सदरमुकाममा समेत पर्याप्त नुन आपूर्ति नहुँदा सीमित नुनमात्र वितरण गर्ने गरिएको थियो । गमगढीमा ३ वटा गोदाममा नुन भरिभराउ भएको कार्यालयले जनाएको छ ।


खत्याड गाउँपालिकामा एक हजार ९ सय, सोरु गाउँपालिकामा एक हजार र गमगढी क्षेत्रमा दुई हजार पाँच सय क्विन्टल नुन वार्षिक ढुवानी गरेको ट्रेडिङको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गाउँ बस्तीमै सरकारी अनुदानको आयोडिन नुन वितरण हुन थालेपछि तिब्बती ढिके नुनको प्रयोग घटै गएको छ । आयोडिन नुन उपभोगले बालबालिकामा गलगाड आउने, लाटो लठेब्रो हुनेजस्ता शारीरिक समस्या कम हुँदै गएको स्थानीय स्वास्थ्यकर्मीको भनाइ छ । जिल्लाका ग्रामीण क्षेत्रमा समेत तिब्बती ढिके नुनको आयात रोकिँदै गएको छ ।

प्रकाशित : फाल्गुन १, २०७५ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?