कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रास्कोटमा श्रम रोजगार बैंक

२० जनाको समूह निर्माण गरेर काम दिने र सबैको श्रमको ज्याला बैंक खातामार्फत भुक्तानी गर्ने नगरपालिकाको योजना छ ।
तुलाराम पाण्डे

रास्कोट, कालीकोट — रास्कोट नगरपालिकाले मानवीय श्रमको बैंक सञ्चालनमा ल्याएको छ । नगरभित्रका श्रमयोग्य नागरिकलाई लक्षित गरेर बैंक सञ्चालन भएको हो । नगरपालिकाले यससम्बन्धी कार्यविधि निर्माण गरी प्रत्येक वडाबाट युवाहरू छनोट भइसकेका जनाएको छ ।

रास्कोटमा श्रम रोजगार बैंक

१८ देखि ४९ वर्षसम्मका महिला–पुरुष दुवैलाई सदस्य बनाएर श्रम रोजगार बैंकको अवधारणा अघि सारिएको नगर प्रमुख काशीचन्द्र बरालले बताए । ‘श्रम गर्ने युवाको समूह निर्माण गरेर बैंक सञ्चालनमा ल्याउने तयारी गर्दैछौं,’ उनले भने, ‘नगरभित्र र बाहिरका काममा पनि श्रम बैंकका युवाहरू परिचालन गरिनेछ ।’


साधारण लेखपढदेखि उच्च शिक्षा पढेका युवायुवतीलाई कामको सुनिश्चितता गरेर ५० वर्ष पुगेपछि स्वत: अवकाश हुने गरी १० प्रतिशत रकम बचत गर्न लगाएर थप १० प्रतिशत नगरपालिकाले सहयोग गर्ने कार्यविधिमा उल्लेख छ ।


२० जनाको समूह निर्माण गरेर काम दिने र सबैको श्रमको ज्याला बैंक खातामार्फत भुक्तानी गर्ने नगरपालिकाको योजना छ । नगरपालिकाले नगरमा एकजना व्यवस्थापक र एकजना प्राविधिक नियुक्त गरी उनीहरूको व्यवस्थित परिचालन गर्नेछ ।


दिगो रोजगारीका लागि नियुक्तिसहितको सदस्यता दिएर प्रतिसदस्यको १० लाखको दुर्घटना बिमा पनि नगरले गर्नेछ । उक्त बिमाको प्रिमियम पनि नगरबाट भुक्तानी हुनेछ । श्रम रोजगार बैंकका सदस्यले नगरका विकास निर्माण, उत्पादन, सामाजिक सुरक्षा, दैवी प्रकोप तथा विपद् व्यवस्थापनलगायत काम गर्नेछन् ।


समूहलाई सञ्चालन र व्यवस्थापन गर्न नगरपालिकाले एकजना मुख्य व्यवस्थापक नियुक्ति गरेर सबै सदस्यलाई एकहप्ते तालिम प्रदान गर्नेछ । दरखास्त दिएका युवाहरूको स्वास्थ्य परीक्षण गरेर छनोट गरिने नगर प्रमुख बरालले बताए । उनका अनुसार छनोटमा चिकित्सकसहित सुरक्षा निकायका अधिकारी पनि समावेश गराइनेछ ।


पहिलो चरणमा २ सय सदस्यबाट सुरु गर्न लागिएको श्रम रोजगार बैंकमार्फत नगरका २ हजार युवालाई रोजगार दिने लक्ष्य राखिएको छ । उनीहरूको पारिश्रमिक पनि जिल्ला दररेटअनुसार कायम गरिनेछ । प्रतिमहिना सरदर २१ हजार मासिक तलब पुग्ने गरी योजना बनाइएको नगर प्रवक्ता एवं वडा नं. ६ का अध्यक्ष टक्क फर्सालले बताए । सबै वडाबाट युवाको लगत लिएर नगरपालिकामा नाम लिस्ट पुगिसकेको उनको भनाइ छ ।


नगरपालिकाले श्रम रोजगार बैंकमा सदस्य भएका युवालाई रास्कोट बाहिरका स्थानीय तहमा समेत कामका लागि पठाउन सक्नेछ । स्थानीय उत्पादन वृद्धि गर्न, विकास निर्माणका कामलाई प्रभावकारी बनाउन र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न रास्कोटले नयाँ काम गर्न लागेको निमित्त प्रशासकीय अधिकृत जवानसिंह बमले बताए ।

प्रकाशित : फाल्गुन २, २०७५ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?