सडकले बढ्यो माछाको मूल्य

हरि गौतम

रुकुम पश्चिम — बाँफिकोट गाउँपालिका–२, कुनाखेतका लोकेन्द्र पुनले सानीभेरी नदीमा माछा मार्न थालेको १६ वर्ष बढी भइसक्यो । उनले सुरुमा ८० रुपैयाँ प्रतिकिलो माछा विक्री गर्थे । ८० रुपैयाँमा प्रतिकिलो माछा मुस्किलले विक्री गर्ने गरेका पुनले अहिले प्रतिकिलो चार सय ५० मा विक्री गर्छन् । 

त्यो पनि माछा विक्रीको लागि कुनै समस्या छैन । नदीबाट निकालेर ल्याएका माछा उनले घरमै चार सय ५० रुपैयाँमा सजिलै विक्री गर्न सक्छन् । पुन मात्रै होइन सानीभेरी नदी छेउछाउ घर भएर माछा मार्ने अधिकांशलाई माछा विक्रीमा कुनै समस्या छैन । पासा र माहाजालमार्फत माछा मार्नेहरूले भनेकै मूल्य पाउँदा बजारमा पुर्‍याउन सकेका छैनन् ।


‘केही वर्षको अन्तरालमा माछाको मूल्य धेरै भएको छ,’ पुनले भने, ‘८० रुपैयाँ प्रतिकिलो विक्री नहुने माछा हाल चार सय ५० रुपैयाँमा नदीकै छेउमा विक्री गर्न समस्या छैन ।’ माछाका उपभोक्ता बढ्नु तथा सडकमार्फत सहर, बजारसँग गाउँ जोडिएका कारण माछाको मूल्य तथा माग बढेको भनाइ उनको छ । गाउँमा सडक नपुग्दा माछा सहर बजारसम्म पुर्‍याउन सम्भव थिएन भने ग्राहक पनि माछा खोज्दै कुनाखेतसम्म पुग्न सम्भव थिएन । सडक पुगेपछि भएको बजारीकरणले पनि माछा विक्रीमा सहज बनाएको छ ।


कुनाखेतकै प्रताप पौडेल गाउँमै माछा खरिद गरेर बजार सम्म पुर्‍याउछन् । ‘समय अनुसार माछाको मूल्य बढेको पौडेलले बताए । गाउँमा सडक पुग्यो, अन्य विकासका काम थालियो,’ उनले भने, ‘सडककै कारण सहर र बजार विस्तार भएपछि माछाको माग मात्रै बढेन मूल्य पनि बढेकै छ ।’ उनले गाउँभन्दा टाढा जानवित्तिकै माछा झनै महँगोमा विक्री हुने गरेको बताए ।


कुनाखेतबाट छिनखेत पुग्दा प्रतिकिलो ५ सय देखि ५ सय ५० विक्री हुने सानीभेरी नदीका माछा जिल्ला सदरमुकाम खलंगा बजारमा प्रतिकिलो ६ सय ५० मा विक्री वितरण हुन्छ । महँगो मूल्य तिर्दा पनि पुग्ने गरी माछा पाउन मुस्किले हुने खलंगाका व्यापारी दलबहादुर बोहराले बताए । ‘सानीभेरीको माछा स्वादिलो हुने भएकाले धेरैको खोजिमा त्यो माछा पर्छ तर पुर्‍याउन सकिएको छैन,’ उनले भने ।


बाँफिकोट गाउँ कार्यपालिका सदस्य समेत रहेका कुनाखेतकै मनबहादुर वादीले साना स्थानीयल माछाबाट आम्दानी गर्ने गरेको बताए । माछाको मूल्य बढेको र सजिलै बजार पाउँदा स्थानीयले ले आम्दानी बढाएका छन् ।

प्रकाशित : फाल्गुन ३, २०७५ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?