१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

कैदीबन्दीलाई सुत्न समस्या

विप्लब महर्जन

सल्यान — जिल्ला कारागार सल्यानमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी भएपछि सुत्न र शौचालय प्रयोग गर्न समस्या भएको छ । २० पुरुष र ५ महिलाको क्षमताको कारागारमा अहिले एक सय ६ कैदीबन्दी छन् । 

कैदीबन्दीलाई सुत्न समस्या

जिल्ला कारागारका अनुसार २५ जनाको क्षमता रहेकोमा ८० पुरुष र २४ महिलाले कैद भुक्तान गरिरहेका छन् । कारागारमा दुई वालकले अभिभावकसँग आश्रय लिइरहेका छन् । जिल्ला कारागारका अनुसार सबैभन्दा बढी कर्तव्य ज्यान मुद्दामा ३० जनाले कैद भुक्तान गरिरहेका छन् ।


त्यस्तै जबरजस्ती करणीमा २६, कुटपिटमा एक, सवारी ज्यानमा तीन, लागूऔषधअन्तर्गत सात, बहुविवाहमा २० तथा मानव बेचबिखनमा चारजनाले कैद भुक्तान गरिरहेका छन् । क्षमता भन्दा बढी कैदी भएकाले उकुसमुकुसको अवस्था रहेको चौकीदार राजु खत्रीले बताए ।


पुराना विभिन्न घटनासँग सम्बन्धित रही फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरी ल्याएर जेल चलान गर्दा सुत्नलाई पनि समस्या भएको उनले जानकारी गराए । उनका अनुसार झन्डै एक बर्षअघि तला, तला भएको १० खाट ल्याएर राखेपछि कैदीलाई सुत्न केही सहज भएको थियो । अहिले उस्तै समस्या सुरु भएको छ । क्षमताभन्दा बढी भएकाले बाहिर सरुवा गर्न अति आवश्यक रहेको उनको भनाइ छ ।


मानव बेचबिखन मुद्दामा जेल सजाय भोग्दै आएका कृष्ण पुनले शौचालयमा पालो कुर्नुपर्ने अवस्था आएको जनाए । उनका अनुसार ठाउँको अभावमा गल्लीमा सुत्नुपर्ने बाध्यता रहेको बताए । उनले कहिलेकाहीँ पालो गरेर सुत्नुपर्ने समस्या रहेको गुनासो पोखे । उनका अनुसार कतिपय कैदीबन्दी ढोकाको छेवैमा सुत्ने गरेका छन् । ‘शौचालय जाँदा पालो कुर्नुपर्छ, धेरै भएकाले शौचालय दुर्गन्धित भएर गन्हाउन थालेको छ,’ उनले भने, ‘सुत्न निकै समस्या छ, गर्मीको समयमा अझ समस्या निम्त्याउने अवस्था छ ।’


कैदीको संख्या बढेकाले सुत्न, शौचालय जानलगायत समस्या भएको कैदी धनेशकुमार चलाउनेले बताए । सामान्य रुघाखोकी, ज्वरो आएमा पनि समस्या आउने उनको भनाइ छ । ‘संख्या बढ्दै गएकाले सरुवा रोग फैलन जोखिमसमेत छ, यसबारे सम्बन्धित निकायले समयमै ध्यान पुर्‍याउन आवश्यक छ,’ उनले भने, ‘अन्य समस्या जे जस्तो भए पनि मिलेर त्यसलाई सहज रूपमा स्वीकारिरहेका छौं ।’ कैदी बढेकोले फोहर पनि बढ्दै गएको उनको भनाइ छ ।


पुराना घटनाका फरार अपराधीलाई प्रहरीले धमाधम पक्राउ गरी जेल चलान गरेपछि कैदीको संख्या ह्वात्तै बढेको जेलर बिक्रम केसीले बताए । बढी भएका कैदीलाई बाहिर सरुवा गर्न खोज्दा माथिल्ला निकायले बेवास्ता गरिरहेको उनले गुनासो पोखे । उनका अनुसार तलावाला १० वटा खाट राखेपछि सुत्नलाई सजिलो भएको थियो ।


यसअघि २० जनाको सरुवासमेत गरिएको उनले जनाए । ‘कैदी थपिंदै गएपछि फेरि समस्या हुन थालेको छ,’ उनले भने, ‘ठाउँको अभावमा तलावाला खाट थप्न पनि समस्या छ ।’ नयाँ भवन निर्माणको लागि सरकारले एक करोड रुपैयाँ बिनियोजन गरे पनि जग्गा पर्याप्त नभएकाले निर्माण गर्न नसकिएको उनले जानकारी दिए । जेलको रुपमा प्रयोग गरिएको भवन तत्कालीन राजा रजौटाले घोडा बाँध्न प्रयोग गरिएको तबेला हो । तबेला १९१० सालमा बनाएको अनुमान छ ।

प्रकाशित : फाल्गुन ३, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?