१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पुनर्निर्माणको काम ठप्प

कान्तिपुर संवाददाता

लमजुङ — राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थानीय तहमा खटाएका प्राविधिक इन्जिनियर बिहीबारदेखि कामबाज ठप्प पारेर सदरमुकाम केन्द्रीत भएका छन् । 

पुनर्निर्माणको काम ठप्प

आफ्ना मागबारे फागुन १ सम्म सम्बोधन गर्न गत दुई साताअघि अल्टिमेटम दिएका उनीहरूले प्राधिकरण सकरात्मक नभएको भन्दै कामकाज ठप्प पारेका हुन् । प्राधिकरणले तलबका अतिरिक्त कुनै पनि सुविधा नदिएको भन्दै आन्दोलनरत उनीहरूले राष्ट्रिय पुनर्निर्माण प्राविधिक हकहित संरक्षण तदर्थ समिति गठन गरेर आन्दोलन थालेका छन् ।


अल्टिमेटम दिँदा पनि मागबारे सुनुवाइ नभएपछि बाध्यताले कामकाज ठप्प बनाउनु परेको समितिका अध्यक्ष अनोज चिलुवालले बताए । उनका अनुसार आफ्ना माग र आन्दोलनबारे प्रमुख जिल्ला अधिकारीमार्फत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई जानकारी गराएको छ ।


प्राविधिक इन्जिनियरले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी माग तत्काल सम्बोधन गर्न माग गरेका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) लमजुङअन्तर्गत सवै प्राविधिक इन्जिनियरहरू अर्को निर्णय नभइन्जेल सम्म कामकाज ठप्प (पेन डाउन) पार्न बाध्य भएको उनीहरूले बताएका छन् । समितिका सचिव मुस्कान घिमिरेले पटक–पटक जानकारी गराउँदै माग गर्दा पनि सुनुवाइ नभएकाले आन्दोलन गर्नुपरेको बताए । ‘हाम्रो आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं राष्ट्रिय पुनर्निर्माण प्राधिकरण हुनेछ,’ उनले भने ।


निजी आवास पुनर्निर्माणमा खटिएका प्राविधिकले फिल्ड भत्ता लगायतको माग गर्दै आन्दोलन थालेका हुन् । चालु आर्थिक वर्षको ७ महिना वितिसक्दा पनि भौगोलिक र प्रोत्साहन भत्ता नदिएको भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मासिक रूपमा तत्काल उपलब्ध गराउनुपर्ने माग उनीहरूले राखेका छन् ।


प्राधिकरणले पुनर्निर्माणका लागि फिल्डमा खटिएका प्राविधिकले गएका वर्षमा पाउँदै आएको फिल्ड भत्ता चालु आर्थिक वर्षमा कटौती गरेको थियो । उनीहरूले फिल्डमा खटिँदा भैपरी आउने सम्भावनालाई ख्याल गरी प्राविधिकको स्वास्थ्य र दुर्घटना बिमा गर्न माग गरेका छन् । प्रविधिकलाई गाउँमा सहज तरिकाले बस्ने व्यवस्था र सुरक्षाको प्रत्याभूति गराउन, पुनर्निर्माण प्राधिकरणबाट स्थानीय तहमा रहेर कार्य गरिरहेका प्राविधिकको स्थायित्व र निरन्तरताको व्यवस्थापन गर्न उनीहरूले माग गरेका छन् ।

प्रकाशित : फाल्गुन ३, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?