१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

आकर्षण चिनो र कागुनोमा

राजबहादुर शाही

मुगु — पौष्टिक तत्त्वका रूपमा लाभदायक मानिने रैथाने बाली चिनो र कागुनोको उत्पादन घट्दै गए पनि पछिल्लो समय स्थानीयमा यसप्रति आकर्षण बढ्दो छ । यो अनाज पोसिलो र फारु हुने भएकाले पनि यसप्रति स्थानीयको मोह घटेको छैन ।

आकर्षण चिनो र कागुनोमा

चिनो र कागुनो मुगु जिल्लाभर फल्छ । लेकदेखि बेंसीसम्म यो अन्न पाइन्छ । यसमा प्रोटिन, खनिज, भिटामिनजस्ता पदार्थ पाइने जानकारहरू बताउँछन् । ‘एक माना चामलको भात पकाउँदा तीनजना अघाउँछन्, चिनो र कागुनको एक माना भातले भने चार–पाँचजना अघाउँछन्,’ सोरु गाउँका स्थानीय मागे कामीले भने, ‘त्यसमाथि यसको भात पोसिलो पनि हुन्छ ।’ दही, दूध र मासको दालमा चिनो र कागुनोको भात अत्यन्तै स्वादिलो हुने उनले बताए ।


स्थानीय स्वास्थ्यकर्मी मञ्जन शाही कागुनोमा हाडजोर्नी र श्वासप्रश्वाससम्बन्धी समस्यालाई कम गर्ने तत्त्व रहने बताउँछन् । चिनोको भात दैनिक सेवन गर्दा मधुमेह, पत्थरी, कपाल झर्ने, मुटु दुख्ने, टणउको दुख्ने समस्या पनि न्यून हुने उनको भनाइ छ । गाउँमा समेत सेतो चामलमा परनिर्भरता बढेपछि चिनो र कागुनो लोप हुने हो कि भन्ने जोखिम बढ्दो छ । त्यसैले स्थानीयले यसको संरक्षण र प्रयोगमा जोड दिन थालेका कामी बताउँछन् ।


जेठ–असारमा लगाएर कात्तिकमा टिपिने चिनो सेतो र पहेँलो गरी दुई प्रकारका हुन्छन् । यो थोरै चिस्यान हुने रुखो र भिरालो जग्गामा उत्पादन हुन्छ । यसलाई वर्षौंसम्म भण्डारण गर्दा पनि बिगिँ्रदैन । कागुनो चार जातमा पाइन्छ । प्याँले, तिलखुडे, सेतो र रातो कागुनोका जात हुन् । जलवायु परिवर्तनले अन्य रैथाने बालीलाई असर परे पनि कागुनोलाई यसले खासै प्रभाव पार्न सकेको छैन । योगगुरु जयबहादुर मल्ल चिनो र कागुनो खाएकै कारण पुर्खा बलियो र हृष्टपुष्ट भएको बताउँछन् ।


सन् १९८१ देखि १९८५ को अवधिमा विश्वभर चिनोको औसत वार्षिक उत्पादन दर ५१ लाख मेट्रिक टन र कागुनोको ५४ लाख मेट्रिक टन थियो । मुगुमा भने चिनो र कागुनो ३१ प्रतिशतमात्र उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र प्रमुख गोविन्द सिजापति बताउँछन् । यी जातका अन्नबाली संरक्षण गर्न जनजचेतनाको खाँचो रहेको उनी बताउँछन् ।

प्रकाशित : फाल्गुन ४, २०७५ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?