१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गुच्चीच्याउ टिप्ने चटारो

राजबहादुर शाही

मुगु — जिल्लाका ग्रामीण भेकका बासिन्दाले गुच्ची च्याउ टिप्ने तयारी थालेका छन् । स्थानीय जंगलमा पाइने गुच्चीच्याउ फागुन दोस्रो सातादेखि टिप्ने गरिन्छ । 

गुच्चीच्याउ टिप्ने चटारो

यो वर्ष भारी हिमपात र अधिक वर्षा भएकाले गुच्चीच्याउको उत्पादन पनि राम्रो भएको स्थानीय बताउँछन् । ‘जंगलमा च्याउ टिप्ने तयारीमा छौं,’ छायानाथरारा नगरपालिका ७ की लक्ष्मी बमले भनिन्, ‘च्याउ नटिपे वर्षभरिको खर्च धान्न मुस्किल हुन्छ, त्यसैले यसलाई हामीले आयआर्जनको मुख्य स्रोत बनाएका छौं ।’ च्याउ टिप्न बिहानै जंगलमा जानुपर्ने र साँझ मात्र फर्किने भएकाले पहिले नै खानपिनको व्यवस्था गर्नुपर्ने उनले सुनाइन् ।


स्थानीय बजारमा गुच्ची च्याउको मूल्य प्रतिकिलो १२ हजारदेखि १६ हजारसम्म पर्छ । केही व्यापारीले प्रतिगोटा ७ रुपैयाँमा च्याउ किन्ने गरेका छन् । जिल्लाको खत्याड, सोरु, मुगमकार्मारोङ गाउँपालिका र छायानाथ रारा नगरपालिकाका अधिकांश जंगलमा गुच्चीच्याउ पाइन्छ । बेंसीतिर उम्रिने गुच्चीच्याउ पहेलो हुने र लेकमा उम्रने च्याउ कालो हुन्छ ।


बेंसीका जंगलमा गुच्ची च्याउ उम्रने समय भइसकेको सोरु गाउँपालिका कच्चेका कलबहादुर कार्कीले बताए । उनका अनुसार च्याउ टिप्ने समयमा गाउँमा वृद्ध र नसक्ने व्यक्ति मात्र बस्छन् । बालबालिकासमेत पढाइ छाडेर गुच्चीच्याउ टिप्न जाने गरेका छन् । च्याउको सिजनका बेला गाउँबस्ती सुनसान हुन्छ । निगालो, पिपल, उन्यु बढी भएको जंगलमा गुच्चीच्याउ बढी उम्रिन्छ । उनका अनुसार उम्रेको २ दिनसम्म नटिपे कुहिने, वन्यजन्तु र चराले खाने गर्छ ।


सोरु गाउँपालिकाको रुम, रारा गिलाहा, धैनकोट, कालै, फोतु नेर, नार्थपु, खत्याड गाउँपालिकाको खमाले, गम्था, निगालबोट, तथा मुगमकार्मारोङ गाउँपालिकाको चितै, माग्री, पापुलगायत गाउँका जंगलमा च्याउ बढी पाइन्छ । छायाँनाथरारा नगरपालिकाको रोवा, बाम, पिना, मुन्दु, कोटिला, झयारीका जंगलमा च्याउ बढी उम्रिने गरेको स्थानीय बताउँछन् ।


स्थानीय व्यावसायी जनक शाहीका अनुसार हिमपात र झरी परेको वर्ष धेरै गुच्चीच्याउ उम्रने गरेको छ । फागुनदेखि वैशाख दोस्रो सातासम्म स्थानीयले जंगलबाट च्याउ संकलन गर्छन । उनका अनुसार व्यवसायीले गाउँमै पुगेर च्याउ संकलन गर्छन् । उनले जिल्लामा करिब २० क्विन्टल बढी गुच्चीच्याउ पाइने गरेको जानकारी दिए ।


जिल्लामा उत्पादित गुच्चीच्याउ सडक र हवाई मार्गबाट नेपालगन्ज हुँदै भारत निर्यात हुने गरेको उनले सुनाए । केही च्याउ काठमाडौंलगायत सहरमा जाने गरेको उनी बताउँछन् ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?