कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

जुस बेचेर मनग्गे आम्दानी

राजबहादुर शाही

मुगु — छायाँनाथ–रारा नगरपालिका ८, टोप्लाका हरिकृष्ण बिष्टले रारा जुस उद्योग खोलेर राम्रो आम्दानी गर्न थालेका छन् । जंगलमा पाइने विभिन्न जडीबुटीबाट जुस उत्पादन गरी बिक्री गरेर उनले मनग्गे आम्दानी गरिरहेका हुन् । 

जंगलमा खेर गएका जंगली झारपात र जडीबुटी संकलन गरी स्वास्थ्यबद्र्धक जुस उत्पादन गर्न थालेपछि उनको जीवनस्तरमा परिवर्तन आएको छ ।

सुरुमा डाले चुकको जुसबाट व्यवसाय गरेका विष्टले पछिल्लो समयमा लालीगुराँस र स्याउको जुस, जामजेलीलगायत उत्पादन गर्दै आएका छन् । सुरुमा आफूलाई चुक बेचेर खाने भन्दै स्थानीयले कुरा काट्ने गरे पनि अहिले सबैले प्रसंसा गर्न थालेको उनको भनाइ छ ।

अहिले व्यवसाय फस्टाउँदै गएपछि व्यवसायमा उत्साह थपिएको उनको भनाइ छ । आफूले उत्पादन गरेको जुस जिल्लाभित्र सहज बिक्री गरेको उनले जानकारी दिए । रारा आउने पर्यटकले खोजीखोजी जुस लिने गरेको उनी बताउँछन् ।

मागअनुसार सुर्खेत, नेपालगन्ज, पोखरा, बुटवल काठमाडौंसम्म जुस पठाउने गरेको बिष्टले जनाए । ‘व्यवसायबाट आत्मनिर्भर बन्न सफल भएको छु । केही समय गैरसरकारी संस्थामा जागिर खाएँ तर सोचेजस्तो प्रगति भएन,’ उनले भने, ‘अहिले आफ्नै व्यवसायबाट आत्मसन्तुष्टि र सम्मान प्राप्त गरेको छु ।’

उनले जुस उत्पादनकै माध्यमबाट उनले चीन, भारत तथा छिमेकी जिल्ला भ्रमण गर्ने अवसर पनि पाएको बताए । जुस उत्पादनसम्बन्धी तालिम दिन उनी विभिन्न जिल्लामा जाने गरेका छन् । जंगली जडीबुटीबाट जुस उत्पादन गरेर वार्षिक १२ लाखसम्म आम्दानी हुने गरेको बिष्टले बताए ।

‘विभिन्न किसिमका जुस उत्पादन गर्छौ घरमै बसीबसी वार्षिक हिसाब गर्दा १२ लाखभन्दा माथि नै आम्दानी हुने गरेको छ,’ उनले भने, ‘मिहिनेत र इच्छाशक्ति भए गाउँघरमै बसेर राम्रो आम्दानी गर्न सकिन्छ ।’

बिष्टले काम नपाएर भौतारिँदै हिंड्ने युवालाई उद्यमको खोजी गर्न आग्रह गरेका छन् । स्थानीय स्तरमा विभिन्न स्रोत भएकाले विदेश जानुपर्ने बाध्यता नभएको उनको भनाइ छ ।

स्थानीय स्तरमा पाइने जडीबुटी, सिस्नोको पाउडर, जडीबुटी चिया, आलु सिमीका विभिन्न परिकारले युवालाई व्यवसाय गरेर आत्मनिर्भर बनाउन सकिने उनको सुझाव छ ।

प्रकाशित : फाल्गुन ६, २०७५ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?