तरकारी खेतीमा पूर्वलडाकु

एलपी देवकोटा

जुम्ला — तिला गाउँपालिका २, लिहीका ३५ वर्षीय नन्दु बोहरालाई सशस्त्र युद्धपछि घर फर्कंदा बिहान–बेलुकाको छाक कसरी टार्ने भन्ने चिन्ताले सताउँथ्यो ।

तरकारी खेतीमा पूर्वलडाकु

उनी केही समय बेरोजगार बने तर अहिले आफ्नै तरकारी व्यवसायमा रमाइरहेका छन् । तरकारी खेतीबाट अहिले उनको वार्षिक आम्दानी ३ लाख रुपैयाँ छ ।


२०६० मा उनी बाध्यताले तत्कालीन माओवादी विद्रोहमा सहभागी भएका थिए । शान्तिप्रक्रियापछि गाउँ फर्केका उनले स्थानीय सामुदायिक समूहबाट व्यावसायिक तरकारी खेतीको तालिमसमेत लिए ।


पहिलो वर्ष ५ सय रुपैयाँ लगानी गरी व्यावसायिक तरकारी खेतीमा हात हालेका उनले अहिले जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आइरहेका छन् । उनको बारीमा अहिले मौसमी तथा बेमौसमी तरकारी लटरम्म फलेको देख्न देखिन्छ ।


घरकै जनशक्तिलाई व्यावसायिक तरकारी खेतीमा लगाएको उनी बताउँछन् । ‘तरकारी बेच्न जिल्लाभित्रका विभिन्न बजार र छिमेकी जिल्ला कालिकोटसम्म पुग्ने गरेको छु,’ उनले भने, ‘क्रमश: व्यवसायलाई विस्तार गर्दै लैजाने सोचाइमा छु ।’ उनले बारीमै २ सय स्याउका बिरुवासमेत लगाएका छन् ।


तरकारी खेतीबाटै आएको आम्दानीले ३ छोरा र पत्नीलाई राम्ररी पाल्न सकेको उनी बताउँछन् । उनले घर खर्च र छोराको पढाइ खर्चसमेत तरकारी खेतिबाटै आम्दानी हुने गरेको जनाए । उनका अनुसार ३ छोराको पढाइमा वार्षिक ४० हजार रुपैयाँसम्म खर्च हुने गरेको छ । ‘युद्धमा हुँदा एक मनले सोच्थें, मेरो अब धेरै आयु छैन, मुत्युलाई नै प्यारो मानेर लडाइँमा आए,’ उनले भने, ‘अब कुनै सुखको दिन हेर्न पाइँदैनजस्तो लाग्थ्यो, अहिले तरकारी खेतीले सुखी र सन्तुष्टि बनाएको छ ।’


पेस नेपालले बीउ सहयोग गरेपछि तरकारी खेतीमा होमिएको उनको भनाइ छ । तरकारी व्यवसायमा लागेपछि उनी उदाहरणीय बनेको स्थानीय राज्य बोहराले बताए । जग्गा तथा सिँचाइको अनुकूलता भए पनि खेती नगर्ने र बेरोजगार बस्ने युवालाई उनको व्यवसायले प्रेरणा प्रदान गरेको उनको भनाइ छ ।

प्रकाशित : फाल्गुन ६, २०७५ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?