गाउँपालिका केन्द्र बिजुलीविहीन

कान्तिपुर संवाददाता

सल्यान — एक महिनाअघि मात्रै कुमाख गाउँपालिकामा पहिलो पटक बिजुली पुग्यो । १ करोड बढी रकम खर्च गरी गाउँपालिकाले चौरजहारी क्षेत्रबाट लाइन बिस्तार गरी गाउँपालिकाको केन्द्र रागेचौरमा बिजुली बालियो ।

तर, बिजुली पुगेको केही दिन नपुग्दै ट्रान्समिटर जडानमा समस्या भएपछि रागेचौरबासी एक सातादेखि बत्ती बाल्नबाट बञ्चित भएका छन् ।


बत्ती नहुँदा स्थानीय अँध्यारोमा बस्न बाध्य छन् भने स्थानीय तह र विषयगत कार्यालयलाई पनि कार्य सम्पादनमा कठिनाइ भएको छ । बत्ती नहुँदा अहिले सल्ले झर्को, सोलार र टुकी बाल्नुपर्ने अवस्था आएको स्थानीय दिलबहादुर रावतले बताए । स्थानीय तहमा बिजुली आएपछि १५ घरधुरीले लाइन जडान गरी बत्ती बाल्दै आएका थिए ।


अन्यले लाइन जडान गर्ने तयारी गरिरहेको बेला बत्ती नहुँदा समस्या भएको स्थानीय मीनबहादुर चन्दले बताए । पहिलोपटक स्थानीय तहको केन्द्रमा पुगेको बिजुली बत्तीलाई व्यवस्थित गर्न उनले आग्रह गरे । ‘पहिलोपल्ट बत्ती बल्दा धेरै राहतको महसुस गरिएको थियो,’ उनले भने, ‘प्राविधिक समस्याका कारण फेरि निराश हुनुपरेको छ ।’


कुमाख गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोद अधिकारीले चौरजहारीबाट जाजरकोटतर्फको लाइन जडानमा समस्या आएपछि विद्युत् आपूर्ति बन्द भएको बताए । उनले गाउँपालिकामा सोलार जडान गरेकाले कामकाजमा समस्या नभए पनि बिजुलीजस्तै भरपर्दो नभएको जनाए । रागेचौरमा पहिलोपटक बत्ती बलेपछि यो वर्ष २ वडामा लाइन विस्तारका लागि ७४ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

प्रकाशित : फाल्गुन ७, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?