कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

प्रयोगमा नआउँदै भत्कियो सिँचाइ योजना

सिँचाइ कुलो मर्मतका लागि बारम्बार माग गर्दै आए पनि सरकारी निकायद्वारा बेवास्ता
विप्लव महर्जन

सल्यान — कुमाख गाउँपालिकास्थित कालागाउँ–थदरा–कोर्ती सिँचाइ योजना प्रयोगमै नआई भत्किएको छ । २०६४ सालमा सिँचाइ डिभिजन कार्यालयले ४ करोड रुपैयाँमा निर्माण गरेको सिँचाइ योजना प्रयोगमै नआई भत्किएको हो ।

प्रयोगमा नआउँदै भत्कियो सिँचाइ योजना

योजना अलपत्र परेपछि थदरा र कोर्तीका ५ सय परिवार प्रभावित भएका छन् ।


सिँचाइ गर्न नपाउँदा करिब ४ सय हेक्टर जमिन बाँझो भएको छ । कालागाउँको त्रिवेणी खोलाबाट पानी ल्याउने गरी योजना सुरु गरिएको थियो । ३ किमि लामो योजनाको २ किमि जतिमा काम भएको थदराका प्रेम बुढाथोकीले बताए । उनका अनुसार केही वर्ष रकम विनियोजन भएर राम्रो काम भए पनि पछि बजेट आउन छोडेपछि सिँचाइ अलपत्र परेको हो । ‘सिँचाइ कुलो निर्माण गरेपछि २ महिनामात्रै पानी सञ्चालनमा आएको थियो,’ उनले भने, ‘त्यसपछि खोला र पहिरोले पुरिएको र सम्बन्धित निकायले चासो नदिएपछि योजना तहसनहस भयो ।’


३ किमि टाढाबाट सिँचाइ कुलो आउन थालेपछि खुसी भएका थदरावासी किसान अहिले धानबाली लगाउन मिल्ने जग्गामा मकै लगाउन बाध्य भएको स्थानीय दिलबहादुर थापाले बताए । हिउँदमा लामो समय वर्षात् नभएकाले अहिले धेरै खेत बाँझै रहेको उनको भनाइ छ । केही समयअघि वर्षा भएपछि ती जग्गामा अहिले तोरी लगाएको उनले जानकारी दिए ।


उनका अनुसार सम्बन्धित निकाय र ठेकेदारको लापरबाहीका कारण सम्पन्न भएको एक वर्ष नबित्दै योजना लथालिंग भएको हो । ‘निर्माण सम्पन्न भएको अहिले १० वर्ष भयो, केही ठाउँमा मात्र कुलोको लाइन देख्न सकिन्छ,’ उनले भने, ‘धेरैजसो भाग पुरिइसकेको छ ।’


तीन बाली लगाउन सकिने खेतीयोग्य जग्गामा अहिले मुस्किलले दुई बाली लगाउन सकिने स्थानीय किसान दीपेन्द्र खड्का बताउँछन् । सिँचाइ योजना सम्पन्न भएपछि एक पटक मात्र धानबाली लगाउन पाएको उनले जनाए । ‘सिँचाइ सुविधा भए आफ्नो जग्गामा उत्पादित खाद्यान्नले वर्षभरि खान पुग्थ्यो,’ उनले भने, ‘राम्रोसँग बाली लगाउन नपाइने हुँदा परिवार पाल्न रोजगारीको लागि भारतका विभिन्न ठाउँमा जानुपर्ने बाध्यता छ । खेतीयोग्य जग्गा भए पनि सिँचाइ नहुँदा किनेर खानुपर्छ ।’ सिँचाइ कुलो मर्मतका लागि बारम्बार माग गर्दै आए पनि सरकारी निकायले बेवास्ता गरेको उनको गुनासो छ ।


स्थानीय भैरवबहादुर शाहले ३ किमि लम्बाइ रहेको सिँचाइ कुलोमा ४ ठेकेदार मिलेर काम गरेको बताए । त्यो पनि कच्ची रहेको उनले जानकारी गराए । उनका अनुसार कुलो निर्माण गरेपछि कोर्तीका किसानले ३ महिना मात्र सिँचाइको सुविधा पाएका थिए । योजना तहसनहस हुँदा उक्त क्षेत्रका मात्रै २ सय हेक्टर खेतबारीमा सिँचाइ गर्न पाएका थिए । थदरातिरका किसानले प्रयोग गर्नै पाएनन् । सिँचाइ कुलो निर्माणका नाममा सरकारी रकमको दुरुपयोग भएको उनको आरोप छ ।


‘लामो दूरीको सिँचाइ कुलो निर्माण नगरौं, बरु थदरा, कोर्तीतिरका स्थानीय किसानलाई लिफ्ट प्रयोग गरेर भेरीको पानी तानेर सिँचाइको व्यवस्था मिलाऔं भन्दा कार्यालयका कसैले मानेनन् । त्यसको परिणाम हो यो,’ शाहले भने, ‘न सरकारी रकमको सदुपयोग भयो न किसानले खेतबारीमा सिँचाइ गर्न पाए । उनीहरूले राहतको महसुस समेत गर्न पाएनन ।’ कालागाउँमा मात्र नभइ जिल्लाका १० स्थानीय तहमा दर्जन भन्दा बढी मझौला सिँचाइ योजना ठेकेदार र सम्बन्धित निकायको लापरबाहीका कारण अलपत्र परेका उनको भनाइ छ ।


थदरा र कोर्तीका स्थानीय किसानलाई खेतीयोग्य जग्गामा सिँचाइ गराउन ठूलो आयोजना निर्माण गर्ने सम्भावना नरहे पनि साना सिँचाइ कुलो निर्माण, मर्मतमा सहयोग गरेको कुमाख गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोद अधिकारीले बताए ।


१० वर्षअघि निर्माण गरेको सिँचाइ कुलो योजना तहसनहस भएपछि अहिले पुनर्निर्माण सम्बन्धमा कुनै बजेट नपरेको सिँचाइ डिभिजन कार्यालयले जनाएको छ । सदरमुकामभन्दा टाढा भएको र अहिलेजस्तो गाडी आउजाउ गर्ने सडक नभएकाले त्यो बेला अनुगमनमा समस्या भएकाले पनि सोचेअनुसार काम नभएको हुनसक्ने डिभिजन कार्यालय सल्यानका प्रमुख शिवनन्दन प्रसाद झाले बताए ।

प्रकाशित : फाल्गुन ७, २०७५ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?