कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

बंगुरपालनमा युवा

कान्तिपुर संवाददाता

सल्यान — कपुरकोट गाउँपालिका ३ का भक्तबहादुर घर्तीलाई केही वर्ष अघिसम्म जीविकोपार्जनका लागि हम्मेहम्मे थियो । परिवारको समस्या समाधान गर्न उनले तरकारी तथा फलफूल पसल सुरु गरे । त्यसबाट उनलाई घाटा लाग्यो । तीनवर्ष अघिदेखि उनले थालेको बंगुरपालन व्यवसाय भने फस्टाउँदै गएको छ । उनले व्यवसायबाट मासिक ७५ हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । 

बंगुरपालन व्यवसायमा लागेपछि परिवार पाल्न उनलाई सहज भएको छ । बंगुरपालनकै कमाइले उनले छोराछोरीलाई राम्रो विद्यालयमा पढाउँदै आएका छन् । बंगुरको माग बढ्नुका साथै राम्रो मुल्य पाउन थालेपछि उनले ०७२ सालदेखि व्यावसायिक रुपमा बंगुरपालन ब्यबसाय सुरु गरेका हुन् । बिगतमा जीविकोपार्जनमा धेरै कठिनाई भएका उनले हिजोआज बंगुरपालन ब्यबसायमा लागेपछि सहज बनेको बताए ।


उनका अनुसार सुरुवातमा २० हजार लगानी गरेर २ बंगुर पालिएको हो । अहिले डिग्रो, धरानी, पोख्रेली तथा स्थानीय जातका ६० वटा बंगुर छन । उनले पाठापाठी र बयस्क बंगुर बिक्री गर्ने मात्र नभइ आफैले प्रत्येक मंगलबार र शुक्रबार कपुरकोट बजारमा काटेर मासु बिक्री गर्ने गरेका छन् । स्थानीय बजारमा प्रतिकिलो दुई सय ७० रुपैयाँमा मासु बिक्री हुँदै आएको उनको भनाइ छ ।


तरकारी तथा फलफूल पसलबाट निस्केको सडेगलेको बस्तुलाई सदुपयोग गर्दै बंगुरलाई खुवाउने गरेको उनको भनाइ छ । होटलबाट निस्केको जुठोपिठोलाई समेत दानाको रुपमा प्रयोग गर्दै आएको उनी बताउँछन् । ‘फोहर बढी गर्ने भएकाले पहिला बंगुरपालन गर्न कठिनाइ भएको थियो,’ उनले भने, ‘अहिले बानी परेको छु । सरसफाइका लागि पन्जा प्रयोग गर्दै आइरहेको छु ।’ बंगुरको पाठापाठी तीन हजारदेखि चार हजार सम्ममा बिक्री गर्दै आएका उनले गत वर्षमात्रै २० वटा पाठापाठी बिक्रि गरेको जानकारी गराए ।


‘अझै व्यबसायलाई बिस्तार र ब्यबस्थित गर्ने सोच बनाइरहेको छु,’ उनले भने, ‘पशु सेवा कार्यालयले गत वर्ष खोर सुधारका लागि ५० हजार र बजारीकरणका लागि ४० हजार रुपैयाँ सहयोग गरेपछि थप हौसला मिलेको छ ।’ पशु विज्ञ केन्द्रका प्रमुख टेकनाथ आचार्यले बंगरपालन ब्यबसायबाट जिल्लाका धेरै किसान आत्मनिर्भर बन्दै गएको बताए । आयआर्जनका लागि राम्रो माध्यम बंगुरपालन व्यवसाय भएको उनको भनाइ छ । सुरुवातमा यो व्यबसाय बजारको अभावमा फस्टाउन नसके पनि अहिले श्रीनगर, लान्ती र काभ्राका किसानले पाल्दै आएको उनको भनाइ छ ।

प्रकाशित : फाल्गुन ८, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?