२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

खेल्दै सिक्दै

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — ६ वर्षीया पूजा पुनमगर कक्षा १ की विद्यार्थी हुन् । उनी नेपाली अक्षर फर्रर पढ्न सक्छिन् । आफ्नो किताबको कुनै पनि पृष्ठका अक्षर पढ्न उनलाई गाह्रो लाग्दैन । योगमाया विष्ट पनि कक्षा १ कै विद्यार्थी हुन् । ७ वर्षीया विष्ट पनि फर्रर पढ्न सक्छिन् । नेपाली अक्षर पढ्न उनी कत्ति अन्कनाउँदिनन् । 

खेल्दै सिक्दै

पुन विष्ट मात्रै होइन, शिक्षकले पढ भन्नेबित्तिकै बिनाकुनै हिचकिचावट कक्षा १ का ५० प्रतिशत विद्यार्थीले त्यसरी नै पढ्न सक्छन् । सानीभेरी गाउँपालिका ३, ज्यामिरेस्थित आधारभूत विद्यालयको कक्षा १ मा पुन र विष्टसहित १२ जना विद्यार्थी छन् । जसमा ६ जनाले फर्रर अक्षर पढ्न सक्छन् ।


बाँकी ६ जनाले पनि सकिनसकी भए पनि नेपाली अक्षर पढ्न सक्ने विद्यालयले जनाएको छ । यो सबै सम्भव सजिलै भएको भने होइन । विद्यालयले पछिल्लो पटक सुरु गरेको अध्यापन विधिले यो सम्भव भएको हो । पछिल्लोपटक विद्यालयले बाल शिक्षादेखि ५ कक्षासम्म नै शैक्षिक सामग्रीको आधारमा पठनपाठन गराउने गरेको छ । विशेषगरी प्रारम्भिक कक्षा (१ देखि ३) शैक्षिक सामग्रीमय छन् ।


कक्षा मात्रै शैक्षिक सामग्रीमय मात्रै छैनन् शिक्षण विधि पनि फेरिएको छ । हरेक शिक्षकले खेलेर, खेलाएर, गीत गाएर पढाउँछन् । ‘यस्तो गर्दा विद्यार्थी सजिलै सिक्ने रहेछन्,’ शिक्षक इन्द्रलाल शर्माले भने, ‘पछिल्लो पटक हामीले परिवर्तन गरेको शिक्षण विधिले धेरै विद्यार्थीले सजिलै बुझ्न र पढ्न सक्ने भएका छन् ।’ परम्परागत शिक्षण विधिबाट पठनपाठन गराउँदा विद्यार्थीले पढ्नमा समेत रुचि नगर्ने भएपछि फरक शैली र विधिबाट पठनपाठन थालिएको शिक्षक शर्माले बताए ।


विद्यालयले बाल शिक्षादेखि ३ कक्षासम्म बुक कर्नर, अक्षर गोटी, शब्दपत्ति, फ्यालेपत्ति राखिएको छ । त्यसकै माध्यमबाट शिक्षकले पढाउँछन् भने विद्यार्थी पनि खेल्दै सिक्ने गरेका छन् । विशेषगरी ध्वनि सचेतना मात्रै दिन सकेपछि विद्यार्थीले सहजै सिक्ने सक्ने अनुभव भएको शिक्षक शर्माले बताए ।


शब्द, पत्ति, अक्षर गोटी खेल्दै विद्यार्थीले सिक्ने गरेका छन् । हरेक कक्षाकोठाको नीति विधि निर्माणदेखि लिएर कार्यान्वयन पनि विद्यार्थीले नै गर्ने गरेका छन् । यसबाट पनि विद्यार्थीले सहजै सिक्न सकेको शिक्षकको भनाइ छ । यसको साथै कक्षाकोठामा घरायसी उत्पादनबाटै शैक्षिक सामग्री निर्माण गरिएको छ । एक पटक प्रयोग भइसकेका चीजवस्तुको उपयोग गरेर शैक्षिक सामग्री निर्माण गरिएको छ ।


घरमा पाइने गेडागुडीलाई पनि शैक्षिक सामग्रीका रूपमा प्रयोग गरेर पठनपाठन थालिएको प्रधानाध्यापक पुष्कर गौतमले बताए । उनले विद्यार्थीलाई सजिलै सिकाउन र रहरै रहरमा सिकाउन स्थानीयस्तरमा पाइने सामग्रीबाट तयार पारिएका शैक्षिक सामग्रीले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका बताए ।

प्रकाशित : फाल्गुन ८, २०७५ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?