पुरस्कारले भलिबलमा आकर्षण

हरि गौतम

रुकुम पश्चिम — आठबीसकोट नगरपालिका ११, स्थित चिसापानीमा गत मंसिर १६ देखि १९ गतेसम्म सञ्चालन भएको चिसापानी मेलामा खुला भलिबल प्रतियोगिता आयोजना गरियो ।

पुरस्कारले भलिबलमा आकर्षण

उक्त प्रतियोगिताको विजेताले १ लाख ३० हजार नगद हात पार्‍यो । त्यसको केही दिनअघि आठबीसकोट नगरपालिका ९, राडीस्थित चौतारा मेलामा आयोजित भलिबल प्रतियोगिताको विजेताले १ लाख १० हजार नगद पाएको थियो ।


त्यस्तै गत मंसिर ५ गते सकिएको सानीभेरी गाउँपालिका ३ को बेलटापु मेलाका अवसरमा आयोजित भलिबल प्रतियोगिताको विजेताले १ लाख १ हजार नगद हात पार्‍यो । भलिबल प्रतियोगिताका आयोजकले विजेतालाई मात्रै ठूलो राशिको पुरस्कार दिँदैनन् ।


उपविजेतालाई पनि ठूलै राशिको पुरस्कार दिंदै आएका छन् । चिसापानी र चौतारा मेलाका उपविजेताले ८० हजार नगद हात पारे । पछिल्ला केही वर्ष जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने भलिबल प्रतियोगिता ५० हजारभन्दा कम राशि पुरस्कारका विरलै मात्रै आयोजना गरिन्छन् ।


जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने मेला महोत्सवको एउटा मुख्य आकर्षण भलिबल खेल हुन्छ । अधिकांश ठाउँमा महिला र पुरुष भलिबल प्रतियोगिता भइरहन्छन् भने पुरुष भलिबल प्रतियोगिता कुनै पनि मेला महोत्सवमा छुट्दैन । स्थानीय सरकार र सम्बन्धित मेला वा महोत्सवका आयोजकबीच पछिल्लो समय भलिबल प्रतियोगिताका लागि साझेदारी हुँदै आएको छ ।


स्थानीय सरकारले पनि भलिबल खेललाई महत्त्वका साथ लिएका छन् । ‘जिल्लामा भलिबललाई राम्रो अवसर दिइएको छ,’ भलिबल रेफ्री सुधीरविक्रम शाह भन्छन्, ‘भलिबल खेल र खेलाडीका लागि जति राम्रो अबसर छ त्यत्तिकै खेलको विकास हुन भने सकेको छैन ।’ उनले राम्रो खेल्नेका लागि जिल्लामै धेरै अवसर सिर्जना भइरहेको बताए । उनका अनुसार राम्रो खेल्नेका लागि जिल्लामा प्रचुर सम्भावना देखिन्छ ।


पुरस्कार राशि बढी हुनुका साथै प्रतियोगिता पनि धेरै हुन थालेपछि बाहिरबाट समेत खेलाडी ल्याउन थालिएको छ । कतिपय अवस्थामा त एउटा संस्थाले खेलाडी किनेर प्रतियोगितामा सहभागी गराइरहेका छन् । १ लाख १० हजार पुरस्कार राशि भएको चौतारा मेलाको भलिबल यामाहा शोरुमले जितेको थियो ।


जिल्ला भित्र र बाहिरका खेलाडी किनेर उसले प्रतियोगिता जित्यो । बेलटापु मेलाको १ लाख १ हजार पुरस्कार जितेको सानीभेरी एकेडेमी पनि सबै खेलाडी किनेरै प्रतियोगितामा सहभागी भएको थियो ।


प्रतियोगिता जित्नका लागि खेलाडी किन्ने अवस्था आएको डाँफेमुनाल युवा क्लबका अध्यक्ष नरेश पुन मगरले बताए । ‘पुरस्कारको राशि बढ्दै गएको छ,’ पुनले भने, ‘धेरै राशिको पुरस्कार जित्नलाई खेलाडी नकिनी हुँदैन, यसले गर्दा खेलाडीलाई फाइदा पुगिरहेको छ ।’


पछिल्लो समय जिल्लामा आयोजना हुने भलिबल प्रतियोगितामा सहभागी हुने खेलाडीले पारिश्रमिक पाउने गरेको पनि बताए । ‘हामीले त्यसरी खेलाइरहेका छौं, जितेको र हारेको सन्दर्भमा फरक होला तर पारिश्रमिक नदिएर कसरी खेलाउनु’ पुनले भने ।


जिल्ला खेलकुद विकास समितिका प्रमुख छविलाल केसी भलिबलमा रुकुम पहिल्यैदेखि राम्रो भएको बताउँछन् । यसअघि जिल्ला बाहिर भएका धेरै प्रतियोगिता रुकुमले जितेको र हरेक वर्षको राष्ट्रिय खेलमा रुकुमको सहभागिता भइरहेको भनाइ उनको छ । ‘भलिबलमा रुकुमको सम्भावना पहिलेदेखि राम्रो थियो,’ प्रमुख केसीले भने, ‘पछिल्लो समय भलिबलप्रतिको आकर्षण र वातावरण धेरै राम्रो बन्दै गएको छ ।’

प्रकाशित : फाल्गुन ९, २०७५ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?