कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपभोग्य वस्तु अभाव बढ्दै

हिमपातको असर
राजबहादुर शाही

मुगु — भारी हिमपातका कारण कर्णाली राजमार्गअन्तर्गत गमगढी–नाग्मा सडक करिब एक महिनादेखि अवरुद्ध हुँदा गमगढी बजारमा उपभोग्य सामग्रीको अभाव बढ्दै गएको छ । सदरमुकाममा खाना पकाउने ग्यासलगायत दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको हो ।

सडकमार्ग अवरुद्ध भई ग्यास ढुवानी हुन नसकेपछि गमगढी बजार क्षेत्रका पाँच पसलमा ग्यास सिलिन्डर सकिएका छन् । ग्यासको अभाव भएपछि स्थानीयलाई खाना पकाउन समस्या हुन थालेको छ । गोदाममा ग्यास सकिंदा किन्न आएका ग्राहक रित्तै फर्किन थालेको धौलागिरी सप्लायर्सका प्रोपाइटर डिल्लीराज चौलागाईंले बताए ।


सडकमार्ग बन्द हुँदा ग्यास सिलिन्डर ढुवानी गर्न नसकिएको उनको भनाइ छ । सुर्खेत र नेपालगन्जबाट ढुवानी हुने ग्यास सिलिन्डर गमगढी बजारमा सटही गर्दा २ हजार रुपैयाँ पर्ने गरेको छ । गमगढी बजारमा ग्यास सिलिन्डरको अभाव हुँदा स्थानीयवासी दाउरा किनेर खाना पकाउन बाध्य छन् ।


हिमपातले लामो समयसम्म सडक बन्द भएपछि गमगढी बजार क्षेत्रमा दैनिक उपभोग्य समानको अभाव हुँदै जान थालेको उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढाले बताए । अवरुद्ध सडक खोल्न प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलगायत सरोकारवाला निकायबाट पहल भए पनि हिमपात नरोकिँदा समस्या भएको उनको भनाइ छ ।


गमगढी बजार क्षेत्रमा चामल, चिनी, तेल, मैदा, बिस्कुट, चाउचाउ लगायतको मौज्दात घट्दै गएको उनले जानकारी दिए । गमगढीमै दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेपछि गाउँबाट किन्न आएका उपभोक्ता मर्कामा परेका छन् ।


विकास निर्माणमा प्रयोग हुने सिमेन्ट, फलामे छड, तारजालीलगायत सामग्रीको समेत अभाव हुन थालेको स्थानीयको भनाइ छ । निर्माण समग्रीको अभाव हुन थालेपछि सरकारी तथा गैरसरकारी निकायबाट सञ्चालन हुने खानेपानी, पुल, भवनलगायतको निर्माण प्रभावित भएका छन् ।


गमगढी बजारमा दैनिक उपभोग्य वस्तु व्यापारीले लुकाएर अभाव देखाएको हो या साँच्चै अभाव भएको हो भन्ने जानकारी लिने सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार ढकालले बताए । हिमपातले अवरुद्ध बनेको सडक खुलाउन जुम्लास्थित सडक डिभिजन कार्यालयबाट एस्काभेटर मगाइएको उनले जनाए । उनका अनुसार एस्काभेटर आए पनि हिमपात नरोकिँदा हिउँ फाल्न समस्या भएको छ ।


खत्याड गाउँपालिका जोड्ने कालाकाँडा सडक खण्ड पनि हिमपातले एक महिनादेखि बन्द हुँदा त्यस क्षेत्रमा पनि विकास निर्माणका काम प्रभावित छन् । दैनिक उपभोग्य वस्तुलगायतको अभाव चुलिएको स्थानीयको भनाइ छ । खत्याड गाउँपालिकाका स्वास्थ्य केन्द्रमा औषधिको पनि अभाव सुरु हुन थालेको स्वास्थ्यकर्मीको भनाइ छ ।


रारा–जेउडे हुँदै निगाल जाने बाटो हिउँका कारण बन्द भएपछि स्थानीयको आउजाउ रोकिएको छ । स्थानीयका अनुसार बाटोमा करिब ५ फिट हिउँ जमेपछि स्थानीयलाई आउजाउमा समस्या भएको स्थानीय अच्युतराज भण्डारीले बताए ।

प्रकाशित : फाल्गुन ९, २०७५ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?