महिला हिंसामुक्त बनाउने प्रतिबद्धता

तुलाराम पाण्डे

कालीकोट — जिल्ला प्रहरी कार्यालयले महिला हिंसामुक्त अभियान सञ्चालन गरेको छ । जिल्लालाई हिंसा र आत्महत्यामुक्त गराउन जिल्लाभर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको प्रहरीले जनाएको छ ।

महिला हिंसामुक्त बनाउने प्रतिबद्धता

त्यस्तै पीडकलाई कारबाहीको दायरामा ल्याउन जिल्ला प्रहरीमा महिला, हिंसा, जातीय छुवाछूत र बाल हिंसाका घटनाका मुद्दा तत्काल दर्ता गर्न थालिएको छ ।


कालीकोटमा हालै गरिएको अध्ययनअनुसार ५७ प्रतिशत महिला हिंसा हुने गरेको छ । वार्षिक १५ जनाले आत्महत्या गर्ने गरेका छन् । महिलाहरू बालविवाहका कारण बढी पीडित हुने गरेको र हिंसामा पर्ने गरेको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी प्रमुख डीएसपी विनोद शर्माले प्राथमिकताका आधारमा पाँचबुँदे कार्ययोजना बनाई सबै प्रहरी इकाईसम्म लागू गरिएको जनाए । जसमा महिला हिंसा र आत्महत्यामुक्त जिल्ला बनाउने प्रतिबद्धता गरिएको छ । ‘प्रहरी साँच्चैको जनताको साथी भएको अनुभूति गराउन पहल गरिरहेका छौं,’ शर्माले भने, ‘महिलाविरुद्धका कुनै पनि हिंसा प्रहरीलाई सह्य हुँदैन ।’


उनका अनुसार समुदाय र विद्यालयमा महिला र बाल हिंसा हुन नदिन प्रत्येक मावि र आधारभूत विद्यालयमा गुनासो पेटिका राखिएको छ । गुनासो पेटिका १५/१५ दिनमा प्रहरीमार्फत खोलेर गम्भीर खालका दुर्व्यवहार र हिंसाका घटना जिल्ला प्रहरीमा पठाउन मातहतका निकायलाई निर्देशन दिइएको जनाए ।


उनका अनुसार यो अभियानले पीडकलाई कारबाहीको प्रक्रियामा ल्याउन सहज बनाएको छ । बालबालिकामार्फत घरघरमा हुने हिंसा र दुर्व्यवहारको सूचना लिएर अपराध गर्नेलाई कारबाही गर्न प्रहरी सक्रिय रहेको डीएसपी शर्मा बताउँछन् ।


प्रतिप्रहरी एक सय घर रेखदेख गर्ने जिम्मा दिने डीएसपी शर्माको योजना छ । जसका लागि एउटा वडामा चार/पाँच ब्लक विभाजन गरी प्रहरी परिचालन गरिनेछ । जिल्ला प्रहरीले प्रहरीलाई कर्तव्यप्रति प्रेरित गर्न एक महिनामा एक उत्कृष्ट प्रहरी घोषणा कार्यक्रम अगाडि सारेको जनाएको छ । म्यादी प्रहरी विवेक ऐडीको मृत्युपछि प्रहरी र कालीकोटका नागरिकबीच चिसिएको सम्बन्ध सुधार गर्न आफू प्रयासरत भएको डीसएपी शर्माले बताए ।


मुद्दा दर्ता बढ्याे

प्रहरीमा आएका मुद्दा मिलापत्रमै जोड दिएर दर्ता नगर्ने परम्परा तोडिंदै गएको प्रहरीले जनाएको छ । अपराधका घटनामा प्रहरीले उन्मुक्ति दिने गुनासो अन्त्य गर्न प्रहरीले उजुरी आएपछि दर्ता गर्न थालेको हो । साउनयता जिल्ला प्रहरीले ६५ थान मुद्दा दर्ता गरेको छ ।


जिल्ला प्रहरीले यस वर्ष धेरै मुद्दा दर्ता गरेर रेकर्ड कायम गरेको जनाएको छ । ‘मुद्दा दर्ता हुँदैनन् भन्ने गुनासोको अन्त्य भएको छ,’ डीएसपी शर्माले भने, ‘६ महिनामै ६५ मुद्दा दर्ता भए ।’


जिल्ला प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक देवेन्द्रकुमार मल्लका अनुसार गत वर्ष साउनदेखि माघसम्म जम्मा १६ थान मुद्दा दर्ता भएका थिए । उनका अनुसार यस वर्ष सबैभन्दा बढी सार्वजनिक अपराधका १४ वटा मुद्दा दर्ता भएका छन् ।


जबर्जस्ती करणीका ५, भवितव्य ज्यानका ७, फुटकर ज्यानका ९, बहुविवाहका ४ र जबर्जस्ती करणी, ज्यान उद्योगका २ मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ । जिल्ला प्रहरीका अनुसार बम विस्फोटका २, लागूऔषधसम्बन्धी २ र सवारी ज्यानका ४ मुद्दा दर्ता भएका छन् ।


भनसुन गरेर अपराधी छुटाउने प्रवृत्तिको अन्त्य गर्न प्रहरीले तत्काल मुद्दा दर्ता गर्ने गरेको हो । नागरिकलाई न्यायको अनुभूति गराउन प्रहरी प्रशासन सक्रिय रहेको प्रजिअ चन्द्रबहादुर कार्कीले बताए । उनले अपराधको कसुर र मात्र हेरेर मुद्दा अघि बढाइने गरेको जानकारी दिए ।

प्रकाशित : फाल्गुन ९, २०७५ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?