दैलेखमा पत्थर उद्योग

अहिले खानीबाटै १ थान पत्थरलाई ५० रुपैयाँमा खरिद
कान्तिपुर संवाददाता

दैलेख — नारायण नगरपालिका ११, विन्ध्यावासिनीमा व्यक्तिगत लगानीमा पत्थर उद्योग सञ्चालनमा ल्याइएको छ । स्थानीय पत्थर संरक्षणका लागि उद्योग स्थापना गरिएको हो । 

विन्ध्यावासिनीका हरिबहादुर विष्टले १ लाख ५० हजारमा उद्योग स्थापना गरेका हुन् । भारतको राजस्थानबाट मार्बल आयात भइरहेको अवस्थामा आफूले स्थानीय स्तरमै पत्थरको टायल उत्पादन गर्न लागेको विष्ट बताउँछन् ।


नारायण नगरपालिका ११, विन्ध्यावासिनी, भगवतीमाई गाउँपालिकाको वडाभैरव र ग्वातीमा पत्थर खानी छ । ‘पक्की र टिनका छानाको घर बनाउँदा स्थानीय पत्थर लोप हुँदै गइरहेकाले संरक्षणका लागि उद्योग सञ्चालनमा ल्याइएको हो,’ उनले भने, ‘यहाँ उत्पादन हुने पत्थर मार्बलभन्दा सस्तो पर्छ, त्यसैले यसको प्रयोग बढ्ने विश्वास लिएको छु ।’


दैलेखमा उत्पादन भएको पत्थर प्रदेश राजधानी सुर्खेतलगायत विभिन्न सहरमा पुर्‍याउने योजना रहेको उनले बताए । अहिले उनले खानीबाटै १ थान पत्थर ५० रुपैयाँमा खरिद गरेका छन् । उद्योगमा पत्थरको डिजाइन गरिने उनले बताए ।

नेपाल प्रहरीको जागिरबाट अवकाश भएपछि उनले उद्योग सञ्चालनमा ल्याएका हुन् ।


स्थानीयलाई रोजगारी दिनुका साथै स्थानीय कच्चा पदार्थको उपयोगलाई प्राथमिकता दिने विष्टको भनाइ छ । उद्योगमा अहिले ८ जनाले रोजगारी पाएका छन् । पछिल्लो समय दैलेखमा पत्थरले छाएका घर विस्थापित हुँदै गएका छन् । टिन छाना र पक्की घर बनाउनेको संख्या बढेपछि पत्थरको उपयोग घटदै गएको हो ।


जिल्लाका ग्रामीण क्षेत्रमा दशक अघिसम्म घरमा पत्थरको छानो छाउने, आँगन तथा पेटीमा पत्थर बिछ्याउने चलन थियो । टिनको प्रयोग हुन थालेपछि र ग्रामीण क्षेत्रमा समेत पक्की घर निर्माण हुन थालेपछि यसको प्रयोग घटदै गइरहेको छ ।


उनले अवकाशपछिको समयलाई सदुपयोग गर्न उद्योग स्थापना गरेको जानकारी दिए । जिल्लाका अन्य स्थानमा रहेका खानीको खोजी गर्ने योजना बनाएको उनको भनाइ छ । ‘स्थानीय युवालाई रोजगारी दिएर उद्योगको स्थापना गरेको छु,’ उनले भने, ‘केही वर्षभित्रै जिल्लामा आयातित मार्वल विस्थापित गर्ने योजना छ ।’

प्रकाशित : फाल्गुन १०, २०७५ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?