चौरजहारीमा बहुप्राविधिक शिक्षालय

हरि गौतम

रुकुम पश्चिम — चौरजहारी नगरपालिका, १ नाखिरामा सहिद यज्ञश्वर शर्मा बहुप्राविधिक शिक्षालय सुरु भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र पूर्वमन्त्री जनार्दन शर्माले प्राविधिक शिक्षालयको सम्पर्क कार्यालय बिहीबार उद्घाटन गरेका हुन् ।

चौरजहारीमा बहुप्राविधिक शिक्षालय

यसअघिको मन्त्रिपरिषद् निर्णयअनुसार चौरजहारीमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मातहतको बहुप्राविधिक शिक्षालय सुरुवात गरिएको हो ।


रुकुम पश्चिमसहित सल्यान, सुर्खेतका केही क्षेत्र, जाजरकोट र डोल्पा जिल्ला लक्षित गरी चौरजहारीमा बहुप्राविधिक शिक्षालयको सुरुवात गरेको सीटीईभीटी कर्णाली प्रदेशका कायममुकायम निर्देशक भीमकान्त लामिछानेले बताए । व्यावसायिक सीप विकास र प्राविधिक शिक्षा अध्ययनका लागि सरकारकै निर्णयअनुसार चौरजहारीमा शिक्षालयको आरम्भ गरिएको लामिछानेले बताए । उनका अनुसार शिक्षालयले लगत्तै छोटो अवधिका तालिम सञ्चालन गर्नेछ ।


३ महिनाका व्यावसायिक तालिम र तीन वर्षे डिप्लोमा तहका कार्यक्रम पनि चौरजहारीमै सञ्चालन गर्ने तयारी भइरहेको लामिछानेले जनाए । अबको १ महिनाभित्र छोटो अवधिका तालिम सुरु हुने र अर्को शैक्षिक सत्रदेखि डिप्लोमा तहका कार्यक्रम सञ्चालनको तयारी भइरहेको उनले जानकारी दिए । चौरजहारी नगरपालिकाको सहकार्यमा शिक्षालय सुरु गरिएको हो ।


छोटो अवधिका तालिमअन्तर्गत सेवा, निर्माण कृषि क्षेत्रका तालिम सञ्चालन हुनेछन् । सेवातर्फ होटेल व्यवस्थापन, कुकिङलगायत तालिम सञ्चालन हुनेछन् । निर्माणतर्फ मोटरसाइकल मर्मत, मोबाइल तथा कम्प्युटर मर्मतलगायत तालिम दिइनेछ ।


कृषितर्फ च्याउ खेती, पशुपालन, बेमौसमी तरकारी खेतीका लागि तालिम दिइनेछ । छोटो अवधिका लागि तालिम लिन चाहनेका लागि अब चौरजहारीमा सजिलै त्यसको व्यवस्थापन हुनेछ । तालिम लिएर रोजगार तथा स्वरोजगार बन्न चाहनेले निःशुल्क तालिम लिने पाउनेछन् ।


तालिममा सहभागी भएकालाई खाजा खर्चबापत दैनिक ४० रुपैयाँ उपलब्ध गराएर तालिम सञ्चालन गरिने कामु निर्देशक लामिछानेले जनाए । शिक्षालयको कार्यालय राखिसकेको र तत्कालै प्रिन्सिपल खटाएर छोटो अवधिका तालिम सुरु गर्ने लामिछानेले जानकारी दिए ।


शिक्षालयले कृषि तथा वन सेवातर्फ ३ वर्षे पठनपाठन सुरु गर्नेछ । अर्को वर्षदेखि विधिवत् रूपमा छोटो अवधिका तालिमको साथसाथै कृषि र वनतर्फको डिप्लोमा कोर्सको पठनपाठन सुरु गराइने जनाइएको छ ।


हाल एउटा विद्यालयमै शिक्षालय सुरु भए पनि शिक्षालयको आफ्नै भवन निर्माण हुनेछ । जसका लागि नगरपालिकाको समन्वयमा नाखिरामै भवन निर्माणको पहल थालिएको छ । भवन निर्माणका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको सीटीईभीटीले जनाएको छ । अहिले बहुप्राविधिक शिक्षालय स्थापना गरिएको र यसलाई थप व्यवस्थित गर्दै लैजाने प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले बताए ।


गाउँघरमै प्राविधिक शिक्षा प्रदान गर्ने तथा व्यावसायिक तालिम दिने उद्देश्यले चौरजहारीमै शिक्षालय बनाउने निर्णय भएको उनले बताए । शिक्षालयमार्फत धेरैभन्दा धेरैलाई व्यावसायिक सीप प्रदान गरेर स्वरोजगार बनाउने तथा अरूलाई पनि सस्तो र सुलभ शुल्कमा डिप्लोमा तहको कृषि र वनको अध्ययन गराएर प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको शर्माले जनाए ।

प्रकाशित : फाल्गुन १०, २०७५ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?