छिङले जित्यो पैंसेरु

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — सदरमुकाममा आयोजित पैंसेरु प्रतियोगिता मुसीकोट नगरपालिका १, को छिङ बहुउद्देश्यीय सहकारी संस्थाले जितेको छ । प्रतियोगितामा सहभागी १२ समूहलाई पछि पार्दै छिङ प्रथम भएको हो ।

छिङले जित्यो पैंसेरु

मुसीकोट नगरपालिका १४, लोरिवाङको समूह दोस्रो हुँदा मुसीकोट नगरपालिका १०, चुनको समूह तेस्रो भएको छ । जिल्लामा पहिलोपल्ट आयोजित प्रतियोगितामा प्रथम हुने छिङको समूहले ३०, दोस्रोले २५ र तेस्रो हुने समूहले २० हजार रुपैयाँ पुरस्कार हात पारेका छन् ।


मुसीकोट नगरपालिकाको ६ र ७ वडा सान्त्वना भए । प्रतियोगितामा उत्कृष्ट पोसाकमा वडा ७ साँखको समूह र वडा ६ झिजाको समूह पहिलो भएको छ । उत्कृष्ट वाद्यवादनमा वडा ११, लहु पहिलो भएको छ । त्यस्तै नयाँ पुस्ताको सहभागितामा वडा २ रातामाटाको समूह पहिलो भयो । विभिन्न विधामा उकृष्ट समूहलाई पनि पुरस्कृत गरिएको आयोजकले जनाएको छ ।


मुसीकोट नगरपालिकाको सहयोगमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखाले प्रतियोगिता आयोजना गरेको हो । लोप हुन लागेको पैंसेरु नाच संरक्षणका लागि भन्दै प्रतियोगिता आयोजना गरेको संस्थाका सचिव तुल देवकोटाले बताए । पछिल्लो समय हराउँदै गएको परम्परागत नाच संरक्षणका लागि प्रतिस्पर्धाका साथै भिडियो डकुमेन्ट्री बनाएर यसको संरक्षण गर्ने उनको भनाइ छ ।


पुरानो संस्कृतिमार्फत पर्यटकीय गतिविधि बढाउन प्रतियोगिता आयोजना गरिएको मुसीकोट नगरपालिका प्रमुख देवीलाल गौतमले बताए । ‘हाम्रा पुर्खादेखि चलिआएको चालचलन र रीतिरिवाज हाम्रा संस्कृति हुन्, यसको पुस्तान्तरण र पर्यटन प्रवर्द्धनको उद्देश्यले पैंसेरु प्रतियोगिता आयोजना गरिएको हो,’ उनले भने । समाजमा रहेका विभिन्न खाले नाच तथा गीतले मनोरञ्जनसँगै समाज परिवर्तनमा पनि भूमिका खेलिरहेको उनको भनाइ छ ।

प्रकाशित : फाल्गुन ११, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?