१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

हराउँदै परम्परागत संस्कृति

राजबहादुर शाही

मुगु — जिल्लाका ग्रामीण क्षेत्रमा समेत परम्परागत संस्कृति र पहिरन हराउँदै जान थालेका छन् । संरक्षण अभावमा झोडा, देउडा, रत्यौली, मागल, धारु, छैटी, आरती, हुडे नाच, बालो चम्फा नाचलगायत मुगेली परम्परा बोकेका संस्कृति र पुराना भाका लोप हुँदै गएका छन् । 

हराउँदै परम्परागत संस्कृति

कर्णाली खस सभ्यताको पहिचान झल्काउने पहिरन र संस्कृति हराउँदै गएको स्थानीय अगुवा बताउँछन् । पश्चिमेली संस्कृति र सहरी क्षेत्रको पहिरनले जिल्लाको पुर्ख्यौली संस्कृति र पहिरन ओझेलमा परेको देउडा गायक कल्से नेपालीले बताए । युवापुस्तामा संस्कृति हस्तान्तरण नहुँदा लोप हुँदै गएको उनले जनाए ।


‘अहिलेका पुस्ता बजारमा निस्केका आधुनिक गीतसंगीतमा रमाउने गरेकाले लोकसंस्कृति ओझेलमा परेका हुन्,’ उनले भने, ‘हाम्रो पालामा गाइने झोडा, मागल, धारु, रतेउली, छैटी, बालो, आरतीलगायत गीत लोप हुँदै गएका छन् ।’ विगतमा वनपाखामा गुन्जिने देउडा गीत, ठाडी भाका, सवाल जवाफमा गाइने होस् या लय मिलाएर गाइने भाका अहिले ग्रामीण क्षेत्रमा समेत सुन्न छाडिएको उनको गुनासो छ ।


विवाह, व्रतबन्ध, उत्सव, देवीदेवताको पूजालगायतमा गाइने झोडा गीत लोप हुँदै गएपछि स्थानीय संस्कृति ओझेलमा परेको छायानाथ रारा नगरपालिका १ की ६० वर्षीया केशरकला मल्लको भनाइ छ । दुई समूहमा भेला भएर महिलाद्वारा गाइने झोडा गीत अहिले बिरलै सुन्न पाइने उनी बताउँछिन् । उनका अनुसार दुई दशकअघिसम्म १५/२० महिला आपसमा सवाल जवाफ गर्दै यो गीतमा रमाउने गर्थे ।


दशकयता मुगुका गाउँ बस्तीमा महिलाले लगाउने गुन्युँचोली र पुरुषले लगाउने दौरासुरुवाल पनि हराउँदै गएको सोरु गाउँपालिका ३ का लालु धामीले बताए । उनका अनुसार घरमै उत्पादित ठेटुवाबाट दौरासुरुवाल बनाइन्थ्यो । बजारमा विदेशमा उत्पादित कपडाको आयात बढ्न थालेपछि परम्परागत पोसाक हराउन थालेको उनको भनाइ छ । उनले ठेटुवा कपडा उत्पादनका लागि गाउँमा कपास खेती सुरु गरेको जानकारी दिए । त्यस्तै पछिल्लो समय पञ्चेबाजा पनि लोप हुने अवस्थामा पुगेका छन् ।


बढ्दो आधुनिकीकरण र संरक्षण अभावमा पन्चेबाजा संकटमा परेको धामी बताउँछन् । विवाह, व्रतबन्ध, देवताको पूजापाठ र अन्य उत्सवमा बजाइने लोकप्रिय बाजा सुनिन छाडेको उनी बताउँछन् । २० वर्षअघि ५ हजार ५ सय रुपैयाँमा जुम्लाबाट किनेर ल्याएको सहनाई अहिलेसम्म घरमै राखेको खत्याड १०, ह्याङलुका ६० वर्षीय गजसिंह नेपालीले बताए । ‘अहिले कसैले पन्चेबाजा माग गर्दैनन् । विवाह, व्रतबन्ध, मेला र अन्य पर्वमा आधुनिक बाजा बज्न थालेका छन्,’ उनले भने, ‘पछिल्लो पुस्ताका लागि भए पनि घरमै संरक्षण गरेर राखेको छु ।’


अहिले सुन र चाँदीका विभिन्न गहनासमेत गाउँघरमा देखिन छाडेका छन् । गाउँबस्तीमा ६० कटेका वृद्धाले समेत विरलै परम्परागत गहनाको प्रयोग गर्ने गरेका छन् । खुट्टामा लगाइने कल्ली र पैरा हातमा लगाउने बाला, घाँटीमा लगाइने सानीमाला, ठूलीमाला, सांला, मुगामाला, डुरी, ढुङ्ग्री, कालो, पहेंलो, सेतो पोते, कपुर्ने मालालगायत पुराना गहना गाउँमा समेत लगाउन छाडेको नेपाली बताउँछन् ।


मुगाली संस्कृतिसँग सम्बन्धित परम्परागत मागी विवाहमा नाचिने हुडे नाचसमेत लोप भएको छ । मागी विवाहको चलन हटेसँगै यो नाच पनि लोप भएको स्थानीय अगुवाको भनाइ छ । ‘१०/ १५ वर्षअघिसम्म मंसिर र माघ महिनामा गाउँघरमा बिहेका पन्चेबाजा खुब सुनिन्थे, हुडेलाई पनि भ्याइनभ्याइ हुन्थ्यो,’ खत्याड गाउँपालिकाका ७० वर्षीय हस्तमान नेपालीले भने, ‘अहिले त गाउँमा कसको विवाह भयो भनेर ५/७ दिनसम्म थाहै हुँदैन ।’


स्थानीय अगुवा सम्पत्ति कार्कीका अनुसार विवाहमा समेत आधुनिक चलन भित्रिएको छ । ‘पहिले बिहे हुँदा पुरुष जन्ती जाने र महिला राति बेहुलाको घरमा जम्मा भई रत्यौली खेल्ने, मागल चुटी गाउने परम्परा थियो,’ उनले भने, ‘बिहेको पछिल्लो दिन दौडा लगाएर हातमा डमरुजस्तै देखिने हुडो समातेर दुई जना सहयोगी जोल्याको साथमा पुराना वीर (पैकेला) हरूका कथा (भात्ता) भनेर दिनैभरि नाच्ने, गाउने र रमाइलो गर्ने चलन थियो ।’


अमरसिंह नेपालीका अनुसार कुनै बेला हुड्के नाचका लागि मुगुसहित आधा बाजुरा, हुम्ला र जुम्लाको सिञ्जा क्षेत्रसम्म निम्तो आउँथ्यो । ‘आजभोलि त जन्ती जाने चलनै हरायो । बिहेमा खुब नाचिन्थ्यो, गाइन्थ्यो, हुडो बजाइन्थ्यो,’ उनले भने, ‘अहिलेका पुस्तालाई हुडोबारे केही थाहा छैन ।’ जिल्लामा पछिल्लो समय परम्परागत संस्कृति र पहिरन हराउँदै जान थालेकाले संरक्षणका लागि स्थानीय सरकारको ध्यान जान जरुरी रहेको कर्णाली नाट्य समूहका संयोजक हीराबिजुली नेपालीले बताए ।

प्रकाशित : फाल्गुन ११, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?