कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

सामाजिक विकृतिविरुद्ध किशोरी

कृष्णप्रसाद गौतम

सिम्ता, सुर्खेत — सिम्ता गाउँपालिका ६ का शेरुआकाश बुढा र देवी बुढाखत्री राकमका नमुना दम्पती हुन् । देवी गाउँमा पाठेघरको समस्या भएका गर्भवती महिला, नवविवाहित जोडी, परिवार नियोजन गर्न चाहने महिलासँग नियमित भेट्दै आएकी छन् ।

सामाजिक विकृतिविरुद्ध किशोरी

उनीहरूलाई आवश्यक परामर्श र सल्लाह दिन्छिन् । विभिन्न सामाजिक विकृति हटाउने काममा समेत उनी दुई वर्षदेखि सक्रिय रहँदै आएकी छन् ।


सिम्ता ६ राकमस्थित बागेश्वरी माविमा कक्षा ९ मा अध्ययनरत यमुना कसेरा नियमित गाउँमा बालविवाह, महिला हिंसा, मदिरा सेवनलगायत सामाजिक कुरीतिविरुद्ध सचेतना फैलाउने काममै सक्रिय छिन् । उनी आबद्ध दौंतरी शिक्षाकर्मी समूहले सरसफाइ, भर्ना अभियान, खोप, स्वास्थ्य शिक्षा, परिवार नियोजन लगायतका विषयमा मासिक वा त्रैमासिक रूपमा घरदैलो अभियान

सञ्चालन गर्ने गरेको छ ।


उनीहरूमात्र होइन, सिम्ता गाउँपालिका ५, ६ र ९ का महिला र बालबालिकाले सामाजिक विकृतिविरुद्ध दुई वर्षदेखि अभियान सञ्चालन गरिरहेका छन् । नमुना दम्पती, वडास्तरीय महिला सञ्जाल र दौंतरी शिक्षाकर्मी समूहको सक्रियतामा ग्रामीण क्षेत्रमा सामाजिक विकृति कम हुँदै गएका छन् ।


सञ्जाल समुदायमा भएका समस्याबारे वडा तथा गाउँपालिका कार्यालयमा बेलाबेलामा डेलिकेसनसमेत जाने गरेको ५ नम्बर वडाकी संयोजक कमला नेपालीले बताइन् । उनका अनुसार लैंगिक विभेद, जुवातास, मदिरा तथा विभिन्न कुप्रथाविरुद्ध समय समयमा अभियान सञ्चालन गर्ने गरिएको छ ।


बुढा दम्पतीसहित वडा नं. ५ आली र वडा नं ९, खानीखोलामा तीन नमुना दम्पती छन् । उनीहरूलाई वडास्तरीय महिला सञ्जालले छनोट गरेको हो । उनीहरूले सामाजिक विकृतिविरुद्धको चेतनासँगै महिलालाई स्वास्थ्य चेतना दिने गरेका छन् । उनीहरूले गर्भवती महिलालाई नियमित जाँच, खोप, पोषणलगायत परामर्श दिन्छन् भने नवविवाहित जोडीलाई २० वर्षभन्दा कम उमेरमा बच्चा नजन्माउन सल्लाह दिंदै आइरहेका छन् ।


नमुना दम्पतीकै सल्लाहले ३५ वर्षमा पाठेघरको समस्याबाट पीडित भएकी तुलसा पुनले समयमै उपचार पाएको बताइन् । ‘नमुना जोडीको सल्लाहले पाठेघरमा रिङ राखें, खानपान र व्यायाममा नियमित ध्यान दिएँ,’ उनले भनिन्, ‘अहिले रोग निको हुँदै गइरहेको छ ।’ उनीहरूको अभियानमा दलित महिला चेतना केन्द्र (डाक) र वातावरणीय कृषि तथा विकास केन्द्र (केड) ले सहयोग गरिरहेका छन् ।


सहयोगी संस्था डाकका अनुसार विद्यालयमा ५० दौंतरी शिक्षाकर्मी छन् । उनीहरूले मासिक रूपमा बैठक बसी विद्यालयका समस्या, आपसका पारिवारिक समस्या र समुदायका समस्याबारे अनुभव साटासाट गर्ने गर्छन् । उनीहरूले जीवनोपयोगी सीपबारे आफ्ना सहकर्मीलाई जानकारीसमेत दिने गरेका छन् ।


कक्षा ९ मा अध्ययनरत सपना परियारले दौंतरी समूहका कारण आफूहरूको क्षमता विकास भएको र अभिभावकले समेत आफ्ना कुराहरू सुन्ने गरेको बताइन् । ‘हामीले सञ्चालन गरेका अभियानले अभिभावकलाई समेत विभिन्न प्रेरणा प्रदान गरेको छ,’ उनले भनिन्, ‘साथीहरूबीच यौन र प्रजनन समस्याबारे छलफल गरी समाधानसमेत निकाल्ने गरेका छौं, बेलाबेलामा हामीले सञ्चालन गर्ने सामाजिक अभियानमा शिक्षक र अभिभावकले समेत साथ दिनुभएको छ ।’


उनका अनुसार मासिक रूपमा समूहको बैठक बस्ने गरेको छ । उनले समूहमा ७० प्रतिशत छात्रा रहेको बताइन् । ३० प्रतिशत छात्र संलग्न गराएपछि सामाजिक अभियान सञ्चालन गर्न थप सहयोग पुगेको उनको भनाइ छ ।


विद्यालयकी प्रधानाध्यापक कौशिलादेवी सिंहका अनुसार दौंतरी समूहले घरेलु प्याड निर्माण गरी प्रयोग गरिरहेको छ । ग्रामीण क्षेत्रमा स्वास्थ्यमा भएका गलत धारणा परिवर्तन गर्न समूहले नै अगुवाइ गर्ने गरेको उनी बताउँछिन् । उनीहरूकै अभियानबाट कुलतमा फसेका युवासमेत सुध्रिएको प्रअ सिंहले बताइन् । ‘आफूले सिकेको जीवनोपयोगी सीपबारेसमेत छात्राहरूले अन्य विद्यालयका बालबालिकालाई सिकाउने गरेका छन्,’ प्रअ सिंहले भनिन्, ‘समूहकै सक्रियताका कारण विद्यालय छोड्ने र नियमित उपस्थिति नहुने

समस्याको समेत हल भएको छ ।’


डाकका अनुसार कार्यक्रमअन्तर्गत अभिभावक, शिक्षक र विद्यार्थीलाई विभिन्न तालिम दिइएको छ । अभिभावकलाई करेसाबारी निर्माणका लागि बीउ सहयोग गरिएको डाकका बेलबहादुर विकले बताए ।


उनका अनुसार अभिभावकले करेसाबारी निर्माण गरेपछि बालबालिकाले नियमित रूपमा पोषणयुक्त खानेकुरा खान पाएका छन् । अभिभावकलाई असल अभिभावक तालिम दिइएपछि विद्यार्थी–अभिभावक र शिक्षकबीचको सम्बन्ध सुध्रँदै गइरहेको विकले जनाए ।

प्रकाशित : फाल्गुन १३, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?