कतै घरघर धारा, कतै सुके ढुंगेधारा

कालीकोट/जुम्ला/दैलेख — कालीकोटको पलाता–९, थिर्पु र जुम्लाको हिमा गाउँपालिका–३ जोगिवाडाका घरघरमा धारा बनेका छन् । स्वच्छ खानेपानीमा सबैको पहुँच पुर्‍याउन घरघरमा धारा जडान गरिएको हो । 

कतै घरघर धारा, कतै सुके ढुंगेधारा

दुई सय पाँच घरधुरी रहेको थिर्पुमा अहिलेसम्म एक सय ७९ घरमा खानेपानीका धारा निर्माण भएर खानेपानी उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार चुलाकोट, लखनवाडा, जिन्दर, पिपलचौतारा, बालुवा गाउँमा घरघरमा धारा जडान भएका हुन् । पानीको न्यायोचित वितरणका लागि घरका धारामा मिटर पनि जडान गरिएको छ । पानीको स्रोत नजिक नभएको थिर्पुमा यसअघि कुलोको धमिलो पानी पिउन बाध्य समुदायमा घरघर धारा निर्माण गरेर खानेपानी उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । ‘खडेरीग्रस्त पलातामा एक घर एक धाराको अभियान सुरु गरेका छौं,’ अध्यक्ष बमले भने, ‘सबैको सहकार्यर्मा घरघरमा धारा पुर्‍याउँदै छौं ।’


थिर्पुमा पिपलचौतारा र बाडदेव खानेपानी आयोजनाबाट पानी ल्याएर वितरण गरिएको हो । पानीको स्रोतभन्दा माथिको बस्तीमा पर्ने २८ घरधुरीलाई १२ किमि टाढाको शीर्षधेडुबाट पानी ल्याउने योजना रहेको दिगो खानेपानी तथा सरसफाइ स्वच्छता कार्यक्रमका इन्जिनियर धनबहादुर केसीले बताए । उनका अनुसार ८४ लाख सुवास परियोजनाबाट, १० लाख गाउँपालिकाको र २७ लाख रुपैयाँको जनश्रमदान गरेर थिर्पुमा घरघरमा धारा जडान गर्न सफल भएका हुन् ।


कालीकोटको सुक्खा खडेरीग्रस्त पलाताका खिन, धौलागोह र थिर्पुका गाउँमा खानेपानी पुर्‍याउन गाउँपालिकाले वार्षिक पुँजीगत बजेटको २२ प्रतिशत रकम विनियोजन गर्दै घरघरमा धारा पुर्‍याउन खानेपानीलाई पहिलो प्राथमिकतामा राखेको छ । उनले गाउँपालिकाका दुई हजार सात सय घरधुरीमा स्वच्छ र सुरक्षित पानी पुर्‍याउन खानेपानी तथा सरसफाइ क्षेत्रको त्रिवर्षीय योजना निर्माण जनाए ।


घरघरमा धारा बने पनि पानी निकास नभएको, केही ठाउँमा सडक खन्ने क्रममा डोजरले पाइपलाइन काटेको र श्रमदान बढी भएको स्थानीयको गुनासो छ । खानेपानी तथा सरसफाइ प्रवर्द्धनका सवालमा समुदायस्तरबाट समस्या पत्ता लगाई समाधानका उपायको खोजी गर्न वडाध्यक्षको संयोजनमा वडा खानेपानी, सरसफाइ तथा स्वच्छता समिति गठन गरिएको गाउँपालिकाले जनाएको छ ।


खानेपानी सुविधा

जुम्लाको हिमा गाउँपालिका–३ जोगिवाडामा गाउँमा समेत घरैपिच्छे धारा निर्माण गरिएको छ । गाउँमा सामूहिक धारा हुँदा पानीको समस्या भएपछि नयाँ मुहान खोजी गरी घरघरै धारा जडान गरिएको हो ।


पानीकै लागि स्थानीय महिलाको धेरै समय खेर जाने गरेकोमा घरैपच्छिे धारा भएपछि निकै सजिलो भएको स्थानीय मन्नु योगीले बताइन् । ‘सामूहिक धारामा पानी भर्न घण्टौं कुर्नुपर्थ्यो,’ उनले भनिन्, ‘घरघरमा धारा जडान गरेपछि महिलाको कार्यबोझ घटेको छ ।’ हिमा गाउँपालिकाले आफ्नो क्षेत्रमा काम गर्ने संघसंस्थाको सहयोगमा घरघरमा धारा पुर्‍याएको हो । हरेक घरमा पानीका धारा भएपछि खानेपानी सहज उपलब्ध भएको स्थानीय नरेन्द्रनाथ योगीले बताए ।


घरघरमै धारा भएपछि स्थानीयले करेंसाबारीसमेत सिँचाइ सुविधा पाएको उनको भनाइ छ । गाउँपालिकाले घरमै धारा पुर्‍याइदिएपछि समस्या हट्नुका साथै महिलाको कार्यबोझ कम भएको गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले बताइन् । ढुंगेधारा सुक्दा खानेपानी अभाव परम्परागत ढुंगेधारा संरक्षणको अभावमा सुक्दै गएपछि दैलेखको दुल्लुमा खानेपानी समस्या देखिएको छ । जथाभावी सडक खन्दा मुहानहरू सुक्दै गएपछि खानेपानी समस्या भएको हो ।


परम्परागत ढुंगेधारा हिउँदअघि सुक्दा स्थानीयवासी समस्यामा परेका छन् । दुल्लुको सबैभन्दा पुरानो बडीमूल खानेपानी आयोजना २०३६ मा सञ्चालनमा ल्याइएको थियो । त्यस समयमा बजारको जनसंख्या न्यून भएकाले खानेपानीको अभाव हुने गरेको थिएन । जनसंख्या बढ्दै गर्दा खानेपानीको समस्या पनि बढ्दै गएको स्थानीय विक्रम शाहीले बताए ।


‘बढ्दो बजारीकरणले खानेपानी अभाव हुने गरेको छ,’ उनले भने, ‘मुहान सुक्दै गएकाले पनि खानेपानीको समस्या बढेको हो ।’ इलाका प्रहरी कार्यालय र नेपाली सेनाको ब्यारेकमा २४ सै घण्टा पानी प्रयोग हुने भएकाले पनि स्थानीयले खानेपानी समस्या भोग्ने गरेको उनको भनाइ छ ।


खानेपानी महासंघका अध्यक्ष डिलबहादुर खड्काका अनुसार सेना र प्रहरीले जथाभावी पानी प्रयोग गर्दा स्थानीयवासी

मर्कामा परेका हुन् । ‘मुहान संरक्षण गर्न पाँच वर्षयता कुनै निकायबाट बजेट प्राप्त भएका छैनन्,’ उनले भने, ‘पुरानो आयोजना जीर्ण बनेकाले र मुहान सुक्दै गएकाले खानेपानीको अभाव बढेको हो ।’

प्रकाशित : फाल्गुन १५, २०७५ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?