कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँगाउँमा सडक

तुलाराम पाण्डे

कालीकोट — तिलागुफा नगरपालिकाले चालु आर्थिक वर्षमा १० वडामा सडक पुर्‍याएको छ । विकासको पहिलो मेरुदण्ड सडक भएको ठहर गर्दै भौतिक पूर्वाधारको आधा रकम सडक निर्माणमा विनियोजन गरेको थियो । वडा नं २ रतडाबाहेक सबै वडामा सडक पुर्‍याइएको नगरपालिकाले जनाएको छ ।

गाउँगाउँमा सडक

बुधवार गाल्जेमा आयोजित सार्वजनिक सुनुवाइमा नगरप्रमुख रतनबहादुर शाहीले संघीय संरचनामा बनेको नयाँ नगरपालिका भए पनि पहिलो वर्षमै १० वडामा सडक खनिएको बताए । उनका अनुसार कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडक तिला नदीको तिरैतिर गएको छ भने कर्णाली राजमार्गसँग जोड्न गाउँ गाउँमा सडक निर्माण भएका छन् । उनले गत वर्ष निर्माण भएका सडकको मर्मतसुधार गरी गाडी गाउँसम्म पुर्‍याइएको जानकारी दिए ।


नगरपालिकका अनुसार ट्रयाक खोल्न डोजरको प्रयोग गरिए पनि पर्खाल लगाउने, नालीढुंगा बोक्ने काममा स्थानीयले काम गरेका हुन् । नगरपालिकाको छाप्रे–भैंसेगौडा, बाली–छाप्रे, गाल्जे–जुबिथा–बालीचौर, राचुली–फोइमहादेव, नाग्म–फोइ, भैंसेगौडा–ठिन्के–रुरु सडकमा २५ किलोमिटरको ट्रयाक खोलिएको छ । गत वर्ष निर्माणमा करिब ६ करोड रकम खर्च भएको नगरपालिकाले जनाएको छ । ‘सडक निर्माणको काम सबै उपभोक्ता समितिमार्फत गरिएको हो,’ नगरप्रमुख शाहीले भने, ‘अप्ठ्यारा ठाउँमा डोजर प्रयोग गरिए पनि अन्यत्र उपभोक्ताले नै ज्यालामा काम गरे ।’


उनले तिलागुफा नगरपालिकालाई पर्यटकीय गन्तव्य बनाउन विभिन्न पूर्वाधारका काम भइरहेको पनि सुनाए । उनका अनुसार नगरपालिकाले विभिन्न २२ ऐन, कानुन र निर्देशिका नगरसभाबाट पास गरेको छ ।


कर्णालीमै सबैभन्दा गुणस्तरीय स्याउ उत्पादन हुने तिलागुफामा फोइ, राचुली, चिल्खाया, जुबिथा र छाप्रेमा गत वर्ष २६ हजार स्याउ, ओखर र आरूबखडाका बिरुवा रोपिएका छन् । विपन्न घरधुरीको आयआर्जन सुधार गर्न दुई हजार पाँच सय कुखुराका चल्ला वितरण गरिएको नगरपालिकाले जनाएको छ ।


कालिकोटको महाबै, दैलेख, जाजरकोट र जुम्लाको संगमस्थल बरुरु बन्चु पर्यटकीय क्षेत्रको विकासका लागि सडक निर्माण, सामूहिक स्याउ बगैंचा, भेडा फाराम सञ्चालन गरिएको वडा नं १० का अध्यक्ष मुनबहादुर थापाले बताए ।


नगरउपप्रमुख दन्ता नेपालीका अनुसार नगरलाई पूर्ण सरसफाइयुक्त बनाउन एक घर, एक धारा अभियान, वडा नं २ र ४ राचुलीलाई बालमैत्री वडा तथा वडा नं ४ लाई मानव अधिकारमैत्री वडा घोषणा गरिएको छ । उनले फोइमहादेवलाई छाउपडीमुक्त गोठ घोषणा पनि यसै वर्ष गरिएको जनाइन् । नगरको न्यायिक समितिमा धेरै मुद्दा नआए पनि आएका गुनासो सुनुवाइ गरिरहेको उनको भनाइ छ ।


गत मंसिर १८ गते पहिलो बालमैत्री गाऊँ घोषणा गरिएको राचुलीलाई बालविवाहमुक्त, बालश्रममुत्त, खुला दिसामुक्त तथा पूर्ण सरसफाइयुक्त, अनिवार्य तथा आधारभूत शिक्षामा पहुँच पुगेको र मानव अधिकारमैत्री घोषणा गरिएको वडाध्यक्ष खडगराज शाहीले बताए । उनका अनुसार सामाजिक क्षेत्रको विकासका लागि समेत गाउँपालिकामा विभिन्न योजना अगाडि सारिएका छन् ।

प्रकाशित : फाल्गुन १८, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?