कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

ऐतिहासिक बालेश्वरमन्दिर जीर्ण

ज्योति कटुवाल

दैलेख — दुल्लु नगरपालिका–८ स्थित ऐतिहासिक महत्त्वको बालेश्वर मन्दिर संरक्षण अभावमा जीर्ण बनेको छ  । प्यागोडा शैलीको मन्दिरभित्रको शिलालेख भाँचिएको छ  ।

जीर्ण मन्दिरबाट स्थानीयले सामान लगेर घरमा राखेका छन् । मन्दिरभित्र भाँचिएको शिलालेख र मन्दिरबाहिर १९६१ सालमा चढाएको घण्टाबाहेक अन्य सबै वस्तु चोरी भइसकेका छन् । स्थानीय जानकारका अनुसार मन्दिरको निर्माण १८७३ मा भएको हो ।

२०६८ सालमा परेको चट्याङले मन्दिर चर्किएको छ । मन्दिरमा ३६ थानको सेतो ढुंगा, शंख, मूर्ति शालिग्रामलगायत ऐतिहासिक महत्त्वका सामग्री थिए । सबै सामान मन्दिरभित्र नभएको स्थानीय जानकारको भनाइ छ । स्थानीय जानकारका अनुसार प्रथम राणा प्रधानमन्त्री जंगबहादुरका पिता बालनरसिंह कुँवरको सम्झनामा मन्दिरको निर्माण गरिएको हो । कुँवरले सिँजाको हिउँदै राजधानी दुल्लुलाई मन पराएपछि उनकै इच्छामा समाधि राख्न काठमाडौंबाट मलामी आएका
किंवदन्तीमा उल्लेख छ ।


मन्दिरको १८७३ मा निर्माण भएको पुजारी रविलाल उपाध्यायले बताए । ‘पहिलेका शिलालेख मेटाएकाले यकिन गर्न भने सकिएको छैन,’ उनले भने, ‘तर मन्दिर ऐतिहासिक महत्त्वको भएकाले संरक्षणका लागि विभिन्न निकायसमक्ष अनुरोध गरिएको छ ।’

मन्दिरको नाममा भैरवी गाउँपालिकाको कागते, लयाटीविन्द्रासैनीलगायत विभिन्न स्थानमा जग्गा रहेको उनको भनाइ छ । स्थानीय तिलकप्रसाद उपाध्यायका अनुसार केही दशकअघिसम्म पूजाको जिम्मा लिएका व्यक्तिले मन्दिरको नामको खेतमा बाली लगाउने गर्थे । ‘पुजारी आफैंले जग्गा उपभोग नगरे अरूलाई बाली लगाउन दिई तिरो संकलन गर्ने काम गर्थे,’ उनले भने, ‘मन्दिर जीर्ण भएका कारण पूजापाठको चलन हराउँदै गएपछि जग्गाको नाममा तिरो तिर्ने कामसमेत बन्द भएको छ ।’ उनका अनुसार गत वर्षदेखि दुल्लु नगरपालिकाको पहलमा पूजा सुचारु गरिएको छ ।


२०४८ सालको नापीबाट मन्दिरका नाममा रहेको जग्गा हराएको स्थानीयको भनाइ छ । आर्थिक वर्ष ०७२/०७३ मा दुल्लु नगरपालिकाले बालमैत्री बनाउन चार लाखको लगानीमा मन्दिर क्षेत्रको वरिपरि घेरवार र गेट निर्माण गरेको थियो । चालु आर्थिक वर्षमा वन मन्त्रालयले पूर्ण स्मृति पार्क निर्माणका लागि मन्दिर प्रांगणमा तीन लाख रुपैयाँ विनियोजन गरेको दुल्लु नगरपलिका प्रमुख घनश्याम भण्डारीले बताए ।

प्रकाशित : फाल्गुन २२, २०७५ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?