२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

विकासमा खर्च न्यून

राजबहादुर शाही

मुगु — जिल्लाको चार स्थानीय तहले दोस्रो चौमासिक बित्न लाग्दासमेत विकास निर्माणको न्यून रकममात्र खर्च गर्न सकेका छन् । नगर र गाउँसभाले बिनियोजन गरेको भौतिक पूर्वाधारको अधिकांश रकम खर्च नहुँदा स्थानीयबासीले स्थानीय सरकारको अनुभूति गर्न सकेका छैनन् ।

जिल्लाका चारवटै स्थानीय तहको पहिलो र दोस्रो चौमासिकको प्रगति विवरण सन्तोषजनक देखिएको छैन ।


विभिन्न कारण देखाउँदै स्थानीय तहले विकास निर्माणका काम अझै सुरु गर्न सकेका छैनन् । जिल्लाको एकमात्र छायानाथ–रारा नगरपालिकाको नगरसभाबाट पारित भएका भौतिक पूर्वाधार तथा विकास निर्माणका करिब दुई सय योजना कागजमै सीमित भएका छन् । अहिलेसम्म आठ योजनाको मात्र सम्झौता भएको नगरपालिकाले जनाएको छ ।


नगरपालिकाको योजना फाँटका कर्मचारी केशरबहादुर रावलका अनुसार पूँजीगततर्फको १७ करोड ६४ लाख बजेटमध्ये करिव २५ प्रतिशत रकमसमेत खर्च हुन सकेको छैन । ठूला सडक योजनाको डीपीआर सम्पन्न भए पनि निर्माणको काम अगाडि नबढेको उनले जानकारी दिए ।


मुगमकार्मारोङ गाउँपालिकामा चालु आर्थिक वर्षमा पूर्वाधार निर्माणका ४० योजना छन । २० वटा योजनाको सम्झौता भई पेस्की रकम उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । तर अहिलेसम्म पूर्वाधार निर्माणका योजना सुरु हुन सकेका छैनन् । गाउँपालिकाका अनुसार यस वर्ष पूँजीगत खर्चतर्फ आठ करोड ८९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।


गाउँपालिकाको भवन निर्माणमा विनियोजित ९९ लाख रकम अहिलेसम्म खर्च हुन नसकेको जनप्रतिनिधिले जनाएका छन् । भारी हिमपात, मौसमी बसाइ र जनशक्ति अभावका कारण विकास निर्माणको काममा सुस्तता देखिएको प्रमुख प्रशासकीय अधिकृत विकास शर्मा रिजालले बताए ।


एक सय ७९ योजनामा रकम बिनियोजन गरेको सोरु गाउँपालिकाले १९ योजनाको मात्र सम्झौता भएको जनाएको छ । गाउँपालिकाका अनुसार अहिलेसम्म २५ प्रतिशत योजना पनि सम्पन्न हुन सकेका छैनन् । गाउँपालिकामा यस वर्ष पूँजीगततर्फ सात करोड ३५ लाख रुपैयाँ छुट्याइएको थियो । खत्याड गाउँपालिकाको अवस्थासमेत उस्तै छ ।


एक सय ९९ योजनामध्ये ४६ योजना सम्झौता गर्न बाँकी रहेको जनाइएको छ । एक सय ५३ योजनाको उपभोक्ता समितिसँग सम्झौता गरिसकिएको सब–इन्जिनियर धनबहादुर थापाले बताए । डेढ वर्षको अवधिमा स्थानीय सरकारले सोचेजस्तो काम नगर्दा स्थानीयबासी निराश भएका छन् । अधिकांश ठूला योजनाहरू सुरु नभएका कारण यस वर्ष पनि स्थानीयवासीले विकासको अनुभूति गर्न सकेका छैनन् ।

प्रकाशित : फाल्गुन २३, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?