फस्टाउँदै सिलाइकटाइ

राजबहादुर शाही

मुगु — खत्याड गाउँपालिका–८, सुकाढिकका ३२ वर्षीय जीवन नेपालीले १० वर्षदेखि सदरमुकाम गमगढीमा सिलाइकटाइ व्यवसाय गरिरहेका छन् । एउटा सिलाइ मेसिनबाट सुरु भएको उनको व्यवसाय आठ मेसिनमा पुगेको छ । चार जनालाई प्रत्यक्ष रोजगारी दिइरहेका उनको आम्दानीसमेत बर्सेनि बढ्दै गएको छ ।

पहिले साँझ–बिहानको छाक टार्न मुस्किल हुने उनले मासिक रूपमा ३५ हजार रुपैयाँसम्म आम्दानी गरिरहेको जनाए । राम्रो आम्दानी र व्यवसाय फस्टाउँदै गएपछि बिहान सबेरैदेखि साँझ अबेरसम्म उनी पसलमै व्यस्त देखिन्छन् ।


करिब ६ वर्षअघि गमगढीमै सिलाइकटाइ व्यवसाय सुरु गरेका मदन नेपालीको पनि व्यस्तता बढ्दो छ । उनको न्यु फेसन रारा टेलरमा दौरा–सुरुवाल र कोट पाइन्ट सिलाउनेको दिनहुँ भीड लाग्ने गरेको छ । खर्च कटाएर मासिक ३० हजारसम्म कमाइरहेको उनी बताउँछन् । यी दुईमात्र होइन, व्यवसाय फस्टाउँदै गएपछि गमगढी बजारमा सोरु र खत्याडबाट सिलाइकटाइ व्यवसाय गर्न आउने युवाको संख्या बढिरहेको छ ।


गमगढी बजारमा विद्युत्को सुविधा भएकोले सिलाइकटाइ व्यवसाय फस्टाएको उनीहरू बताउँछन् । मेसिनमा मोटर जडान गरेपछि कपडा सिलाउन सजिलो भएको उनीहरूको भनाइ छ । पछिल्लो समय पढालेखा युवासमेत यो व्यवसायमा आकर्षित हुन थालेका छन् । प्रमाणपत्र तह उत्तीर्ण छायानाथ रारा नगरपालिकाको बामकी बाचली बोहराले सदरमुकाममै सिलाइ व्यवसाय सुरु गरेकी छन् ।


एउटै दररेट कायम गरी कपडा सिलाउने गरिएको उनी बताउँछिन् । उनले एक जोर दौरा–सुरुवाल सिलाएको एक हजार पाँच सय, कोट–पाइन्टको तीन हजार पाँच सय, सर्टको चार सय, चोलीको तीन सय ५० रुपैयाँ ज्याला लिने गरेकी छन् । सपना टेलर्सका अनुसार कुर्ता–सुरुवालको तीन सय ५०, पाइन्टको पाँच सय र इस्टकोटको एक हजार रुपैयाँ ज्याला लिने गरिएको छ ।


गमगढी बजारमा मात्र होइन अन्य व्यापारिक केन्द्रमा समेत टेलरिङ व्यवसाय गर्नेको संख्या बढ्दै गएको छ । खत्याड गाउँपालिकाको गम्था माझचौर, सोरु गाउँपालिकाको सिपतारापानी र सोरुकोट, मुगमकार्मारोङ गाउँपालिकाको छाइल बजारमा पनि सिलाइकटाइ व्यवसाय गर्नेको संख्या बढ्दै गएको छ ।


गाउँमै रोजगारी पाइन थालेपछि गरिबीका कारण ज्यालादारी काम खोज्दै भारतको कालापहाड धाउनुपर्ने अवस्थाको अन्त्य भएको दलित अधिकारकर्मी धीरज नेपालीले बताए ।

प्रकाशित : फाल्गुन २४, २०७५ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?