कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

मौरीपालनबाट लाखौं आम्दानी

विप्लव महर्जन

सल्यान — करिब १५ वर्षदेखि व्यावसायिक मौरीपालन थालेका कालिमाटी गाउँपालिका ३, झिगानेका ४० वर्षीय लोकेन्द्र ओलीले गत वर्ष दुई सय मौरीघार बिक्री गरेर १४ लाख रुपैयाँ आम्दानी गरे । यस वर्ष उनको मौरीपालनबाट ३० लाख रुपैयाँ आम्दानी भयो ।

मौरीपालनबाट लाखौं आम्दानी

५५ घारमा मौरीपालन गर्दै आएका उनकै आफन्त नेत्रलाल ओलीले गत वर्ष साढे तीन लाख रुपैयाँ आम्दानी गरे । उनको आम्दानी पनि प्रत्येक वर्ष बढ्दै गइरहेको छ ।


यी दुई मात्र होइन, झिगाने गाउँका अधिकांश घरमा अहिले व्यावसायिक मौरीपालन हुन्छ । दशकअघि ओलीले मौरीपालनमा पाएको सफलता देखेर गाउँमा मौरीपालनको लहर आएको थियो । अहिले झिगानेका ३० परिवारले व्यावसायिक मौरीपालन गरिरहेका छन् । मौरीपालनमार्फत स्थानीयवासी पछिल्लो समय आत्मनिर्भर बन्दै गएका छन् । गाउँभर अहिले एक हजार आठ सय मौरीघार छन् । गाउँबाट वार्षिक ५० क्विन्टल मह उत्पादन हुने गरेको छ । बर्सेनि झिगानेका किसानले उत्पादन गरेको सात सय घार मह बाहिर जाने गरेको कृषकको भनाइ छ ।


२०५८ देखि १५ घारमा सेरेना जातका मौरीको पालन सुरु गरेका ओलीसँग अहिले दुई सय बढी घार मौरी छन् । परम्परागत विधि त्यागेर आधुनिक घार राख्न थालेपछि आम्दानी पनि बर्सेनि बढ्दै गएको उनको भनाइ छ । उनले वार्षिक आठ क्विन्टल मह उत्पादन गरी बिक्री गर्दै आइरहेको जानकारी दिए ।


मौरीपालनको आम्दानीले परिवारका चारजना सदस्यको जीवनस्तर बदलिएको उनी बताउँछन् । मौरीसहितको घारलाई घरैबाट सात हजार पाँच सय रुपैयाँमा बिक्री गरिरहेको ओलीले जानकारी दिए । उनका अनुसार स्थानीय बजारमा मह आठ सय रुपैयाँ प्रतिकिलो बिक्री हुने गरेको छ । ‘मौरीपालन गरेर सजिलै परिवार पाल्न सक्ने भएको छु, यही व्यवसायबाट घरजग्गा पनि जोडिएको छ,’ उनले भने, ‘घरमै बसीबसी मह काठमाडौंसम्म पुर्‍याइरहेको छु ।’ उनका अनुसार व्यापारी घरमै मह र मौरीघार खरिद गर्न आउने गरेका छन् ।


लोकेन्द्रका छिमेकी नेत्रलालले गत वर्ष २५ वटा मौरीसहितको घार र एक लाख ५० हजार रुपैयाँको मह बिक्री गरेको जानकारी दिए । ‘दुई दशकअघि बेरोजगारीको समस्याले परिवार पाल्नका लागि भारतका विभिन्न ठाउँमा गएर मजदुरी गर्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘अहिले मौरीपालनबाट मज्जाले रोजीरोटी चलेको छ । छोराछोरीलाई राम्रै शिक्षा दिइएको छ ।’ उनका अनुसार अधिकांश किसान मौरीपालनबाट कमाएको आम्दानीले घरजग्गा जोड्न सफल भएका छन् । चरनको अभाव हुन थालेपछि गाउँमा सूर्यमुखी फूलको खेती सुरु गरिएको उनले जानकारी दिए ।


एक सय घार मौरीपालन गरिरहेका स्थानीय चेतबहादुर औलीले मह र घार बिक्रीबाट बर्सेनि तीन लाख रुपैयाँ आम्दानी गरिरहेको जानकारी दिए । आफ्नै गाउँमा सीपअनुसारको काम गरे रोजगारीका लागि विदेश जानु नपर्ने उनी बताउँछन् । उनका अनुसार साबिक जिल्ला कृषि विकास कार्यालयको सहयोगमा गाउँबाट गत वर्ष ५४ लाख रुपैयाँको १२ मेट्रिक टन मह जिल्ला बाहिर गएको थियो ।

स्थानीय तह गठनसँगै किसानलाई मौरीपालनमा आकर्षित गर्न विभिन्न कार्यक्रम अगाडि सारिएको गाउँपालिकाले जनाएको छ ।


अहिले झिगाने आसपासका गाउँका किसानसमेत व्यावसायिक मौरीपालनमा आकर्षित भएका छन् । गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले मौरीपालनका लागि अनुकूल वातावरण भएकाले किसानलाई आकर्षित गर्न विभिन्न कार्यक्रम सुरु गरिएको बताए । उनले गाउँमा उत्पादित महलाई विदेशसम्म पठाउने योजना गाउँपालिकाले तयार गरेको जनाए ।


उनका अनुसार व्यावसायिक मौरीपालनले किसानलाई आत्मनिर्भर बनाइरहेको छ । ‘किसानले मौरीपालनको आम्दानीले घरघडेरी जोड्न सकेका छन्,’ उनले भने ।

प्रकाशित : फाल्गुन २५, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?