१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

जीर्ण भवनमा प्रहरी कार्यालय

विप्लव महर्जन

सल्यान — इलाका प्रहरी कार्यालय, रागेचौरको भवन रंगरोगन र सरसफाइले चिटिक्क छ । तर, प्रहरी भने जीर्ण भवनमा काम गर्न बाध्य छन् । वर्षामा चारैतिरबाट चुहिने समस्याले प्रहरीलाई आजित बनाएको छ । माथिल्लो तलामा हिँड्दा धूलो खस्ने र हल्लिँदा जोखिम उठाएर काम गर्न बाध्य भएको सुरक्षाकर्मीको गुनासो छ । 

जीर्ण भवनमा प्रहरी कार्यालय

करिब ५० वर्षअघि निर्माण गरिएको कच्ची भवनमा कार्यालय सञ्चालन गरिएको छ । प्रहरी बस्नलाई समेत भवन पर्याप्त नहुँदा दैनिक काम कारबाहीमा समस्या भइरहेको छ । गोठलाई मर्मत गरी तयार गरिएको भवनमा सुरक्षाकर्मी बस्दै आएको प्रहरी सहायक निरीक्षक दीनबन्धु थापाले बताए ।


उनका अनुसार जीर्ण भवन चुहिने कारणले त्रिपाल टाँगेर सुरक्षाकर्मी बस्नुपर्ने बाध्यता छ । ‘क’ श्रेणीको इलाका प्रहरी कार्यालयमा भवनको दुरवस्थाका कारण दरबन्दीअनुसार प्रहरी नबस्ने गरेको उनको भनाइ छ । ३२ जनाको दरबन्दी रहेका कार्यालयमा अहिले १६ प्रहरी मात्र कार्यरत छन् । उनले अगाडि ६ र पछाडि दुई कोठाका भवनमा सास्तीपूर्ण तरिकाले कामकाज गरिरहेको सुनाए ।


बारम्बार माथिल्ला निकायमा भवनको दुरवस्थाबारे जानकारी गराइएको भए पनि बेवास्ता भइरहेको प्रहरी कर्मचारी बताउँछन् । प्रहरी जवान गोविन्द शर्माका अनुसार भवन चारैतिर चुहिने भएकाले वर्षातको समयमा जता चुहिन्छ त्यता भाँडा राखेर बस्नुपर्ने अवस्था छ । भवन जोखिमपूर्ण भएकाले अधिकांश काम बाहिरै बसेर गर्नुपरेको उनको गुनासो छ ।


‘कसैलाई पक्रेर ल्याए राख्ने ठाउँ छैन, अन्यत्र राख्दा भाग्ने डर भएकाले आफैंसँग सुताउने गरेका छौं,’ उनले भने, ‘इप्रकालाई २४ घण्टा बढी कुनै व्यक्तिलाई नियन्त्रणमा लिने अधिकार नभएकाले सकेसम्म जिल्लामा लिने प्रयत्न गर्छौं ।’ माथिल्ला निकायले रकमको अभाव भएको बताउँदै भवन निर्माणमा ढिलासुस्ती गरेको उनको भनाइ छ ।


हुरीबतास लागे वा पानी परे गोठलाई मर्मत गरेको भवनमा बस्न र सुत्न नसकिने सुरक्षाकर्मी बताउँछन् । ठूलो हावा लागे घर नै उडाउलाजस्तो हुने भएकाले सुत्न नसकिने प्रहरी कर्मचारीको भनाइ छ । खतरा मोलेरै भए पनि नागरिकको सुरक्षाका लागि काम गरिरहेको शर्माको भनाइ छ ।


सामान्य वर्षा भए पनि चुहिने समस्याले त्रिपाल लगाएर छाना ढाकेको उनले जानकारी गराए । भवन निर्माण गर्न इलाका प्रहरीको नाममा पर्याप्त जग्गा भएको उनको उनी बताउँछन् । ‘आफ्नै भवनमा बसेर काम गर्न समस्या छ तर स्थानीयवासीको सुरक्षाका लागि लामो समयदेखि जोखिम मोल्दै आइरहेका छौं,’ उनले भने, ‘ब्यारेक घरको अवस्था झन् दयनीय छ । जीर्ण भवन त्यसमा पनि साघुँरो हुँदा थप सास्ती भोग्न बाध्य भइरहेका छौं ।’


द्वन्द्वको समयमा प्रहरी छाडेर सदरमुकाममा विस्थापित भएपछि तत्कालीन माओवादीले विभिन्न समयमा कार्यालयमा बम प्रहार गरेका थिए । २०५१ सालमा स्थापना गरिएको चौकीलाई ०५५ सालमा इलाका प्रहरी कार्यालयमा स्तरोन्नति गरिएको थियो । तत्कालीन माओवादीले पटकपटक आक्रमण गर्न थालेपछि कार्यालय २०५८ सालमा विस्थापित भएको थियो ।


शान्ति स्थापनासँगै पुरानै भवनलाई मर्मत गरेर इलाका प्रहरीलाई पुनःस्थापना गरिएको प्रहरी सहायक निरीक्षक थापाले जनाए । उनका अनुसार स्थापनाकालमै स्थानीय मानबहादुर रानासँग खरिद गरिएको जग्गा इप्रकाको नाममा छ ।


उक्त भवन मात्र होइन, द्वन्द्वको समयमा क्षतिग्रस्त भएका भएका अधिकांश प्रहरी एकाइको नयाँ भवन नहुँदा सुरक्षाकर्मीले सास्ती भोग्नुपरेको छ । जिल्ला प्रहरीका अनुसार त्रिवेणीको लुहाम, थारमारे र सितलपार्टीको प्रहरी एकाइमा मात्र नयाँ भवन निर्माण गरिएको छ । नयाँ भवन नहुँदा अधिकांश प्रहरी एकाइ भाँडाको घरमा र पुरानैलाई मर्मत गरेर सञ्चालन गरिएको छ ।

प्रकाशित : फाल्गुन २६, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?