कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेशसभा बैठक : विकास योजना अघि बढाउन आग्रह

कृष्णप्रसाद गौतम

सुर्खेत — कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनअन्तर्गत सोमबार बसेको संसद् बैठकमा सांसदहरूले विकास निर्माणमा केन्द्रित रहन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदहरूले दोस्रो चौमासिक सकिन लाग्दासमेत प्रदेश सरकारले विकास निर्माणका योजना सुरु नगरेकाप्रति आपत्ति जनाए । सांसदहरूले बजेट कार्यान्वयनमा केन्द्रित रहन प्रदेश सरकारलाई आग्रह गरे ।

सांसद अमृता शाहीले छिन्चु–बोटेचौर सडकलाई दुई लेनको बनाउन सरकारले ढिलाइ गरिरहेको बताइन् । उनले रामघाट जोड्ने भेरी नदीको पुल शिलान्यास गरेको २ वर्ष बित्दासमेत काम सम्पन्न नभएकाले यथाशीघ्र निर्माणका लागि पहल गर्नुपर्ने बताइन् । सांसद मीनासिंह रखालले विकासमा मुद्दा ओझेलमा परेको बताइन् । ‘दैलेख, सुर्खेतलगायत सुगम जिल्लामा पनि सडकको अवस्था दयनीय छ,’ उनले भनिन्, ‘असार मसान्तमा विकासको काम सक्ने प्रवृत्ति हटाउन सरकारले बजेट कार्यान्वयनमा जोड दिन जरुरी छ ।’


सांसद पद्मा खड्काले भेरी नदीमा पुल नबन्दा भेरीपारिका बस्तीहरू अझै सडक सञ्जालमा जोडिन नसकेको बताइन् । उनले प्रदेश राजधानीको विकासमा ध्यान दिन प्रदेश सरकारको ध्यानाकर्षण गराइन् । ‘प्रदेश राजधानीभित्रका बाटाघाटाको अवस्था दर्दनाक छ, धुलीयाबिट–बांगेसिमल सडक निर्माणमा सरकारले चासो दिएको छैन,’ उनले भनिन्, ‘वीरेन्द्रनगरमा अझै ढल निकासका काम बाँकी छन् ।’ उनले पनि असारे विकासको प्रवृत्ति रोक्न जरुरी रहेको बताइन् । सांसद डम्मर विष्टले बाढीफीडितको समस्या समाधान गर्न बनाइएको समिति निष्क्रिय बनेको गुनासो गरे ।


सांसद कृष्णा शाहले अखाद्य वस्तुको बित्री प्रदेशभरि नै व्याप्त रहेकाले सरकारले ध्यान दिनुपर्ने बताइन् । उनले सरकारी सेवा प्रवाहलाई जनमैत्री बनाउन सरकारको ध्यानाकर्षण गराइन् । ‘अहिले पनि सेटिङमा सरकारी कामकाज हुने भएकाले सोझा जनताले विभिन्न सास्ती भोग्दै आइरहेका छन्,’ उनले भनिन्, ‘घूसबिना सरकारी कार्यालयमा काम गर्न समस्या छ, नियन्त्रणका लागि सरकारको ध्यान जान जरुरी छ ।’


सांसद बद्मीक्वारी बोहराले शे–फोकसुन्डो जाने बाटो अवरुद्ध भएको लामो समय भइसकेकाले प्रदेश सरकारले सुचारुका लागि पहल गर्नुपर्ने जनाइन् । सांसद दानसिंह परियारले दोस्रो चौमासिकको अन्तिम समयसम्म प्रदेश सरकारले विकासका काम सुरु नगर्नु दुर्भाग्यपूर्ण रहेको बताए । ‘विकासका काम अझै सुरु भएका छैनन्, यो वर्षको नीति तथा कार्यक्रम असफल बन्ने जोखिम बढेको छ,’ उनले भने, ‘बजेट कार्यान्वयनमा यस वर्ष पनि सरकार गम्भीर बनेको छैन, जसले जनतामा निराशा छाइरहेको छ ।’


उनले नाग्मा–गमगढी सडक हिमपातका कारण २ महिनादेखि बन्द हुँदा सर्वसाधारण मारमा परेको जनाए । संसदको सोमबारको बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले प्रस्तुत गरेको प्रांगारिक कृषिसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले भाग लिएका थिए । सांसद गोपाल शर्मा, यज्ञबहादुर बीसीलगायतले छलफलमा भाग लिएका थिए ।

प्रकाशित : फाल्गुन २८, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?