कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

आंगिक बन्यो रारा क्याम्पस

राजबहादुर शाही

मुगु — गमगढीस्थित रारा बहुमुखी क्याम्पसलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को आंगिक क्याम्पसको रूपमा हस्तान्तरण गरिएको छ  । यसअघि त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालन भएको क्याम्पस एमयूको आंगिक बनेको हो  ।

क्याम्पस सञ्चालनको १२ वर्षपछि आंगिक बनेको हो । क्याम्पसमा मंगलबार आयोजित कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका निमित्त रजिस्ट्रार यमबहादुर कार्कीलाई क्याम्पस व्यवस्थापन समिति अध्यक्ष जितबहादुर मल्लले बैठक पुस्तिका हस्तान्तरण गरे ।

मल्लले कार्कीलाई भौतिक संरचना विवरण, कर्मचारी र प्राध्यापक विवरण, चन्दादाताको नामावलीलगायत महत्वपूर्ण कागजपत्र हस्तान्तरण गरेसँगै क्याम्पस आंगिक बनेको हो । रजिस्ट्रार कार्कीले क्याम्पसलाई आंगिक बनाएको निर्णयसहित कर्मचारीको तलब र भौतिक व्यवस्थापनका लागि १९ लाख २१ हजार रुपैयाँको चेक हस्तान्तरण गरे । अब क्याम्पसको भौतिक संरचना निर्माण, कर्मचारी व्यवस्थापन, विषयगत शिक्षकको व्यवस्थालगायत काम एमयूले गर्ने निमित्त रजिस्ट्रार कार्कीले जनाए ।

क्याम्पस आंगिक बनेसँगै विद्यार्थी भर्ना शुल्क ६ हजार रुपैयाँबाट घटेर ४ हजार ५ सय हुने क्याम्पसले जनाएको छ । क्याम्पसका अनुसार अब विद्यार्थीले मासिक शुल्क ५ सय रुपैयाँ मात्र बुझाउनुपर्नेछ । विश्वविद्यालयको व्यवस्थापन संकायका डिन मस्तबहादुर गरन्जाले क्याम्पस एमयू मातहत आएपछि विद्यार्थीको भर्ना र मासिक शुल्कमा भारी कटौती गरिएको बताए ।

उनले करिब १२ वर्षसम्म चन्दा संकलनबाट सञ्चालन भएको क्याम्पसको सबै खर्च अब एमयूले बेहोर्ने जनाए । कार्यक्रममा परीक्षा प्रणाली सुधार्नुपर्ने, चिट चोरे पास हुने प्रवृत्ति अन्त्य हुनुपर्ने, क्याम्पसमा नियमविपरीत कर्मचारी भर्ना रोकिनुपर्नेलगायत माग सरोकारवालाले राखेका छन् ।


व्यवस्थापन समिति अध्यक्ष मल्लले विद्यार्थीलाई सस्तो, सुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्न क्याम्पस तयार रहेको बताए । उनले स्नातक तहसम्म सञ्चालित क्याम्पसमा स्नात्तकोत्तरको पढाइ सुरु गर्न पहल भइरहेको जनाए । क्याम्पसबाट अहिलेसम्म १ सय ५० विद्यार्थीले स्नातक तह पूरा गरिसकेका छन् । यस वर्ष ३ सय विद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रशासनले जनाएको छ ।

क्याम्पसमा अहिले शिक्षा र मानविकी संकायमा पठनपाठन भइरहेको छ । क्याम्पस प्रमुख सुशीलकुमार भामले क्याम्पसमा प्राविधिक शिक्षा सञ्चालन गर्न पहल भइरहेको बताए । उनका अनुसार पर्यटन, विज्ञान, इन्जिनियरिङलगायत विषय अध्यापनका लागि पहल भइरहेको छ । नगर प्रमुख हरिजंग शाहीले क्याम्पस आंगिक भएसँगै विद्यार्थीले सस्तो शुल्कमा गुणस्तरीय शिक्षा पाउने विश्वास व्यक्त गरे ।

प्रकाशित : फाल्गुन २९, २०७५ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?