लोकमार्ग मर्मत गरिँदै

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — जीर्ण बन्दै गएको राप्ती लोकमार्ग मर्मत हुने भएको छ  । सल्यानको श्रीनगरदेखि रुकुम पश्चिमको सल्लेसम्मको खण्डका विभिन्न ठाउँमा सडक मर्मत गर्ने तयारी गरिएको छ  ।

कालोपत्रे गरेको लामो समयसम्म थप मर्मत नहुँदा जीर्ण रहेको उक्त सडक यसै वर्ष मर्मतको तयारी भइरहेको सडक डिभिजन कार्यालय चौरजहारीले जनाएको छ । १५ करोडमा विभिन्न ठाउँमा मर्मत गरिने कार्यालय प्रमुख नरेन्द्र भट्टले बताए । सडक विभागअन्तर्गतको वैदेशिक महाशाखाले सडक मर्मतको ठेक्का आह्वान गरेको उनको भनाइ छ । ‘सडक मर्मतको ठेक्काको सम्झौता क्रममा रहेकाले अबलगत्तै मर्मत सुरु गरिनेछ,’ उनले भने, ‘सडक विभागले सडकको अनुगमन गरी मर्मतका लागि बजेटसमेत व्यवस्था गरिसकेको छ ।’


कार्यालयका अनुसार फागुन अन्तसम्म ठेक्का सम्झौता भएलगत्तै कामकाज सुरु हुनेछ । १८ महिनाभित्रै सडक मर्मत गर्ने गरी सम्झौता हुने र बिग्रे–भत्केको ठाउँमा राम्रोसँग बनाइने भट्टले बताए । रुकुम पश्चिमको मुसिकोट सल्लेदेखि सल्यानको श्रीनगरसम्म ८४ किमि सडकमध्ये ११ किमि मर्मत गरिनेछ । सडक विभागको वैदेशिक महाशाखाले गरेको अनुगमन प्रतिवेदनका आधारमा ११ किमि सडकको मर्मत गर्नुपर्ने देखिएको र बाँकी सडकका खाल्डाखुल्डी पुर्ने गरी योजना तयार पारिएको छ । पहिरोले पुरेको, पिच पूर्ण रूपमा उप्किएको तथा निकै जीर्ण बनेको सडकको पूर्ण मर्मत हुनेछ । केही पिच उप्किएको र खाल्डाखुल्डी परेको ठाउँमा टालटुल पारिनेछ । यसको साथै सडकका भित्तामा आएको पहिरो रोकथामको काम पनि हुनेछ ।


रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान र दाङलाई जोड्ने राप्ती लोकमार्ग जीर्ण बन्दा दैनिक सयौं यातायातका साधन जोखिम मोलेर आवतजावत गरिरहेका छन् । दुर्घटनाको जोखिम बढेको छ भने बर्खामा हिलो र हिउँदमा धूलोले यात्रुले सास्ती व्यहोर्न बाध्य छन् । ७ वर्षअघि उक्त सडक ओटासिल भएको थियो । राप्ती लोकमार्गमा सबैभन्दा अप्ठ्यारो खण्ड खौला झुल्नेटा खण्ड हो । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ३ र ६ नम्बर वडाको सिमानामै रहेको सडक सबैको टाउको दुखाइ बनेको छ । उक्त सडक हरेक वर्ष भासिंदै गइरहेको छ । सडक भासिंदै जाँदा यातायात आवागमनमा निकै सास्ती भइरहेको छ ।

बर्खामा मात्रै होइन, हिउँदमा पनि उक्त सडकका कारण सर्वसाधारण यात्रुले सास्ती पाइरहेका छन् । जति मर्मत गर्दा पनि उक्त सडक सुधारिनेको साटो बिग्रँदै जान थालेपछि अब उक्त खण्डको विकल्प खोजिने भएको छ । त्यसको नजिकबाट अर्को सडक निर्माण गर्ने कि भनेर जिल्लास्तरमा समेत छलफल भएको जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले बताए । जिल्लास्तरीय टोलीले उक्त सडकको अनुगमन गरी यस्तो विकल्पबारे छलफल भइरहेको उनको भनाइ छ ।

प्रकाशित : फाल्गुन २९, २०७५ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्

५ वटा कक्षाका विद्यार्थी एउटै कोठामा

विप्लव महर्जन

सल्यान — छत्रेश्वरी गाउँपालिकाको भोटचौरस्थित त्रिभुवन जन माविमा सञ्चालित सुस्तश्रवण स्रोत कक्षाका विद्यार्थी एउटै कोठामा बसेर अध्ययन गर्न बाध्य छन्  । स्रोत शिक्षाअन्तर्गत कक्षा १ देखि ५ सम्मका बालबालिका एउटै कक्षामा बसेर पढिरहेका छन्  ।

एउटै कक्षामा बसालेर पढाउँदा विभिन्न समस्या आउने गरेको छ । शिक्षक अभावले ५ वटै कक्षाका बालबालिकालाई सँगै राखेर पढाउनुपर्ने बाध्यता भएको विद्यालयको भनाइ छ । ‘सँगै राखेर पढाउँदा बुझिँदैन,’ एक विद्यार्थीले सांकेतिक भाषामार्फत भने, ‘हामीले पटकपटक छुट्टाछुट्टै कोठामा पठनपाठन गराउन माग गरे पनि सम्भव भएको छैन ।’

प्रधानाध्यापक जितबहादुर भण्डारीका अनुसार कक्षा १ देखि ५ सम्म ११ छात्र र ४ छात्रा अध्ययनरत छन् । विद्यार्थी संख्या बर्सेनि बढ्दै गए पनि सुस्तश्रवणका बालबालिकालाई पढाउने एक मात्र शिक्षक हुँदा पठनपाठनमा समस्या भएको उनले जनाए । ‘स्रोत कक्षाका लागि एक मात्र शिक्षक कार्यरत भएकाले समस्या भएको हो,’ उनले भने, ‘स्रोतकक्षाका बालबालिकालाई अध्ययन गराउन शैक्षिक सामग्री, पाठ्यपुस्तक, फर्निचर, खेलकुद सामग्रीलगायत समस्या पनि छ ।’

२०५९ सालमा साबिक जिल्ला शिक्षा कार्यालयले विद्यालयमा सांकेतिक कक्षा सञ्चालन गरेको थियो । विद्यालयमा १० विद्यार्थीको मात्र कोटा कायम गरिए पनि अहिले १५ जना अध्ययनरत छन् । गाउँपालिकाको सहयोगमा स्मार्ट टीभीअन्तर्गत पठनपाठन हुन थालेपछि सुस्त श्रवण कक्षाका बालबालिकासमेत थपिएको विद्यालयले जनाएको छ ।

भाषा शिक्षकै नहुँदा पठनपाठन अन्योलमा परेको उनले जनाए । ‘पहिले बालबालिकाले हाउभाउबाटै पठनपाठन गर्दै आइरहेका थिए,’ उनले भने, ‘सांकेतिक भाषाकै शिक्षिका आएपछि पठनपाठनमा धेरै परिवर्तन आएको छ ।’ उनले विभिन्न अभावबीच पनि बालबालिकाको शैक्षिक गुणस्तर बढ्दै गएको दाबी गरे ।


सांकेतिक भाषा शिक्षक शान्ता केसीले सबैलाई सँगै राखेर पढाउँदा कठिनाइ हुने बताइन् । अरू शिक्षकको व्यवस्था भए छुट्टाछुट्टै कक्षामा बालबालिकालाई पढाउन सकिने उनले बताइन् । अहिले गाउँपालिकाको सहयोगमा स्मार्ट टीभीमार्फत आफूले अध्यापन गराइरहेको उनले जानकारी दिइन् । सुस्तश्रवण कक्षा सञ्चालन गरेपछि बालबालिकालाई खान–बस्न व्यवस्था सरकारले गर्दै आएको उनको भनाइ छ ।

प्रकाशित : फाल्गुन २९, २०७५ १२:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्