कैना बजार एक महिनादेखि अँध्यारो

भीमबहादुर सिंह

जाजरकोट — नलगाड नगरपालिका ३, कैनाबजार एक महिनादेखि अँध्यारो छ  । साङ्ट भेरीखोला लघु जलविद्युत् आयोजनाको कुलो पुरिँदा विद्युत् आपूर्ति ठप्प भएको हो  ।

कैना बजार एक महिनादेखि अँध्यारो

कैना–नेटीलेक सडक निर्माणका क्रममा आयोजनाको कुलो पुरिएको थियो । सडकको ट्र्याक खोल्ने क्रममा डोजरले जथाभावी माटो फाल्दा तल रहेको कुलो पुरिएको हो । जसकारण पावर हाउससम्म पानी आपूर्ति रोकिएको छ । विद्युत् नहुँदा नलगाडको कैनाबजार, टट्टागाउँ, चावलेचौर, लहँका बासिन्दा प्रभावित भएका छन् ।


१६ किलोवाट विद्युत उत्पादन क्षमताको यो आयोजनाले कैनाबजारलगायत क्षेत्रमा विद्युत् आपूर्ति गर्दै आएको थियो । घरेलु उद्योगका कामकाज ठप्प भएका छन् । स्वास्थ्य संस्थालगायत सरकारी निकायको सेवा प्रभावित भएको छ । स्थँनीय ३ सय परिवार अँध्यारोमा बस्न बाध्य रहेको स्थानीय भक्तबहादुर पुन बताउँछन् । ‘विद्युत् अभावले हामीलाई निकै सास्ती भएको छ,’ उनले भने, ‘बिजुली नहुँदा मैनबैत्ती, टुकी, दियालो बाल्न बाध्य छौं ।’


विद्युत् नहुँदा एसईई तयारीमा रहेका विद्यार्थीको पठनपाठनमा बाधा पुगेको छ । ‘परीक्षा आइसक्यो,’ सूर्योदय माविकी शर्मिला घर्तीले भनिन्, ‘मैनबत्तीको भरमा पढनुपर्छ ।’ भएका भौतिक पूर्वाधार बेवास्ता गर्दै सडक बनाउँदा लगानी खेर गएको टट्टाकी धर्मी पुनले बताइन् । डोजरले जथाभावी माटो फल्दा कुलो पुरिएको उनको भनाइ छ । उनले भनिन्, ‘एउटा संरचना भत्काएर अर्को संरचना बनाउनुको औचित्य छैन ।’ सरकारी बजेटको दुरुपयोग मात्र भएको उनले बताइन् । तत्काल कुलो बनाउन र विद्युत् सेवा सञ्चालन गर्न भने सजिलो छैन ।

प्रकाशित : फाल्गुन २९, २०७५ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?