१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

बिजुली बाल्न ४० दिन श्रमदान

हरि गौतम, विप्लव महर्जन

रुकुम पश्चिम र सल्यान — सानीभेरी गाउँपालिका–६, कोटगाउँकी फूलमाया पुन निरन्तर श्रमदानमा जुटेकी छन् । गत माघ १० गतेदेखि उनी दिन नबिराई सिमेन्ट बालुवा बोक्ने, नहर खन्ने, ढुंगा बोक्ने काममा छिन् । ६ नम्बर वडाकै खेतगाउँका टेकबहादुर विक पनि निरन्तर श्रमदानमा खटिएका छन् ।

विकले उपकरण ढुवानीदेखि जोखिम मोलेर भीरपहरामा पाइप राख्ने सम्मको काम श्रमदानमै गरे । पुन र विकले यसरी श्रमदान गर्नुको उद्देश्य हो– उज्यालो भित्र्याउनु ।


वर्षौंदेखिको अँध्यारो हटाउन पुन र विक मात्रै होइन ६ नम्बर वडाका कोटगाउँ, छहरा, खेत र सल्लीचौरका दुई सय ३७ घरधुरीले नै यसरी नै श्रमदान गरिरहेका छन् । गाउँमै विद्युत आयोजना निर्माण हुने भएपछि गाउँलेहरू व्यक्तिगत मेलो छाडेर श्रमदानमा कस्सिएका हुन् । ‘बत्ती बल्ने भएपछि श्रमदानमा जुटेका छौं,’ पुनले भनिन्, ‘बत्ती नबलेसम्म जति दिन भए पनि काम गर्छौं ।’ राष्ट्रिय प्रसारण लाइन जोडिने सम्भावना नभएपछि स्थानीय आफैं बत्ती बनाउन लागेका हुन् ।


वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विद्युत निर्माणका उपकरण र प्राविधिक खर्च दिन तयार भएपछि श्रमदानका सम्पूर्ण काम गर्न स्थानीय तयार भएका हुन् । गाउँकै स्रोतबाट बिजुली बल्ने भएपछि उत्साहपूर्वक श्रमदानमा सहभागी भइरहेको विकले बताए । स्थानीय देउताखोलाको पानीलाई उपयोग गरेर मुरीगारमा देउताखोला मुरीगार लघुजलविद्युत आयोजना निर्माण भइरहेको छ ।


उक्त आयोजना निर्माणका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ३८ लाख ९९ हजार, साबिक दुली गाविसको सात लाख ५० हजार र सानीभेरी गाउँपालिकाको चार लाख बजेट खर्च हुँदै छ । बजेटको ४० प्रतिशत श्रमदान स्थानीयले गर्नुपर्ने व्यवस्था छ । तर आयोजना निर्माण हुनुपूर्व ४० प्रतिशत बढी श्रमदान भइसकेको आयोजना निर्माण समितिका अध्यक्ष पहलसिङ घर्तीमगरले बताए । दुई सय ३७ घरपरिवारले ४०/४० दिनका दरले श्रमदान गरिसकेको उनको भनाइ छ । आयोजना निर्माणका करिब ८० प्रतिशत काम पूरा भइसकेको उनले जनाए ।


विद्युत् आयोजनाबाट १३ किलोवाट विद्युत् उत्पादन हुनेगरी सर्भे गरिएको छ । काम गर्दै जाँदा उत्पादन क्षमता बढ्ने अनुमान गरिएको समितिले जनाएको छ । वैशाख पहिलो सातासम्म बिजुली बाल्नेगरी काम भइरहेको अध्यक्ष घर्तीले बताए । अब ट्यांकी निर्माण, पोल गाड्ने र तार तान्ने काम मात्रै बाँकी छ । आयोजनाका लागि आठ सय ६८ मिटर लामो नहर बनाइएको छ ।


छत्रेश्वरीका आठ गाउँमा बिजुली

सल्यानको छत्रेश्वरी गाउँपालिकाका आठ गाउँमा विद्युत् सुविधा पुगेको छ । छत्रेश्वरी–७, स्थित जामुने, पानीखोला, रावतगाउँ, राङ्सी, डुम्री, बतासे, श्रीचवर र साङकोटमा विद्युत् सुविधा पुगेपछि स्थानीयलाई सल्लाको झर्रो बाल्नुपर्ने बाध्यता टरेको छ ।


ती गाउँमा बिजुली पुर्‍याउन गाउँपालिकाले गत वर्षदेखि योजनाको काम सुरु गरेको थियो । अहिले ७ नम्बर वडाका पाँच सय घरधुरीमा बिजुली बलेको छ । गाउँमा बिजुली बलेपछि बेलुकीको समयमा सल्ले झर्रो, टुकी र लाल्टिनको प्रयोग गर्नुपर्ने बाध्यता हटेको पानीखोलाका नरबहादुर खड्काले बताए । ‘बिजुली पुगेपछि घरायसी कामकाजमा सजिलो भएको छ । बालबालिकाले अबेरसम्म पढ्न पाएका छन्,’ उनले भने, ‘विद्युत् सुविधाले घरघरमा टेलिभिजन राख्ने क्रम बढ्दै गएको छ ।’


रावतगाउँका प्रेमकुमार घर्तीले बत्ती पुगेपछि गाउँ रातभरि नै झिलिमिली हुन थालेको बताए । ‘सम्साँझै सुनसान हुने गाउँमा बिजुली पुगेपछि राति अबेरसम्म चहलपहल हुने गरेको छ,’ उनले भने, ‘गाउँका केही युवाले उद्यम गर्ने योजनासमेत बनाएका छन् ।’


वडा नं ७ का अध्यक्ष मेघराज भण्डारीले धेरै लामो मेहनतपछि वडा उज्यालो बनाउन सफल भइएको बताए । उनका अनुसार गाउँपालिकाको ५८ लाख र समावेशी निर्माण सेवाको ५० लाख रुपैयाँ लगानीमा गाउँमा बिजुली पुगेको हो । उपभोक्ताले आठ लाख रुपैयाँ लगानी र श्रमदान गरेको वडाध्यक्ष भण्डारीले जानकारी दिए ।


नेपाल विद्युत् प्राधिकरणले पोल गाड्ने र तार तान्ने काममा सहयोग गरेको थियो । भोल्टेज कम हुने समस्या हल गर्न जामुनेमा ५० वाट तथा राङ्सी र डुम्रीगाउँमा २५ वाटका ट्रान्सफर्मर जडान गरिएको उनको भनाइ छ । ‘तुसारेमा छिट्टै लाइन विस्तार गर्ने योजना छ,’ उनले भने, ‘आसपासका गाउँमा समेत विद्युत् सेवा पुर्‍याउन गाउँपालिकाले पहल गरिरहेको छ ।’ गाउँपालिका अध्यक्ष सन्तोष केसीले पाँच वर्षभित्र गाउँपालिकाभरि नै विद्युत् सेवा पुर्‍याउने लक्ष्यअनुसार काम भइरहेको बताए ।

ट्रान्सफर्मर हटाउन माग

शारदा नगरपालिका–४, पिपलनेटा स्थित महेन्द्ररत्न माध्यमिक विद्यालयले विद्यालय हाताभित्रको ट्रान्सफर्मर हटाउन माग गरेको छ । ट्रान्सफर्मरका कारण विद्यार्थी जोखिममा परेको भन्दै हटाउन विद्युत् प्राधिकरणमा माग गरिएको विद्यालयले जनाएको छ ।


सदरमुकाम आसपासका क्षेत्रमा विद्युतीकरण गर्न दुई दशकअघि प्राधिकरणले विद्यालय हाताभित्र ट्रान्समिटर जडान गरेको थियो । ट्रान्सफर्मरको स्वीच जमिनबाट दुई मिटर उचाइमा मात्र रहेकाले विद्यार्थी असुरक्षित भएको प्रधानाध्यापक प्रकाश हमालले बताए । ‘ट्रान्समिटरका कारण विद्यार्थी असुरक्षित छन्,’ उनले भने, ‘हामीले पटकपटक हटाउन माग गरे पनि बेवास्ता भइरहेको छ ।’


उनले ट्रान्सफर्मर हटाउन २०७२ साल पुसमा दुई पटक विद्युत् प्राधिकरणलाई पत्राचार गरिएको जानकारी गराए । उनका अनुसार मौखिक रूपमा पटकपटक विद्युत् प्राधिकरणलाई आग्रह गरिएको छ । विद्यालयमा चारैतिर घेरबार गरिएको छ । कहिलेकाहीँ ट्रान्सफर्मरमा समस्या आए विद्युत् प्राधिकरणले बाहिरको गेटमा ताला लगाउने गरेको छ । जसका कारण पटकपटक पठनपाठन अवरुद्ध भएको प्रधानाध्यापक हमाल बताउँछन् ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोमप्रकाश थापाले प्राधिकरणले आफ्नो स्वार्थका लागि विद्यालयमा ट्रान्समिटर राखेको बताए । ‘विद्यार्थीको ज्यान जोखिममा पारेर यहाँ ट्रान्सफर्मर राखिएको छ,’ उनले भने, ‘कुनै पनि बेला ट्रान्सफर्मरका कारण दुर्घटना हुने जोखिम छ ।’ उनका अनुसार विद्यालयमा जडान गरिएको ट्रान्सफर्मरबाट रातामाटा, साइलाकम्त र पीपलनेटाका करिब दुई सय घरधुरीले विद्युत् सुविधा उपयोग गर्दै आइरहेका छन् ।

प्रकाशित : फाल्गुन ३०, २०७५ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?