कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बाली जोगाउन बीउ बैंक

एलपी देवकोटा

जुम्ला — जिल्लाका रैथाने बाली जोगाउन स्थानीय तहमा बीउ बैंकको स्थापना गरिएको छ । स्थानीय बाली लोप हुँदै गएपछि किसानले सहकारी मार्फत बीउ बैंक स्थापना गरेका हुन् । किसानले गाउँमा फल्ने रैथाने बालीको बीउ बैंकमा राख्ने र बैंकबाट बीउ लिएर खेती गर्ने गरिरहेका छन् ।

बाली जोगाउन बीउ बैंक

चन्दननाथ नगरपालिकासहित तातोपानी, गुठीचौर, पातारासी, तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा बीउ बैंक स्थापना गरिएको हो ।


पछिल्लो समय जलवायु परिवर्तनले गाउँमा बीउको संकट पर्न थालेको छ । बीउ संकट टार्नका लागि बीउ बैंक स्थापना गरिएको हिमा गाउँपालिका–६, धाचुगाउँस्थित पुंगेलीमाई बीउ बैंककी अध्यक्ष विष्णुदेवी अधिकारीले बताइन् । ‘रैथाने बालीको माग बजारमा बढ्दै गएको छ, गाउँमा बीउको संकट टार्न पनि बैंक स्थापना गरिएको हो,’ उनले भनिन्, ‘कृषकले उत्पादन गर्न चाहेको बालीको बीउ बैंकबाट लिने र पछि लिएको बीउमा एक किलो थपेर फिर्ता गर्ने गरेका छन् ।’


गाउँमा बीउ बैंक स्थापना भएपछि बीउ खोज्नका लागि विभिन्न ठाउँमा धाउनुपर्ने बाध्यता हटेको तातोपानी गाउँपालिकास्थित जर्मीका हर्केश दमाईले बताए । ‘एक भारी खेतमा लगाउने बालीका लागि पनि बीउ खोज्न साहुको घरमा जानुपर्ने बाध्यता थियो,’ उनले भने, ‘अहिले बीउ बैंकबाट छानीछानी विभिन्न बालीका बीउ लिने गरेका छौं ।’


उनका अनुसार जलवायु परिवर्तनको प्रभावका कारण गाउँमा बीउ अभावको समस्या हुने गरेको छ । समयमा पानी नपर्ने, हिउँ नपर्ने, सुक्खा हुनेलगायत समस्याका कारण बीउको समस्या हुन थालेको उनी बताउँछन् ।


स्थानीय कृषकको सक्रियतामा सहकारी मार्फत बीउ बैंक स्थापना गरिएको जलवायु अनुकूलनसम्बन्धी काम गर्दै आएको पेस नेपालका अध्यक्ष किशोर न्यौपानेले बताए । बीउ बैंकमा बीउ सुरक्षित राख्ने तरिका, भण्डारका लागि आवश्यक सामग्री र कृषकहरूलाई क्षमता अभिवृद्धिका तालिममा संस्थाले सहयोग गरिरहेको उनले जनाए । उनका अनुसार तातोपानी गाउँपालिकाको जर्मी, तिलाको डुन्डेली र हिमाको बागबजारमा बीउ बैंकका लागि भवन निर्माण गरिएको छ ।


स्थानीय तहमा बीउ बैंक स्थापना गर्दा साविक कृषि विकास कार्यालयले रैथाने बीउ उपलब्ध गराएको कृषि ज्ञान केन्द्रका अधिकृत बालकराम देवकोटाले बताए । ‘केही वर्षअघि घरघरमा क्विन्टलका दरले उत्पादन हुने रैथाने बालीको बीउ हराउँदै गएकाले बीउ बैंक स्थापनापछि संरक्षणमा टेवा पुगेको छ,’ उनले भने, ‘बीउ बैंकमा फापर, कोदो, चिनो, कागुनो, गहत, मास, तिलखुडो, सिमी, गहुँ, जौ, मकै, भटमास, मार्सी धानलगायत दुई दर्जनभन्दा बढी रैथाने बाली संकलन गर्ने गरिएको छ ।’


रैथाने बालीको संरक्षणका लागि प्रचारप्रसार, एक गाउँ एक उत्पादन, पकेट क्षेत्र निर्धारण, भण्डारणको व्यवस्था, सहज बजारीकरणको व्यवस्थापनलगायत पक्षलाई नीतिगत रूपमा कार्यान्वयन गर्न स्थानीय सरकार सक्रिय रहेको पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले बताए । ‘जुम्लाको पहिचान रैथानेबाली र उत्पादनसँग जोडिएको छ,’ उनले भने, ‘उत्पादन बढाउन कृषकमैक्री कार्यत्रम सञ्चालन गरिरहेका छौं ।’


लोपोन्मुख अवस्थामा रहेका बाली उत्पादनका लागि सामूहिक खेती गर्ने कृषकलाई सहुलियतपूर्ण ऋणको व्यवस्था गरेको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए । त्यस्तै हिउँदको समयमा तरकारी खेती सहज बनाउन जिल्लाका ग्रामीण क्षेत्रमा ग्रिनहाउस निर्माण हुन थालेका छन् ।


ग्रिनहाउस निर्माणपछि गाउँगाउँमा बेमौसमी तरकारी खेतीमा किसान आकर्षित भएका छन् । बेमौसमी तरकारी खेती गर्न थालेपछि कृषकको जीवनस्तरमा परिवर्तन आउन थालेको स्थानीय तिल रावतले बताए ।

प्रकाशित : चैत्र ३, २०७५ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?