१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

ज्यालादारी कर्मचारीमाथि विभेद

‘शरीरभरि करेन्ट लागेपछि उपचारमै तीन लाखभन्दा बढी खर्च, न ऋण तिर्न सकिएको छ न त सरकारले केही सहयोग गरेको छ’

वीरेन्द्रनगर — रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–४ तलिगाउँका रोलबहादुर मल्ल विद्युत्को हाइटेन्सन लाइनमा काम गर्ने क्रममा करेन्ट लागेर घाइते भए । २०६९ सालदेखि नेपाल विद्युत् प्राधिकरणको रुकुम वितरण केन्द्रमा काम गर्न सुरु गरेका उनी असोज ६ गते हाइटेन्सनमा काम गर्दा घाइते भएर थला परे ।

ज्यालादारी कर्मचारीमाथि विभेद

विद्युत् प्राधिकरण सल्यानमा कार्यरत विन्द्रा भण्डारी पनि अग्लो स्थानमा मिटर रिडिङ गर्ने समयमा लडेर घाइते भइन् । खुट्टाको जोर्नीमा समस्या भएपछि अहिले उनलाई मिटर रिडिङ गर्ने काममा समस्या भइरहेको छ ।


मल्ल र भण्डारी प्रतिनिधि उदाहरण मात्र हुन् । विद्युत्को विभिन्न लाइनमा काम गर्ने क्रममा अंगभंग भएकाको संख्या बढ्दै गएको छ । हात खुट्टा र छातीमा समेत करेन्ट लागेर घाइते भएका मल्ल अहिले शारीरिक रूपमा कमजोर छन् । ‘अहिले त पहिलाको जस्तो काम पनि गर्न सक्दैन,’ उनी भन्छन्, ‘शरीरभरि करेन्ट लागेपछि उपचारमै तीन लाखभन्दा बढी खर्च भयो । अहिलेसम्म न त ऋण तिर्न सकिएको छ न सरकारले केही सहयोग गरेको छ ।’


सबै हातखुट्टा राम्रोसँग नचल्ने भएपछि अहिले उनी अन्य ज्यालादारीको सहयोगीको रूपमा मात्रै काम गर्छन् । पहिलाको जस्तो काम गर्न नसक्दा ज्याला पनि कम हुने गरेको उनको दुखेसो छ । भण्डारीले पनि पहिलाको जस्तो राम्रो काम अहिले नसक्ने बताइन् । ‘अहिले मेरो कामको विश्वास पनि हुँदैन,’ उनले भनिन्, ‘पैसा पनि पहिलेजस्तो हुँदैन ।’ २०६६ सालमा सल्यान वितरण केन्द्रमा काम गरेकी उनी २०७२ साल मंसिर ३ गते लडेर घाइते भएकी हुन् ।


नेपाल विद्युत् प्राधिरण दैनिक ज्यालादारी संघर्ष समितिका अनुसार विद्युत् काम गर्ने क्रममा २०६१ सालयता कर्णालीमा एक जनाको मृत्यु भएको छ । विद्युत्को पोलमा काम गर्ने क्रममा करेन्ट लागेर सुर्खेतका कालिप्रसाद चौधरीको २०७२ सालमा मृत्यु भएको समितिले जनाएको छ ।


अहिले कर्णालीमा करिब दुई सयभन्दा बढी ज्यालादारी कर्मचारी विद्युत् प्राधिकरणको विभिन्न वितरण केन्द्रमा काम गरिरहेका छन् । समितिका अनुसार कर्णालीका विभिन्न जिल्लामा ज्यालादारी काम गर्ने क्रममा घाइते भएर विशाल खत्रीको हात र खुट्टा भाँचिएको छ भने सरोज नायक र वीरेन्द्र खड्काको खुट्टा भाँचिएको छ । काम गर्ने क्रममै खगेन्द्र शर्माको मेरुदण्ड र नितेश थापाको हात भाँचिएको थियो ।


२०६१ सालदेखि ज्यालादारीका रूपमा काम गर्दै आएका कर्मचारीले आफूहरूको अधिकारका लागि लडिदिने कोही नभएको दुखेसो गरेका छन् । शनिबार वीरेन्द्रनगरमा विद्युत् प्राधिकरण दैनिक ज्यालादारी संघर्ष समितिले आयोजना गरेको प्रदेशस्तरीय भेलामा सहभागीले उचित ज्याला नपाएको गुनासो गरे ।


‘आफूसँगै काम गरेका टाठाबाठाहरू स्थायी भएर काम गर्छन्,’ ज्यालादारी मोहन राना भन्छन्, ‘हाम्रा लागि माथिल्लो तहमा बोलिदिने मान्छे कोही भएनन् ।’ करेन्ट लागेर अंगभंग भए पनि काम गरिरहेका उनीहरूले आफूहरूको श्रमशोषण भएको गुनासो गरे ।


ज्यालादारी कर्मचारी पर्शुराम चौधरीले खटेर काम गर्दा पनि श्रमअनुसारको ज्याला नपाएको दुःख सुनाए । ‘पहिला हामीलाई कर्मचारीको रूपमा पहिचान नै गरिएन,’ उनी भन्छन्, ‘अहिले पहिचान भए पनि श्रमअनुसारको पारिश्रमिक छैन ।’ अर्का ज्यालादारी सुरज भण्डारीले बिरामी बिदामा बस्दा पनि त्यस दिनको तलब काटिने गुनासो गरे ।


दैनिक ज्यालादारी संघर्ष समितिका अनुसार कर्णालीका प्रत्येक जिल्लाका ज्यालादारी कर्मचारीले पाउने तलब फरकफरक छ । सुर्खेत र दैलेखका ज्यालादारीले एक महिना काम गरे पनि २९ दिनको तलब पाउँछन् । अन्य जिल्लाका ज्यालादारीले १५/२० दिनको मात्रै पारिश्रमिक पाउने गरेको समितिले जनाएको छ । ज्यालादारीले आफूहरूलाई म्यादी हुँदै स्थायी गरिनुपर्ने माग राखेका छन् ।


यसैबीच, समितिको प्रथम भेलाले कर्णाली प्रदेशमा नयाँ समिति चयन गरेको छ । समितिले घनश्याम बीसी (सुर्खेत) को अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो, जसको उपाध्यक्षमा लोकबहादुर शाही (दैलेख), सचिवमा रामबहादुर (रुकुम), सहसचिव लक्ष्मण श्रेष्ठ (सल्यान), कोषाध्यक्षमा विद्या थापा (सुर्खेत) छन् ।


– चाँदनी कठायत (प्रशिक्षार्थी)

प्रकाशित : चैत्र ३, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?