कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

दूधले बढायो आम्दानी

हरि गौतम

रुकुम पश्चिम — मुसिकोट नगरपालिका–१३, काउलेचौरका नारायण खड्काले दूध बिक्रीबापत फागुनमा २४ हजार रुपैयाँ आम्दानी गरे । उनको यो आम्दानी तीन महिनाअघिको भन्दा दोब्बर हो । मुसिकोट नगरपालिका १२, का जगत ओलीले तीन महिनायता दूध बिक्री मार्फत प्रतिमहिला २१ हजार रुपैयाँ बुझ्दै आएका छन् । 

खड्का र ओली मात्र होइन, मुसिकोट नगरपालिकाका अधिकांश किसानको दूध जिल्लाबाहिर जान थालेपछि उनीहरूको आम्दानी बढ्दै गएको छ । जिल्लाका तीन सय ३० किसानले उत्पादन गरेको सबै दूध बाँकेको कोहलपुर पुग्छ । मुसिकोट नगरपालिका–४, को नागरिक दुग्ध सहकारी संस्थाले चिलिङ भ्याट र चिलिङ भ्यान सञ्चालन गरेपछि किसानले दूध बिक्रीका लागि चिन्ता मान्नुपर्ने अवस्थाको अन्त्य भएको छ । सहकारीले चिलिङ भ्यान मार्फत दूध बिक्रीका लागि कोहलपुरसम्म लैजाने गरेको छ ।


‘दुई महिनाअघिसम्म मसँग दुईवटा मात्रै भैंसी थिए अहिले चार भैंसी थपेको छु,’ खडाले भने, ‘उतिबेला दुई भैंसीको थोरै दूध बिक्री गर्न पनि मुस्किल हुन्थ्यो, अहिले ६ भैंसीको दूध घरबाटै बिक्री भइरहेको छ ।’ उनको घरबाटै दैनिक २५ लिटर दूध बिक्री हुन्छ । भैंसीको दूध दुहुन नपाउँदै गाडी घरमै पुग्छ । उनले थप भैंसी पाल्नका लागि खोर व्यवस्थापन गर्दैछन् । ओलीले पनि उत्पादन भए जति दूध बिक्री हुन थालेपछि भैंसी थपेका छन् । यसअघि दुई भैंसी पालिरहेका ओलीले फागुनदेखि तीन भैंसी थपेका छन् । उनको घरबाटै दैनिक १८ लिटर दूध बिक्री हुन्छ ।


सहकारीमा दूध बेच्ने तीन सय ३० मध्ये तीन सय किसानले पहिलो पटक दूध बिक्री गर्न लागेका हुन् । त्रिवेणी र सानीभेरी गाउँपालिकाका अधिकांश क्षेक्रका किसानको दूध बित्री हुन सुरु भएको छ । हरेक दिन सहकारीले गाउँगाउँ पुगेर दूध संकलन गरेर सोलावाङस्थित चिलिङ भ्यानमा स्टोर गर्छ ।


हरेक तीन दिनमा उक्त दूध कोहलपुरस्थित नेपाल दुग्ध विकास संस्थानको नेपालगन्ज दुग्ध वितरण आयोजनालाई बेच्दै आएको सहकारीले जनाएको छ । गाउँगाउँमा कम उपयोगमा रहेको दूध बिक्री हुन थालेपछि किसान हौसिएका छन् । एउटा भैंसी पालेकाले दुई, दुई पालेकाले चार भैंसी थप्दै गएका छन् । घरबाटै दूध बिक्री हुन थालेपछि व्यावसायिक भैंसीपालनको लहर चलेको छ । सहकारीले दूध संकलन गर्न र बिक्री गर्न थालेको दुई महिना पूरा भयो ।


गत माघ फहिलो सातादेखि सहकारी किसानको दूध संकलन गरेर बजारमा बिक्री गर्न थालेको थियो । अहिलेसम्म किसानको ४१ हजार लिटर बढी दूध बित्री गरिदिएको सहकारीका अध्यक्ष धिरन शिर्पालीले बताए । उनका अनुसार माघ र फागुन महिनामा २९ हजार दुई सय लिटर दूध कोहलपुर पुर्‍याइएको छ । सात हजार लिटर दूध स्थानीय बजारमा बिक्री भएको र तीन हजार दूधको अन्य उत्पादन बनाइएको अध्यक्ष शिर्पालीले बताए ।


कोहलपुर पुग्ने जिल्लाको दूध गुणस्तरीय भएको पुष्टि भएकाले जति दूध पनि बिक्री हुने सम्भावना रहेको सहकारीले जनाएको छ । अहिले दैनिक एक हजारदेखि एक हजार तीन सय लिटरसम्म दूध संकलन हुँदै आएको छ ।


सहकारीले मुसिकोट नगरपालिकासहित सानीभेरी, त्रिवेणी र बाँफिकोट गाउँपालिकाका विभिन्न ठाउँमा संकलन केन्द्र स्थापना गरेर दूध संकलन गर्ने गरेको छ । एक करोड तीस लाखको लगानीमा सहकारीले चिलिङ भ्याट, चिलिङ भ्यान तथा अन्य दुई वटा गाडी खरिद गरिएको जनाएको छ ।

प्रकाशित : चैत्र ४, २०७५ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?