कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

गीत गाएर गुजारा चलाउँदै दृष्टिविहीन

विप्लव महर्जन

सल्यान — आर्थिक अवस्था कमजोर दृष्टिविहीन गीत गाएर गुजारा चलाएका छन् । बुटवल उपमहानगरपालिका १३, रुपन्देहीका दृष्टिविहीनको टोली गीत गाउँदै संकलन भएको रकमले गुजारा चलाउन सल्यान आइपुगेको छ । उनीहरूले टोलटोलमा गएर गीत गाउने र स्थानीयले दिएको रकम बाँडेर गुजारा चलाउँदै आइरहेका छन् । 

गीत गाएर गुजारा चलाउँदै दृष्टिविहीन

आर्थिक अवस्था कमजोर भएका कारण विभिन्न जिल्लामा गएर समूहमा गीत गाउने गरिएको उनीहरूको गुनासो छ । उनीहरूले दृष्टिविहीन संरक्षण केन्द्र गठन गरी आफूहरूजस्तै अपाङ्गता भएका व्यक्तिको संरक्षण गरिरहेको जनाएका छन् ।


‘सरकारले दृष्टिविहीनलाई मासिक ६ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिदै आएको छ, त्यसले हाम्रो खाजा खर्चसमेत जुटेन,’ केन्द्रका संस्थापक रामबहादुर पुलामीले भने, ‘त्यसैले विभिन्न जिल्लामा गएर चन्दा संकलन गरी अरू दृष्टिविहीनको समेत पालनपोषण गरिरहेका छौं ।’ उनका अनुसार हिंडडुल गर्न नसक्ने र अन्य शारीरिक अशक्तता भएका व्यक्तिहरू केन्द्रमा आश्रय लिएर बसिरहेका छन् ।


सरकारले बेवास्ता गरेका कारण आफूहरू गीत गाउदै मागेर हिड्न बाध्य भएको उनले जनाए । दृष्टिविहीन राजकुमारी पुनमगरले आफूहरूसँग भएको कला प्रस्तुत गरेर जीविकोपार्जन गरिरहेको बताइन् । ‘दृष्टिविहीन भएकाले चाहेर पनि अरु काम गर्नसकेका छैनौं, आफूसँग भएको कला प्रस्तुत गर्दै केही रकम संकलन गरेका छौं,’ उनले भनिन्, ‘त्यहींबाट हाम्रो गुजारा चलिरहेको छ ।’


आफूसँग भएको गाउने सीप जीवन जिउने सहारा बनेको उनी बताउँछिन् । विभिन्न सीपमूलक तालिम पाए एकै ठाउँमा बसेर कुनै सामग्री उत्पादन गर्न सकिने उनको भनाइ छ । बारम्बार आफूहरूका लागि सीपमूलक तालिमको माग गरे पनि सरकारी निकायले बेवास्ता गरिरहेको उनले गुनासो गरिन् । उनका अनुसार गाएर संकलन भएको रकमले केन्द्रमा आबद्ध अन्य दृष्टिविहीनको पढाइलेखाइ, स्वास्थ्य उपचार, आवश्यक खाना र अन्य खर्च बेहोर्ने गरिएको छ ।


सल्यान सदरमुकाममा केही गीत गाएर स्थानीयलाई विभिन्न सन्देश प्रवाह गरेको उनको भनाइ छ । केन्द्रले केही बालबालिकाको समेत संरक्षण गरिएको जनाएको छ । केन्द्रमा रहेको बालबालिका नियमित रुपमा विद्यालय जाने गरेका छन् ।


आर्थिक स्रोत जुटाउन विभिन्न जिल्ला घुम्ने क्रममा रोल्पा, रुकुम, प्यूठान, दाङ हुँदै सल्यान आइपुगेको दृष्टिविहीन सौगात चौधरीले बताए । ‘कुनै पनि काम गर्न नसक्ने अपांगलाई सरकारले संरक्षण गर्नुपर्थ्यो तर हामी वर्षौंदेखि बेवास्तामा परिरहेका छौं,’ उनले भने, ‘त्यसैले जिल्लाजिल्लामा गई गीतमार्फत विभिन्न सामाजिक विकृतिविरुद्ध सन्देशसमेत प्रवाह गर्ने र आर्थिक सहयोग संकलन गरिरहेका छौं ।’

प्रकाशित : चैत्र ४, २०७५ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?