१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

हिउँ पन्छाएर खुल्यो सडक

राजबहादुर शाही

मुगु — कर्णाली राजमार्गअन्तर्गत गमगढी–नाग्मा सडक सुचारु भएको छ । पुस तेस्रो सातादेखि भारी हिमपातका कारण सडक अवरुद्ध बनेको थियो । सडक डिभिजन, स्थानीय प्रशासन, नगरपालिका, उद्योग वाणिज्य संघ लगायतको सक्रियतामा डोजरमार्फत हिउँ पन्छाएपछि शनिबारदेखि सडक सुचारु भएको हो । 

घुच्चीलेकदेखि झारनाउनासम्म जमेको बाक्लो हिउँ पटकपटक डोजर लगाएर पन्छाएको स्थानीय प्रशासनले जनाएको छ । सडक खुलेपछि बीच बाटोमा थन्किएका सवारी साधनहरू गन्तव्यमा पुगेका छन् । सडक अवरुद्ध हुँदा एक दर्जन जिप र ट्याक्टर ठाउँठाउँमा रोकिएका थिए । सबैको पहलमा हिउँ पन्छाएर सडक खुलाइएको उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढाले बताए ।


सडक खुलेपछि दैनिक उपभोग्य वस्तुलगायत अन्य सामग्री ढुवानी सहज बनेको उनको भनाइ छ । ‘सडक सुचारु भएपछि गमगढीमा ताजा तरकारी, फलफूल, खाद्यान्न, निर्माण सामग्रीलगायतको सहज आपूर्ति हुन थालेको छ,’ उनले भने, ‘यात्रुले पनि घण्टौं पैदलयात्रा गर्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् ।’


सडक खुलेपछि बजारमा दैनिक उपभोग्य सामग्रीको अभाव हटेको कामना स्टोरकी प्रोपराइटर बाँचुकला रावतले बताइन् । उनका अनुसार सडक खुलेसँगै गमगढी बजारमा किनमेल गर्नेहरूको चहलपहल बढेको छ । उनले गाउँबाट सदरमुकाममा विभिन्न दैनिक उपभोग्य सामग्री किनमेल गर्न आउनेको भीड बढ्दै गएको बताइन् ।


सडक खुलेपछि रारा भ्रमणमा आउने पर्यटकको यात्रा सहज बनेको छायाँनाथ–रारा नगरपालिका प्रमुख हरिजंग शाहीले बताए । उनका अनुसार घुच्चीलेक र सातमोडमा जमेको करिब सात फिट हिउँ डोजरको सहायताले पन्छाइएको हो । ‘सडक अवरुद्ध हुँदा स्थानीयलाई दुई महिनादेखि नेपालगन्ज, सुर्खेतलगायत क्षेत्रमा जान सास्ती भएको थियो,’ उनले भने, ‘पटकपटक हिउँ थपिएकाले हटाउन समस्या भएको थियो । सबैको सहयोगमा हिउँ पन्छाइएपछि आवागमन सहज बनेको छ ।’ सडक बन्द हुँदा दुई महिनासम्म यात्रुहरू ६ हजार रुपैयाँ हवाई भाडा तिरेर नेपालगन्ज र सुर्खेत जान बाध्य भएको उनको भनाइ छ ।


सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार ढकालले सडकमा जमेको हिउँ हटाए पनि सातमोड क्षेत्रको सडक हिलाम्मे बनेकाले ठूला मालबाहक गाडी सञ्चालनमा समस्या भएको बताए । उनका अनुसार यात्रुबाहक गाडी भने शनिबारदेखि सुचारु गरिएको छ ।


‘सडक खुलिसकेकाले रारा आउने पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको छ,’ उनले भने, ‘यात्रुबाहक यातायातका साधन नियमित सञ्चालन हुन थालेका छन् ।’ उनले सडक खुलेको लामो समयसम्म पनि कालोपत्रे नहुँदा बर्सेनि हिमपात र वर्षाका कारण पटकपटक यातायात सेवा अवरुद्ध हुने गरेको जनाए ।

प्रकाशित : चैत्र ४, २०७५ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?