कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

नुन ढुवानीमा अनुदान माग

भीमबहादुर सिंह

जाजरकोट — बारेकोटका बासिन्दाले प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतसँग आयोडिनयुक्त नुन ढुवानीमा अनुदान माग गरेका छन् । स्थानीयले साल्ट ट्रेडिङ कर्पोरेसनले वितरण गर्दै आएको नुन ढुवानी अनुदानमा माग गरेका हुन् । 

नुन ढुवानीमा अनुदान माग

सुशासन प्रवर्द्धन तथा सरकारी कार्यालयबाट प्रवाह हुने वस्तु तथा सेवाका बारेमा नागरिकलाई जानकारी गराउन शनिबार दुर्गम बारेकोटको लिम्सामा पुगेका प्रजिअ बस्नेतसँग नुन मागेका हुन् । स्थानीयले जिल्ला सदरमुकाम खलंगा, नलगाड नगरपालिकाको दल्ली र छेडागाड नगरपालिकाको थलहबाट मात्र वितरण हुने आयोडिन नुन बारेकोटबाटै पाउनुपर्ने व्यवस्था मिलाउन माग गरे ।


प्रायः खाद्यान्न अभाव भइरहने बारेकोटमा आयोडिनयुक्त नुनको पनि अभाव भएको स्थानीय मानबहादुर सिंहले बताए । आयोडिनयुक्त नुन प्रतिकिलो ४० देखि ५० रुपैयाँमा खरिद गर्नुपरेको उनको गुनासो छ । ‘महँगोमा पनि आयोडिनयुक्त नुन नपाउँदा ढिके नुनको भरमा गुजारा चलाउने गरेका छौं,’ उनले भने, ‘दुई दिन लगाएर आयो नुन ल्याउनुपर्ने बाध्यता छ ।’


ढुवानी अनुदान नहुँदा व्यापारीले पसलमा राखेको नुन महँगोमा खरिद गर्नुपरेको उनले जनाए । स्थानीयले बारेकोटको प्रशासनिक केन्द्र लिम्सास्थित कृषि विकास बैंक असुरक्षित रहेको भन्दै सुरक्षा व्यवस्थाका लागि प्रहरी चौकीको मागसमेत गरेका छन् । त्यस्तै स्थानीयले प्रशासनलाई टेलिफोन सेवा सुचारु, बहुमूल्य जडिबुटीको चोरी निकासी, दुर्लभ वन्यजन्तुको चोरी सिकारीलगायत नियन्त्रणमा जोड दिन अनुरोध गरेका छन् । भूगोल र अवस्था बारेमा जानकारी राखेर मात्र विकास निर्माणका योजना बनाउनुपर्ने स्थानीयको भनाइ छ ।


प्रजिअ बस्नेतले बारेकोटबासीलाई आयोडिनयुक्त नुन सहज रुपमा उपलब्ध गराउने व्यवस्थाका लागि पहल गर्ने बताए । जिल्ला प्रशासनले ‘घर आँगनमा सेवा, सुशासनलाई टेवा’ कार्यक्रमअन्तर्गत बारेकोटमा घुम्ती शिविर, सार्वजनिक सुनुवाइ, उपझोक्ता सचेतना, अनुगमन तथा निरीक्षणलगायत त्रियाकलाप सञ्चालन गरेको छ ।


उपभाेक्ता सचेतना सार्वजनिक सुनुवाइ कार्यत्रममा दुई सय स्थानीयको सहभागिता रहेको जिल्ला प्रशासनले जनाएको छ । बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाह, प्रमुख जिल्ला अधिकारी बस्नेत, राष्ट्रिय अनुसान्धानका अनुसन्धान अधिकृत सञ्जीव शाह, प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्री, डिभिजन वन प्रमुख मन्जुर अहमदलगायतको सहभागिता थियो ।

प्रकाशित : चैत्र ५, २०७५ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?