१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

उप्कियो कालोपत्रे

सुर्खेत–जुम्ला सडकको स्तरवृद्धिलाई जुम्ला, मुगु र कालीकोटका सबैजसो राजनीतिक दलले चुनावी नारा बनाए पनि अहिले बेवास्ता गरेको स्थानीयको गुनासो
तुलाराम पाण्डे

कालीकोट — कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक कालोपत्रे भएको ६ वर्षमै जीर्ण बनेको छ । हिलाम्मे र धुलाम्मे सडकका कारण यात्रुले लामो समयदेखि सास्ती भोग्दै आइरहेका छन् । संघीय र प्रदेश सरकारको बेवास्ताका कारण सडक बर्सेनि जीर्ण बन्दै गएको हो ।

उप्कियो कालोपत्रे

सडक जीर्ण बनेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको छ । सडकको १ वर्षअघि ट्र्याक खोलिएको थियो । सडकमा दुई चरणमा ओटासिल प्रविधिको कालोपत्रे गरिए पनि अधिकांश उप्किएपछि यात्रा असहज बनेको यात्रुको गुनासो छ । गाडी चालकका अनुसार कतिपय ठाउँमा पाँच मिटर मात्र सडक चौडा हुँदा यातायातका साधन सञ्चालनमा समस्या छ । ‘साँघुरो र अप्ठ्यारो भीर भएको ठाउँमै गाडी पास गर्न कठिनाइ हुन्छ,’ चालक मिलन क्षेत्रीले भने, ‘गाडी पास हुन समस्या हुँदा घन्टौं जाममा बस्नुपर्ने समस्या छ ।’


सुर्खेत–जुम्ला सडकको स्तरवृद्धिलाई जुम्ला, मुगु र कालीकोटका सबैजसो राजनीतिक दलले चुनावी नारा बनाए पनि अहिले बेवास्ता गरेको स्थानीयको गुनासो छ । खाडाचक्र–८, का लालबहादुर मल्लले सडकलाई दुई लेनको बनाउन सबै उम्मेदवारले प्रतिबद्धता जनाएको बताए । ‘चुनाव सकिएपछि कसैले वास्ता गरेनन्,’ उनले भने,‘ सडकको विकास भाषण र नारामा मात्र सीमित भयो ।’ उनले कर्णाली राजमार्ग गतिलो भएमात्र स्थानीय सडक गाउँगाउँमा जोडिने दाबी गरे ।


०६३ चैतमा ट्र्याक खुलेको सडक पहिलो चरणमा सुर्खेतबाट खिडीज्यूलासम्म एक सय २६ किमि र दोस्रो चरणमा खिडीज्यूलादेखि जुम्लासम्म एक सय सात किमि कालोपत्रे गरिएको थियो । सडक सिंगल लेनको मात्र छ । पिच गरिएको ९० प्रतिशत सडकको कालोपत्रे उप्किएको छ ।


सडक पुग्दा खुसी भएका स्थानीयबासी संघीय र प्रदेश सरकारले स्तरवृद्धिमा ध्यान नदिएको गुनासो गर्छन् । ‘सडकले सुविधा त धेरै भयो,’ जुम्लाका मदन आचार्यले भने, ‘तर कालोपत्रे उप्किएपछि अहिले सडकको हालत भर्खर ट्र्याक खोलेको जस्तो छ ।’ उनले जीर्ण र साँघुरो सडक हुँदा सुर्खेतबाट जुम्ला पुग्न दुई दिन लाग्ने जनाए । साँघुरो सडकमा एउटा गाडी बिग्रिएपछि पूरै सडक ठप्प हुने अवस्था रहेको उनको भनाइ छ ।


कर्णाली राजमार्गको स्तरवृद्धि नहुँदा बेला बेलामा ठूला दुर्घटना पनि हुने गरेका छन् । ‘सडक राम्रो भएको भए आधा दिनमै सुर्खेत पुगिन्थ्यो,’ तिलागुफा नगरपालिका–१ नाग्मका व्यवसायी मायालाल महताराले भने, ‘जीर्ण र धुलाम्मे सडकले सास्ती छ ।’ उनले कर्णाली राजमार्ग निर्माणपछि दैनिक उपभोग्य वस्तुको आपूर्तिमा सहजता आएको, बजार तथा गाउँगाउँमा आधुनिक भवन निर्माण भएको, स्थानीय उत्पादन बजार पुर्‍याउन सहज भएपछि व्यावसायिक खेतीमा कृषक अग्रसर भएको जानकारी दिए ।


सुर्खेतको बोगेसिमलबाट सुरु भएर जुम्ला सदरमुकाम खलंगा बजारसम्मको दुई सय ३३ किमि लामो कर्णाली राजमार्गको विभिन्न ९ नदी तथा खोलामा पुल निर्माण हुन सकेका छैनन् । अधिकांश ठाउँमा पुल निर्माण सुरु भए पनि निर्माणमा ढिलासुस्ती छ । पुल निर्माणको ठेक्का भएको वर्षौ बिते पनि ठेकेदारको ढिलासुस्तीले राजमार्ग थप असुरक्षित बनेको छ । राजमार्गको दैलेख खण्डमा पाँच र कालीकोट खण्डका चार पुल निर्माणको काम पाँच वर्षदेखि अलपत्र छ ।


‘दैलेख र कालीकोटका विभिन्न खोलामा पुल बन्न थालेको वर्षौ भयो,’ नागरिक समाज कालीकोटका अगुवा कालीवहादुर मल्लले भने, ‘पुल बन्ने छाटकाट छैन ।’ उनका अनुसार कालीकोटको सेरिघाटस्थित तिला नदी र जुम्लाको सिमानामा पर्ने नाग्मस्थित हिमा नदीमा १२ वर्षअघि नेपाली सेनाले जडान गरेको फलामे बेलिब्रिज खिया लागेर भाँचिने अवस्थामा पुगेका छन् । फलामे बेलिब्रिजको अवधि सामान्यतयाः पाँच वर्षको हुने प्राविधिकको भनाइ छ ।


कर्णाली राजमार्ग निर्माणमा संलग्न एक सैनिक प्राविधिकले १२ वर्षअघि सडकको ट्रयाक खुले पनि पुल नबन्दा र सडक स्तरोन्नति नहुँदा यात्रा जोखिमपूर्ण बनेको बताए । ‘अझै पक्की पुल बन्न सकेका छैनन्,’ उनले भने, ‘फलामे बेलिब्रिज खिया लागेर जतिबेला पनि भाँचिन सक्ने अवस्थामा पुगेका छन् ।’ सेरिघाटको पक्की पुलका लागि चार करोड ५० लाख रुपैयाँ विनियोजन भए पनि पुल बन्न कति वर्ष लाग्ने हो नभएको उनी बताउँछन् । ठेकेदारको लापरबाहीका कारण अहिले पुल निर्माणको काम बन्द छ ।


प्रतिनिधिसभा सदस्य दुर्गाबहादुर रावतले छिटो पुल बनाउन ठेकेदारलाई पटकपटक ताकेता गरे पनि बेवास्ता भइरहेको बताए । उनले कर्णाली राजमार्गको स्तरवृद्धिका लागि आफूले पहल गरेको दाबी गरे । दैलेख राकमभन्दा तल २ खण्ड र राकममाथि कालीकोट हुँदै जुम्लासम्म एक खण्डमा स्तरोन्नतिको काम गर्न सरकारले बजेट विनियोजन गरेको उनको भनाइ छ ।


कर्णाली राजमार्ग जीर्ण हुँदा रारा घुम्न आउने आन्तरिक पर्यटकलाई पनि सास्ती छ । ‘सडकको अवस्थाका कारण एक पटक

रारा घुम्न आएका पर्यटक अर्कोपटक फेरि गाडीमा आउन मान्दैनन्,’ रारा कर्णाली यातायात व्यवसायी संघका अध्यक्ष हस्त बमले भने, ‘कतिपय ठाउँमा राजमार्ग भन्नै नसुहाउने सडक छन्, थोरै तलमाथि भए दुर्घटना भइहाल्छ ।’ उनले दुघर्टनामा चालकको लापरबाही, बढी लोडलगायत कारण दुर्घटना बढेको जनाए । उनका अनुसार सडक दुर्घटनाको मुख्य कारण साघुँरो र अप्ठ्यारो बाटो हो । उनले साघुँरो र जीर्ण सडकले गाडी पनि छिट्टै थोत्रा हुने भएकाले व्यवासायी पनि मर्कामा गुनासो गरे ।


कर्णाली राजमार्गको अधिकांश पिच उप्किएर जीर्ण बनेको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए । उनले वर्षामा पहिरोले भत्किएको सडकमा पर्खाल नलगाइँदा थप जोखिमपूर्ण बनेको जनाए । ‘रारा आउने पर्यटकसमेत सडकको दुरावस्थाका कारण समस्यामा पर्ने गरेका छन्, स्थानीयबासीको यात्रा सधैं असहज हुने गरेको छ,’ उनले भने, ‘राराको सिजन सुरु हुने बेला भए पनि सडक हिलाम्मे र धुलाम्मे हुँदा समस्या भएको छ ।’ चालकको लापरबाही, व्यवसायीको मनपरी, कानुन कार्यान्वयन फितला र प्रहरी उदासीनताले सडकमा दुर्घटना बढिरहेको ट्राफिक प्रहरीले जनाएको छ  ।

प्रकाशित : चैत्र ५, २०७५ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?