१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

शारदामा बन्यो पुल

बिप्लब महर्जन

सल्यान — शारदा नगरपालिका १३, फल्लेज्युलास्थित शारदा नदीमा फलामे रेलिङ पुल निर्माण भएपछि जोखिम मोलेर नदी वारवार गर्नुपर्ने बाध्यता टरेको छ  । पुल नहुँदा स्थानीयलाई वर्षातको ६ महिना जोखिम मोलेर नदी वारपार गर्नुपर्ने बाध्यता थियो  ।

शारदामा बन्यो पुल

शारदा नगरपालिकाको चार लाख लगानीमा तीनवटा पिलरसहितको २० मिटर लम्बाइको फलामे पुल निर्माण गरिएको हो । नगरपालिकाले पुल निर्माण गरेपछि फल्लेज्युलासहित आसपासका झन्डै सय घर परिवार लाभान्वित भएका छन् । खलंगा आउँदा जोखिम उठाइ नदी तर्न नसके एक घण्टा हिंडेर श्रीनगर नजिकैको झोलुंगेपुलबाट वारपार गर्नुपर्ने बाध्यता हटेको छ । पुलबाट वारपार गर्न पाएका स्थानीयवासी अहिले नजिकैको राप्ती लोकमार्गमा आई गाडी चढ्न थालेका छन् ।


पुल बनेपछि धेरै कामकाज सहज बनेको स्थानीय दलबहादुर खड्काले बताए । उनका अनुसार वर्षातको समयमा स्कुले बालबालिकालाई नदी वारपार गर्न बढी समस्या थियो । ‘वर्षायामका दुई महिना बालबालिका विद्यालय जानबाट वञ्चित हुने गरेका थिए,’ उनले भने, ‘अब बाह्रै महिना बालबालिका विद्यालय जान सक्ने भएका छन् ।’स्थानीय रामबहादुर थापाका अनुसार पुल नहुँदासम्म बिरामीलाई अस्पताल पुर्‍याउन समस्या हुने गरेको थियो ।

‘गाउँमा कोही बिरामी भए एक घण्टा बढी हिंडेर श्रीनगरको झोलुंगेपुल मार्फत अस्पताल लैजानुपर्ने बाध्यता थियो,’ उनले भने, ‘अहिले पुल तर्नेबित्तिकै राप्ती लोकमार्ग आउँछ । बिरामीलाई गाडीमै अस्पताल पुर्‍याउन सहज भएको छ ।’ उनका अनुसार गाउँमा उत्पादित विभिन्न कृषिजन्य सामग्री बजार पुर्‍याउन पुलले सहज बनाएको छ । विभिन्न उपभोग्य सामग्री ढुवानीसमेत सहज बनेको उनी बताउँछन् ।


लामो र ठूलो पुल बनाउन बजेट अभाव भएपछि स्थानीयलाई आउजाउमा सहयोग पुर्‍याउन फलामे रेलिङ पुल निर्माण गरिएको शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले बताए । ‘पुल निर्माण भएपछि स्थानीयलाई राप्ती लोकमार्ग र सदरमुकाम आउजाउ सहज बनेको छ,स्थानीय कृषि उत्पादनले बजार पाउन थालेको छ,’ उनले भने,‘अब विद्यार्थीले नदी तर्न नसक्दा पठनपाठनबाट बञ्चित हुनुपर्ने छैन, निर्माण सामग्री र दैनिक उपभोग्य सामग्री सजिलै गाउँमा पुग्नेछन् ।’

उनका अनुसार मोटरसाइकल वारपार हुनेगरी पुल निर्माण गरिएको हो । शारदा नदीमा दुई ठूला पुल बनाउन संघीय सरकारले यो वर्ष बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

प्रकाशित : चैत्र ६, २०७५ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?