१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पुस्तकालय संचालनले विद्यार्थी बढे

बिप्लब महर्जन

सल्यान — ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना भएपछि विद्यार्थीको पठनपाठन सहज बनेको छ । पुस्तकालय स्थापनापछि विद्यार्थीमा पठन सीपको विकास हुँदै गएको छ । उनीहरू नियमित विद्यालय उपस्थित हुन थालेका छन् । 

पढाइ सीपअर्न्तगत बालबालिकामा ध्वनी सचेतना, अक्षर पहिचान, शब्दको भण्डार, पठनको गति, पठनबोध र लेखन शैलीको विकास गराउन सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको हो ।


छत्रेश्वरी गाउँपालिकाको भोटेचौरस्थित त्रिभुवन जनता माविमा कक्षा ३ मा अध्ययनरत सुनीता ओली र उनका साथीहरू दैनिकजसो खाजा समयमा पुस्तकालयमै भेटिन्छन् । ‘आफूलाई मन परेका पुस्तक सजिलै पढ्न पाइने भएकाले खाजा समय पुस्तकालयमै बिताउने गरेका छौं,’ उनले भनिन्, ‘चित्रकथासहितका पुस्तक पढ्न मन पराउँछु, पुस्तक पढै विभिन्न चित्रसमेत पुस्तकालयमै बनाउने गरेकी छु ।’


पुस्तकालय सञ्चालन गरेपछि कक्षा १ का विद्यार्थीसमेत विभिन्न पुस्तक अध्ययनमा आकर्षित भएको प्रधानाध्यापक जीतबहादुर भण्डारीले बताए । उनका अनुसार बालबालिकाकै रुची अनुसारका विभिन्न पुस्तक राखिएकाले विद्यार्थीको आकर्षण बढेको हो ।


‘बालबालिकाले आफ्नो रुचीका विभिन्न पुस्तक विद्यालयमै अध्ययन गर्न थालेपछि शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बन्न थालेका छन्,’ उनले भने, ‘विद्यालयमा बालबालिकाको स्तरीकरण गरिएको छ, त्यही अनुसार बालबालिकाले पुस्तक पढ्ने गरेका छन् ।’


कक्षामा पठनपाठन नभएको बेला कम्तिमा दुई दर्जन बढी बालबालिका पुस्तकालयमै भेटिने गरेको उनले जानकारी दिए । विद्यालयमा अध्ययनरत कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित गरी पुस्तकालय सञ्चालन गरिएको हो । विद्यालयमा चार सय ५१ बालबालिका अध्ययनरत छन् । पुस्तकालयमा करिव चार हजार पुस्तक राखिएको विद्यालयले जनाएको छ ।


पुस्तकालय सञ्चालनपछि बालबालिकामा पढ्ने बानीको विकास भएको विद्यालयले जनाएको छ । विद्यार्थीको उपस्थिति नियमित गराउन पुस्तकालयले सहयोग गरेको शिक्षकहरूको भनाइ छ । शिक्षक चन्द्रबहादुर पुनले साना कक्षाका बालबालिकामा पढाइ सीपको विकास गराउन पुस्तकालय स्थापना गरिएको जनाए ।


‘पुस्तकालय सञ्चालन गरेपछि बालबालिकामा पढ्नुपर्छ भन्ने भावनाको विकास भएको छ, पाठ्यक्रम बाहेकका पुस्तक पढ्न रुची बढेको छ,’ उनले भने, ‘केही समय पुस्तकालयका किताव पढ्न प्रेरणा दियौं, अहिले विद्यार्थी आफै पुस्तकालय जाने गरेका छन् ।’


विद्यार्थीमा पठन सीपको विकास गराइ शैक्षिक गुणस्तर बढाउन पुस्तकालय स्थापनामा सहयोग गरिएको रुम टु रिडका संयोजक टेकराज शाहीले बताए । उनका अनुसार रुम टु रिडले जिल्लाका ३० सामुदायिक विद्यालयमा पुस्तकालय स्थापनामा सहयोग गरेको छ ।

प्रकाशित : चैत्र ७, २०७५ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?